close

फेसबुकमा कसैलाई फलो गर्दैनन् यी ५ नेपाली नेता

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १०:२५

फेसबुकमा कसैलाई फलो गर्दैनन् यी ५ नेपाली नेता

काठमाडौं । पछिल्लो समयमा राजनीतिक दलका नेताहरू पनि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म सामाजिक सञ्जालका हरेक प्लेटर्फममा आफ्नो उपस्थिति जनाइरहेका छन् । आफ्ना विचारहरू व्यक्त गर्न तथा चुनावी प्रचार प्रसारको लागि उनीहरू सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । 

अझ अन्य प्लेटफर्ममा भन्दा पनि फेसबुकमा सबै नेताहरूलाई भेट्न सकिन्छ । तर प्रमुख राजनीतिक दलका ठूला नेताहरू आफ्नो फेसबुक पेजबाट अरुलाई भने फलो गर्दैनन् । उनीहरूको पेज लाखौँले फलो गरिरहँदा ती नेताहरू अन्य कसैलाई फलो गर्न लायक सम्झिँदैनन् । 

केही सीमित नेताहरू छन्, जसले १०,२० को सङ्ख्यामा अरुलाई फलो गरेका छन् । कुरा सुरु गरौँ प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पेजबाट । उनको फेसबुक पेजमा हाल दुई लाख ४७ हजार फलोअर छन् । तर उनको फलोइङ सूची शून्य छ । यसको अर्थ उनले कसैलाई पनि फलो गरेका छैनन् । फलोअर्सको हिसाबले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीको भन्दा पनि अगाडि छन्  ।

फेसबुकमा प्रचण्डलाई फलो गर्नेको सङ्ख्या चार लाख ८७ हजार रहेको छ । उनले पनि कसैलाई फलो गरेका छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हाल पनि उही छ । उनको फेसबुक पेजमा तीन लाख ७९ हजार फलोअर्स छन् । 

त्यस्तै पत्रकारिताबाट राजनीतिमा होमिएका रबिन्द्र मिश्र समेत सामाजिक सञ्जालमा कसैलाई फलो नगर्ने नेताको सूचीमा पर्छन् । फेसबुकमा आठ लाख ६४ हजार फलोअर्स रहेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले एक जनालाई पनि फलो गरेका छैनन् । यसैगरी नै सञ्चारकर्मबाट राजनीतिमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि कसैलाई फलो गरेका छैनन् । उनको फेसबुक पेजमा फलो गर्नेको सङ्ख्या भने ६ लाख ५८ हजार छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १०:२५