close

सामाजिक सञ्जालमा अपरिचित नाम वा नम्बरबाट आएका कल नउठाउनू- साइबर ब्यूरो

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ २०:२

सामाजिक सञ्जालमा अपरिचित नाम वा नम्बरबाट आएका कल नउठाउनू- साइबर ब्यूरो

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत हैरानी र ठगीका घटना हुन थालेपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ । ब्यूरोले सामाजिक सञ्जालका माध्यमबाट अपरिचित व्यक्तिहरूसँग नजोडिन सचेत गराएको हो ।

टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका उपनिर्देशक तथा प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले भने, "सामाजिक सञ्जालका विभिन्न माध्यममा जोडिएर भिडिओ कलमा अश्लील गतिविधि गरी लाखौँ रूपैयाँ माग हुने गरेका घटना बढेका छन् । दिनानुदिन मानिसहरू ठगिन थालेपछि सचेत रहन अनुरोध गरेका छौँ ।"

सामाजिक सञ्जालमा पनि विशेषगरी मेसेन्जर, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप तथा ईमोमा अपरिचित कल बढी आउने गरेको ढकालले जानकारी दिए ।

"ह्वाट्सएप तथा ईमोमा अपरिचित व्यक्तिले कल गरी अश्लीलता प्रदर्शन गर्ने गर्छन्," उनी भन्छन्, "यसरी विभिन्न प्रलोभनमा परेर कल गर्दा अर्को व्यक्ति पनि उनीहरूको भनाइमा लागेर अङ्ग प्रदर्शन गर्न थाल्छ । त्यही मौका छोपी आपराधिक मनस्थिति भएको व्यक्तिले कल रेकर्ड गर्छ । र, ब्ल्याकमेल सुरु गर्छ ।"

यसरी ब्ल्याकमेलमा पर्नेहरूमा पढेलेखेका डाक्टर, इन्जिनियर, वकिलजस्ता व्यक्ति पनि रहेकाे उनी बताउँछन् ।

''लाखौँको रकम माग गरेपछि उनीहरू बाध्य भएर प्रहरीकहाँ आउने गरेका छन् । साइबर अपराधको मुद्दा लगाइदिने, सामाजिक तथा पारिवारिक सम्बन्ध बिगारिदिने, भिडिओ भाइरल गरिदिने जस्ता धम्की दिँदै ब्ल्याकमेल गर्ने गरेको ब्यूरोमा आउने उजुरीले देखाएको छ,'' उनले भने ।

त्यस्तै सामाजिक सञ्जालमा आत्मीयताको नाममा ठगी गर्नेहरू बढेको पनि उनले उल्लेख गरे । उनका अनुसार त्यस्ता कतिपय व्यक्तिहरू फेसबुकमा साथी बनाई नजिक बन्न खोज्छन् । त्यसपछि उनीहरूको बैंक अकाउन्टमा पहुँच पाउन ओटीपी (वन टाइम पासवर्ड) माग्छन् । र, ओटीपी कोड पाइसकेपछि बैंक खातामा आफ्नो पहुँच बनाउँछन् । त्यही बैंक खाता अन्य विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुनसक्छ ।

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिका रिक्वेस्ट एक्सेप्ट नगर्न वा नपठाउन अनुरोध गर्दै उनी भन्छन्, "सबैभन्दा पहिले त आफैं सचेत हुनुपर्छ । यदि केही गरी ब्ल्याकमेल गरेको छ भने नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा निवेदन दिनुपर्छ । हामी अनुसन्धान गरी उहाँहरूलाई सहजीकरण गर्छौँ ।"

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ ७:५६