close

साइबर सुरक्षा पेनिट्रेसन टेस्टिङ गर्ने विश्वका प्रमुख कम्पनीको सूचीमा नेपालको भैरव टेक्नोलोजी

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १३:४४

साइबर सुरक्षा पेनिट्रेसन टेस्टिङ गर्ने विश्वका प्रमुख कम्पनीको सूचीमा नेपालको भैरव टेक्नोलोजी

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजी पेनिट्रेसन टेस्टिङमा विश्वका महत्त्वपूर्ण कम्पनीहरूको सूचीमा देखिएको छ । ‘अलाइड मार्केट रिसर्च’ले गरेको एक अनुसन्धानमा नेपाली कम्पनी समेत समेटिएको हो । 

भैरव टेक्नोलोजीले नेपालसहित जापान, बङ्ग्लादेश, सिंगापुर, अस्ट्रेलिया, यूएई, फ्रान्स, स्विजरल्यान्ड र अमेरिकामा रहेका विभिन्न कम्पनी तथा सङ्घ संस्थालाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लिम्बुले विश्वभर आफ्ना २०० भन्दा बढी ‘क्लाइन्ट’ (ग्राहक कम्पनी) रहेको बताए ।

“अमेरिकामा मात्रै हाम्रा १०० भन्दा बढी क्लाइन्ट छन्, जसमध्ये अधिकांश अर्ब डलरभन्दा माथिका छन्,” उनले भने ।

तीन वर्षअघि स्थापना भएको भैरव टेक्नोलोजीले पेनिट्रेसन टेस्टिङमात्र नभएर साइबर सेक्युरिटी अपरेसन सेन्टर र साइबर सेक्युरिटी गभर्नेन्स रिस्क एन्ड कम्लायन्सेसको सेवा समेत दिँदै आएको छ । साइबर सुरक्षामा प्रतिरक्षाको अभ्यासलाई नै पेनिट्रेसन टेस्टिङ भन्ने गरिन्छ ।

सिस्टममा रहेको साइबर सुरक्षा कमजोरी पहिचान गरी सम्भावित साइबर आक्रमण रोकथाम गर्ने कार्य यसमा हुने गर्दछ । पेनिट्रेसन टेस्टिङमा विश्वका प्रमुख खेलाडीहरूको सूचीमा भैरवसँगै ब्रिचलक इङ्क, बगक्राउड, सिग्निटी टेक्नोलोजी, सिस्को सिस्टम्स, इङ्क, कोभर्टसवार्म, आइसेक्युरन, नेत्रगार्ड, नेटएसपीआई र नाउसेक्योर रहेका छन् ।

त्यस्तै मुख्य कम्पनीहरूको सूचीमा पोर्टस्विगर, र्‍यापिड सेभेन, रिबोट सेक्युरिटी, सेक्युरिटी मेट्रिक्स, ट्रस्टवेभ होल्डिङ, भुमेट्रिक सेक्युरिटी, अस्त्र सेक्युरिटी समेत समावेश छन् ।

सन् २०२१ मा १.६ अर्ब अमेरिकी डलर मूल्याङ्कन गरिएको पेनिट्रेसन टेस्टिङको विश्व बजारसन् २०३१ सम्म ५.३ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । हरेक वर्ष यो क्षेत्रले १३.१ प्रतिशतको बृद्धि हासिल गरिरहेको उल्लेख छ । क्लाउड कम्प्युटिङ सोलुसन्स तथा सेवाको उच्च उपयोग र डेटा सेन्टरको बढ्दो सङ्ख्याका कारण पेनिट्रेसन टेस्टिङको विश्व बजारलाई विस्तार भइरहेको छ ।

यसअन्तर्गत नेटवर्क पेनिट्रेसन टेस्टिङ, एप्लिकेसन पेनिट्रेसन टेस्टिङ, सोसल इन्जिनियरिङ टेस्ट, क्लाउड पेनिट्रेसन टेस्टिङ लगायतका क्षेत्र रहेका छन् । बैंक तथा वित्तीय संस्था, म्यानुफ्याक्चरिङ, स्वास्थ्योपचार, सरकार तथा प्रतिरक्षा, ऊर्जा तथा युटिलिटी, रिटेल तथा ई-कमर्स, आईटी तथा टेलिकम लगायतका उद्योग क्षेत्रमा पेनिट्रेसन टेस्टिङको काम हुने गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १३:४४