close

इलेक्ट्रिक स्कुटर किन्ने सोचमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी १० कुरा

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ १३:३१

इलेक्ट्रिक स्कुटर किन्ने सोचमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी १० कुरा

काठमाडौं । विद्युतीय स्कुटर यात्राका लागि एउटा महत्वपूर्ण साधनको रुपमा विकास हुँदै आएको छ । अझ पछिल्लो समय यसको उपयोग उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाली बजारमा समेत पछिल्ला केही वर्षमा विद्युतीय स्कुटरको व्यापार उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

सोही अनुरूप बजारमा विद्युतीय स्कुटर भित्रिने क्रम पनि बढ्दै गएको छ । यस्तोमा बजारमा उपलब्ध कुन स्कुटर खरिद गर्ने भन्नेमा निर्णय गर्नु एउटा चुनौतीपूर्ण काम हो ।

अझ सबैभन्दा महत्वपूर्ण कुरा त तपाईंको परिस्थिति हो । किनभने बजारमा विभिन्न रेन्ज, साइज र मूल्यमा विद्युतीय स्कुटर उपलब्ध छन् । तपाईं स्कुटर के प्रयोजनका लागि खरिद गर्दै हुनुहुन्छ भन्ने कुराले कस्तो र कुन लिने भन्ने कुरा निर्धारण हुनेछ ।

त्यसैका आधारमा यहाँ हामी तपाईंलाई विद्युतीय स्कुटर खरिद गर्दा ध्यान दिनुपर्ने केही पक्षका बारेमा जानकारी दिँदैछौँ ।

१. मोटर साइज

विद्युतीय स्कुटरको मोटर वाटमा मापन हुन्छ । बजारमा २००० वाटदेखी ६००० हजार वाटसम्मका विद्युतीय स्कुटर उपलब्ध छ । मोटरको साइजले नै स्कुटरको पावर कति छ भन्ने कुराको निर्धारण हुन्छ ।

यसले खरिद गर्ने स्कुटर उकालोमा तान्न सक्छ/सक्दैन भन्ने कुरा समेत निर्धारण गर्छ । उदाहरणका लागि समतल क्षेत्रमा २५० वाटको स्कुटर नै काफी हुन्छ । तर, तपाईं दैनिक रुपमा उकालो बाटो यात्रा गर्नुहुन्छ भने तपाईंलाई धेरै वाट क्षमताको स्कुटर आवश्यक पर्छ ।

२. रेन्ज

रेन्ज अर्को महत्वपूर्ण पक्ष हो । यसको अर्थ स्कुटरले फुल चार्जमा कति किलोमिटर यात्रा तय गर्छ भन्ने हो । यस्तोमा तपाईं कहाँसम्म र कति लामो यात्रा गर्नुहुन्छ भन्ने कुराले कति रेन्जको विद्युतीय स्कुटर खरिद गर्ने भन्ने अर्थ राख्छ । हुन त कम्पनीहरुले रेन्जलाई नै फोकस गरेर विज्ञापन गरिरहेका हुन्छन् । तर, विज्ञापन गरेजस्तै सबै स्कुटरले तोकिए अनुसारको रेन्ज प्रदान गर्छ भन्ने हुँदैन् । त्यो हुँदा विद्युतीय स्कुटर खरिद गर्दा यो विषयलाई ध्यानमा राख्न आवश्यक हुन्छ ।

३. उच्च गति

स्कुटरले सबैभन्दा बढी कतिसम्म गति प्रदान गर्छ भन्ने कुरा पनि अर्को महत्वपूर्ण पाटो हो । यदि सहरमा यात्रा गर्ने हो भने सामान्यतः प्रति घण्टा १५ माइलसम्म कुद्ने स्कुटर ठीक हुन्छ । तर, तपाईं बाहिर र लामो यात्रा गर्नुहुन्छ भने प्रति घण्टा ४० माइल पार गर्नसक्ने स्कुटर खरिद गर्न उपयुक्त हुनसक्छ ।

