close

फेसबुकमा कसलाई फलो गर्छन् नेपाली नेता ? माधव नेपालकोमा 'यौनका कुरा'देखि 'टनेल टाउन'सम्म

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १३:२२

फेसबुकमा कसलाई फलो गर्छन् नेपाली नेता ? माधव नेपालकोमा 'यौनका कुरा'देखि 'टनेल टाउन'सम्म

काठमाडौं । अहिलेको समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले सामाजिक सञ्जालको शक्ति देखेर आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् । तर सामाजिक सञ्जालमा उनीहरूको उपस्थिति कति सुझबुझ पूर्ण छ भन्ने झनै महत्त्वपूर्ण हुन्छ । 

फलोअरलाई एकोहोरो रूपमा आफ्ना सामग्री प्रवाह गर्ने नेताहरू सामाजिक सञ्जालमा धेरै देखिन्छन् । तर उनीहरूले आफ्नो सामाजिक सञ्जाल अकाउन्टलाई दोहोरो संवाद र सञ्चारको माध्यम बनाएको बिरलै देखिन्छ । 

यति मात्र होइन, सामाजिक सञ्जालको उपस्थितिले सम्बन्धित व्यक्तिको स्वभावदेखि उनीहरूको व्यवस्थापकीय कुशलतासँगै अन्य कुराहरूको छनक समेत दिइरहेको हुन्छ । यसै सन्दर्भमा हामीले केही नेताहरूका सामाजिक सञ्जाल अकाउन्ट नियालेका छौँ । 

जसमा केही रोचक विषयहरू समेत देखिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फेसबुकमा १८३ पेज तथा अकाउन्ट फलो गरेका छन् ।

जसमा यौनका कुरा, टनेल टाउन, सफलताका सूत्र, जोक एन्ड कमेडी जस्ता पेजहरू समेत छन् । एक लाख ९१ हजार फलोअर रहेका उनले  केही नेताहरू र मिडियाका पेजलाई समेत फलो गरेका छन् । 

सामाजिक सञ्जालमा कस्ता पेज तथा अकाउन्टलाई फलो गर्ने भन्ने सवालमा सबैभन्दा प्रभावकारी देखिएको पेज नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको हो । धेरै फलोअर भएका नेपाली नेतामा पर्ने उनले २७ ओटा पेज तथा अकाउन्टलाई फलो गरेका छन् ।

 जसमा प्रचण्ड, छोरी मानुषी यमि भट्टराई, बिल गेट्स, वैज्ञानिक अल्बर्ट आइन्सटाइन लगायतका छन् ।  उनलाई फेसबुकमा पच्छ्याउनेहरूको सङ्ख्या १० लाख ५० हजार छ ।

त्यसैगरी केही सीमित व्यक्तिलाई फलो गर्ने नेतामा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पर्छन् । फेसबुकमा एक लाख ९० हजार फलोअर्स भएका उनले २१ जनालाई मात्र फलो गरेका छन् । उनले फलो गरेका व्यक्तिहरूको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, डा. बाबुराम भट्टराईदेखि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा समेत छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको फेसबुक पेजमा ४६ हजार फलोअर्स छन् । तर उनले चार जनालाई मात्र फलो गरेका छन् । जसमा रविन्द्र मिश्रसँगै एउटा उनको आफ्नै व्यक्तिगत फेसबुक अकाउन्ट छ भने अर्को उनको चुनावी प्रचारप्रसारको लागि बनाइएको फेसबुक पेज  रहेको छ ।  

लिङदेनले जस्तै आफ्नै सचिवालयलाई फलो गर्ने नेत्री हुन् नेकपा समाजवादीकी रामकुमारी झाँक्री । चार ओटा फलोइङ रहेकी उनको फेसबुक पेजमा हाल एक लाख ९० हजार फलोअर छन् । 

एक मात्र फलोइङ रहेका नेपाली कांग्रेसका मुख्यमन्त्री गगन थापाले त्यो पनि आफ्नै क्षेत्र नम्बरको कार्यालयको पेजलाई मात्र फलो गरेका छन् । फेसबुकमा थापाका चार लाख ९३ हजार फलोअर्स छन् ।

आफैँलाई फलो गर्ने सूचीमा एमालेका नेता गोकर्ण विस्ट पनि छन् । एक लाख ३८ हजार फलोअर्स भएको उनको फेसबुक पेजबाट विस्टले तीन ओटा पेज मात्र फलो गरेका छन् । जसमध्ये एउटा उनको आफ्नै पेज हो । 

एकदमै चर्चामा रहने एमाले नेता गोकुल बास्कोटाको फलोइङ सूचीमा भने ८ जना छन् । एक लाख ४६ हजार फलोअर्स भएको उनको फेसबुक पेजबाट एमालेका नेता र एमालेकै पेज फलो गरिएको छ ।

यस्तै व्यावसायिक जीवनबाट राजनीतिमा आएका विनोद चौधरीको फेसबुक पेजमा आठ लाख ४८ हजार फलोअर्स छन् । उनले नौ जनालाई मात्र फलो गरेका छन् । जसमा उनका छोराहरू र भाइ वसन्त चौधरी पर्छन् । 

थोरैलाई फलो गर्ने अर्का नेता हुन्, घनश्याम भुसाल । पूर्व एमाले नेता भुसालको फेसबुक पेजमा ९८ हजार फलोअर छन् जबकी उनले आठ जनालाई मात्र फलो गरेका छन् । यसमा गगन थापा, डा. बाबुराम भट्टराई, गोकर्ण विस्ट, रामकुमारी झाँक्री, योगश भट्टराई लगायत रहेका छन् । सामाजिक सञ्जालमा निकै नै सक्रिय देखिने एमालेका नेता शेरधन राईको फेसबुक पेजमा दुई लाख ४० हजार फलोअर छन् । उनले दुई जनालाई मात्र फलो गरेका छन्, जसमा एक उनकी पत्नी छिन् । 

एक जनालाई मात्र फलो गर्ने नेताहरू समेत सामाजिक सञ्जालमा भेटिन्छन् । जसमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पर्छन् । उनको फेसबुक पेजमा एक लाख ४९ हजार फलोअर छन् । उनले फलो गर्ने ती एक जना व्यक्ति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १३:३१