close

नेपाली प्रयोगकर्तालाई मंसिर ४ को चुनाव सम्झाउँदै फेसबुक

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १२:१९

नेपाली प्रयोगकर्तालाई मंसिर ४ को चुनाव सम्झाउँदै फेसबुक

काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको विषयमा फेसबुक आफैंले नेपाली प्रयोगकर्तालाई सम्झाउन सुरु गरेको छ । निर्वाचन आयोगले चुनावकाे समयमा सामाजिक सञ्जालबाट हुने गतिविधि नियमन गर्न विभिन्न कम्पनीहरूसँग सहकार्य गरेर अगाडि बढिरहेको बेला फेसबुकले नेपाली प्रयोगकर्ताको न्युज फिडमा चुनाव हुने दिनको सूचना दिएकाे हाे । 

फेसबुकले पठाएको सूचनामा लेखिएको छ, "२०७९ मंसिर ४ गते हुने नेपालको संसदीय निर्वाचनसम्बन्धी जानकारी निर्वाचन आयोगबाट प्राप्त गर्नुहोस् ।"

त्यसको तल 'चुनावसम्बन्धी जानकारी हेर्नुहोस्' लेखिएको अप्सनमा ट्याप गर्दा निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज खुल्छ । त्यस्तै 'शेयर गर्नुहोस्' अप्सनमा ट्याप गर्नुभयो भने उक्त जानकारी शेयर हुन्छ ।

यसरी प्रयोगकर्तालाई आधिकारिक स्रोतबाट जानकारी उपलब्ध गराउन फेसबुकले नयाँ तरिकाले निर्वाचनको सूचना दिन थालेकाे छ । 

निर्वाचन आयोगले फेसबुकसँग चुनावलाई शान्तिपूर्ण तवरबाट अघि बढाउन सहकार्य गरेकाले उक्त जानकारी देखिएको हुनसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १६:१४