४. वाटरप्रुफिङ

तपाईं कतिपय स्कुटर वाटरप्रुफ हुँदैनन् भन्दा अच्चम्ममा पर्न सक्नुहुन्छ । तर, यथार्थमा त्यस्ता स्कुटरसमेत बजारमा उपलब्ध हुन्छन् । यदि तपाईं पानी परेको समयमा पनि स्कुटर चलाउनु हुन्छ भने स्कुटर वाटरप्रुफ छ वा छैन भनेर बुझ्न आवश्यक छ ।

५. चालकको तौल

अर्को महत्वपूर्ण पक्ष भनेको आफ्नो तौल पनि हो । किनभने विद्युतीय स्कुटरले सीमित तौल मात्रै तान्ने क्षमता राख्छ । त्यो भनेको १०० देखी १२० केजीसम्मको तौल मात्रै हो । यदि तपाईंको तौल योभन्दा बढी छ भने स्कुटरको भारवान क्षमता बुझ्न आवश्यक हुन्छ । यदि त्यसो नभएको खण्डमा स्कुटरले नतान्ने लगायतका समस्या हुनसक्छ ।

६. टायर

स्कुटरमा सोलिड अथवा न्युम्याटिक टायर प्रयोग भएको हुन्छ । यस्तोमा न्युम्याटिक अर्थात् हावा भर्न मिल्ने टायर सबैभन्दा उपयुक्त हो । किनभने यसले राम्रो शक प्रदान गर्छ । जसले गर्दा स्कुटरको यात्रा र नियन्त्रणमा सहज हुनेछ ।

तर, न्युम्याटिक्स टायरलाई नियमित रुपमा मर्मत गर्न आवश्यक हुन्छ । सोलिड टायरमा हावा नहुने हुँदा यसलाई मर्मत गरिराख्नु पर्ने झन्झट भने हुँदैन् । तर, यसमा शक एब्जर्बशन भने हुँदैन । त्यो हुँदा कच्ची बाटोमा यात्रा गर्दा भने कठिन हुन सक्छ ।

७. सस्पेन्सन

धरैजसो स्कुटरमा अगाडि अथवा पछाडि अथवा अगाडि–पछाडि दुवै पाङ्ग्रामा सस्पेन्सन हुन्छ । यदि तपाईं कच्ची बाटोमा यात्रा गर्नुहुन्छ भने सस्पेन्सन सबैभन्दा महत्वपूर्ण पक्ष हो । जसले आरामदायी यात्रा तय गर्न मद्दत गर्छ ।

८. ब्रेक

ब्रेक सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण पक्ष हो । ब्रेकका धेरै प्रकार छन् । तर, डिक्स ब्रेक सबैभन्दा उपयुक्त हुन्छ । टायरमा मेटल डिक्स जोडिने हुँदा यसलाई डिक्स ब्रेक भनिएको हो । यो हुँदा छिटो र छरितो रुपमा स्कुटरलाई रोक्न सकिन्छ ।

९. स्कुटरको तौल

कतिपय स्कुटर सामान्य स्कुटरको तुलनमा धेरै तौलका हुन्छन् । धेरै तौल भएको स्कुटर कतिपय प्रयोजनका लागि उपयुक्त नहुन सक्छ । यदि तपाईं आफ्नो यात्राका लागि स्कुटर खरिद गर्दै हुनुहुन्छ भने हलुका स्कुटर खरिद गर्दा उपयुक्त हुन्छ ।

१०. वारेन्टी

विद्युतीय स्कुटर सँधै भरपर्दो हुँदैन । अझ विद्युतीय स्कुटरको बजार नै नयाँ भएकाले यसको हालसम्म पूर्ण परीक्षण हुन सकेको छैन । त्यसैले स्कुटर खरिद गर्दा त्यसमा उपलब्ध हुने वारेन्टीलाई पनि ख्याल राख्न आवश्यक छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ १४:४७