close

एलजीले बनायो तन्काउन र बेर्न मिल्ने डिस्प्ले, कहाँकहाँ हुन सक्ला यसको प्रयोग ?

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ ८:४२

एलजीले बनायो तन्काउन र बेर्न मिल्ने डिस्प्ले, कहाँकहाँ हुन सक्ला यसको प्रयोग ?

काठमाडौं । एलजीले १२ इन्चको तन्काउन मिल्ने डिस्प्ले विकास गरेको छ, जसलाई १४ इन्चसम्म विस्तार गर्न सकिने कम्पनीले बताएको छ । उदाहरणको रूपमा यो डिस्प्ले भविष्यमा उत्तरदाताको कपडा वा पहिरन जस्ता सतहमा मेसेज देखाउने कार्यका लागि प्रयोगमा आउन सक्छ ।

तन्काउन मिल्ने अथवा एलजीले 'फ्रि-फर्म' नाम दिएको यो डिस्प्ले तान्न, झुकाउन र मोड्न सकिन्छ । सामसङ ग्यालेक्सी फोल्ड र अन्य स्मार्टफोनहरूमा प्रयोग गरिएका लचिला डिस्प्लेभन्दा एलजीको यो डिस्प्ले एक कदम अगाडि छ ।

किन भने यसअघि प्रचलनमा आएका ती डिस्प्ले फोल्ड गर्न मिल्ने भए पनि तन्काउन भने मिल्दैन । तान्न मिल्ने डिस्प्ले बनाउनका लागि एलजीले कन्ट्याक्ट लेन्समा प्रयोग हुने सिलिकन जस्तै सामग्री प्रयोग गरेको छ ।

यसमा 'लाइट सोर्स' अर्थात प्रकाशको स्रोतका लागि ४० माइक्रोमिटरभन्दा सानो माइक्रो-एलईडी छ । जसले हाई  रिजोलुसन र टिकाउपन कायम गर्छ । यसैगरी घुमाउन र फोल्ड गर्ने कार्यका लागि कम्पनीले स्प्रिङ जस्तै आकारका सर्किटहरू प्रयोग गरेको छ ।

"यो तन्काउन मिल्ने डिस्प्लेको क्रान्तिकारी प्रविधिले विविध किसिमका दैनिक परिदृश्यका लागि अर्को तहको सुविधा उपलब्ध गराउँछ," एलजीले लेखेको छ ।

"छाला, कपडा, फर्निचर, अटोमोबाइल र हवाई जहाज जस्ता घुमाउरो सतहमा यसलाई सहजै जडान गर्न सकिन्छ । यो मौलिक किसिमको इनोभेसनले (नवप्रवर्तन)ले फेसन, वेयरेबल (पहिरन), मोबिलिटी (आवतजावत) लगायतका उद्योगमा डिस्प्लेको सम्भावनालाई विस्तार गर्नेछ ।"

त्यसो त हामीले सामसङ लगायतका कम्पनीहरूले तयार पारेका तन्काउन मिल्ने डिस्प्ले देखिसकेका छौँ ।  त्यसको उपयोगिता ठूलो डिस्प्लेलाई सानो आकारमा सीमित गर्न सकिने किसिमको छ । तर एलजीको यो नयाँ प्रविधि अझै अगाडि जानेछ ।

खासगरी वेयरेबलको सम्भावनालाई यसले विस्तार गर्नेछ । एलजी डिस्प्लेले यो प्रविधिमा सन् २०२० देखि काम गर्दै आइरहेको छ । यो अनुसन्धान सन् २०२४ मा सम्पन्न हुने अपेक्षा गरिएको छ ।  

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ ८:४२