close

खुल्यो फ्युजमसिनको एआई फेलोशिप, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १३:४

खुल्यो फ्युजमसिनको एआई फेलोशिप, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । फ्युजमसिन इन्कले आफ्नो प्रमुख कार्यक्रम 'आर्टिफिसियल इन्टलिजेन्स (एआई) फेलोशिप प्रोग्राम फर द इयर २०२३' को आवेदन खुला गरेको छ । यस कार्यक्रममा सहभागीहरूलाई अमेरिकी विश्वविद्यालयका प्राध्यापक र एआई विज्ञमार्फत प्रशिक्षण प्रदान गरिनेछ ।

मसिन लर्निङ इन्जिनियर, प्रोग्रामिङ, गणित वा कम्प्युटर विज्ञान पढिरहेका विद्यार्थीलाई तालिम दिएर नेपालमा एआईको दायरा बढाउने लक्ष्यसहित यस वर्षकाे फेलाेशिपका लागि आवेदन खुलाएकाे फ्युजमसिनले जनाएको छ ।

आवेदन आएका मध्येबाट छनौट गरी केही सीमित विद्यार्थीहरूले यो कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

"आजको दिनमा एआई फेलोशिप नेपालमा सबैभन्दा धेरै माग भएको र हरेक वर्ष हजारौं आवेदनहरू आउने कार्यक्रमको रुपमा स्थापित भएको छ," फ्युजमसिन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र संस्थापक समीर मास्केले भने, "उत्कृष्ट प्रशिक्षण साथै भविष्यको लागि राम्रो अवसर सहित यो कार्यक्रम सञ्चालन गर्ने गर्दछौं ।"

सन् २०१७ मा पहिलो पटक उच्च-गुणस्तरको एआई प्रशिक्षण दिने लक्ष्यका साथ सुरु गरिएको यो कार्यक्रममार्फत पाँच देशका ६०० भन्दा बढी विद्यार्थीले तालिम प्राप्त गरिसकेका छन् ।

"विश्वव्यापी रूपमा व्यवसायहरूलाई दक्ष एआई प्रतिभाको खाँचो छ र हामी नेपालजस्तो देशका मानिसलाई एआई तालिमबाट सशक्तिकरण गरेर बजारको यो मागलाई पूरा गरिरहेका छौं," फ्युजमसिन्सका दक्षिण एसियाली निर्देशक पराग श्रेष्ठले भने ।

कार्यक्रमका दौरान विद्यार्थीहरूलाई मसिन लर्निङ, डिप लर्निङ, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र कम्प्युटर भिजनका विषयमा अध्यापन गराइनेछ । साथै एआई र डेटा विज्ञानसँग सम्बन्धित सीपहरू पनि उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

कार्यक्रम पूरा भएपछि, विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ र डिप लर्निङ एल्गोरिदमका साथै अन्डरलाइङ गणित र प्रोग्रामिङ अभ्यासहरूको विषयमा राम्रो ज्ञान प्राप्त गर्ने फ्युजमसिनको भनाइ छ । यस कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी  आवेदन फारम भर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १३:१८