close

चीनमा इन्जिनियरिङ अध्ययन गर्न २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिइने, कसरी दिने आवेदन ?

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १५:३८

चीनमा इन्जिनियरिङ अध्ययन गर्न २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिइने, कसरी दिने आवेदन ?

काठमाडौं । चीन सरकारले इन्जिनियरिङ विषयमा स्नातक र स्नातकोत्तर तह अध्ययन गर्न चाहने २४ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा अध्ययन गर्न चाहने विद्यार्थीबाट छात्रवृत्तिका लागि आवेदन खुलाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तहका लागि इन्जिनियरिङ संस्थान पुल्चोक र कृषि विषयका लागि त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले सन् २०२३/२४ का लागि चीन सरकारबाट प्राप्त हुने छात्रवृत्तिका लागि आवेदन दिनसक्ने छन् ।

स्नातक तहका लागि २५ वर्ष र स्नातकोत्तर तहका लागि ३५ वर्ष पूरा नभएको हुनुपर्नेछ । बायो मेडिकल इन्जिनियरिङ, एभिएसन एन्ड एरोनटिकल इन्जिनियरिङ, बायोइन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी, केमिकल इन्जिनियरिङ, माइनिङ, आयल एन्ड ग्यास, पेट्रोलियम इन्जिनियरिङका प्रत्येक विषयमा साधारण र महिलामा एकएक गरी दुई जनाले छात्रवृत्ति पाउने छन् ।

रेल्वे इन्जिनियरिङमा भने साधारण दुई र महिला एक गरी तीन जना छनौटमा पर्ने छन् । त्यस्तै जियोमेट्रिक्स इन्जिनियरिङमा एक जना, एरोस्पेस इन्जिनियरिङमा दुई जना, इलेक्ट्रिकल इन्जिनियरिङमा दुई जना, रक एन्ड टनेल इन्जिनियरिङमा एक जना, कम्प्युटर इन्जिनियरिङमा एक जना र एग्रिकल्चर इन्जिनियरिङमा दुई जनाले छात्रवृत्ति पाउने छन् ।

यसबाहेक एग्रिकल्चर बायो-टेक्नोलोजी, एग्रिकल्चर बायो-केमेस्ट्री, हर्टिकल्चर र एनिमल साइन्सका विषयमा दुई दुई जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिमा चीन अध्ययन गर्न चाहने विद्यार्थीले यही कात्तिक २५ देखि मंसिर १० गतेभित्र मन्त्रालय अन्तर्गतको छात्रवृत्ति शाखा, सानोठिमी भक्तपुरमा दरखास्त दिनुपर्नेछ । यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १५:३८