close

अब उम्मेदवारले पनि अनलाइन मिडियामा विज्ञापन गर्न पाउने

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १५:५५

अब उम्मेदवारले पनि अनलाइन मिडियामा विज्ञापन गर्न पाउने

काठमाडौं । अनलाइन सञ्चारमाध्यमबाट पनि दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन प्रसारण गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

निर्वाचन आचारसंहिता २०७९ मा राजनीतिक दल वा उम्मेदवार समेतले पालना गर्नुपर्ने सञ्चार माध्यमको प्रयोगसम्बन्धी आचरण उल्लेख छ । यसअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्नसक्ने व्यवस्था छ ।

तर, आचारसंहितामा अनलाइन सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था उल्लेख थिएन । त्यही विषयलाई केन्द्रित गर्दै आयोगले अनलाइन माध्यमबाट प्रचारप्रसार सम्बन्धमा स्पष्ट पार्न छ बुँदा सार्वजनिक गरेको छ ।

"राजनीतिक दल वा उम्मेदवारले सञ्चारमाध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्नसक्ने व्यवस्था गर्नु उपयुक्त भएकोले निर्वाचन आचारसंहिता, २०७९ को अधिनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यममा देहाय बमोजिम निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय भएको छ," विज्ञप्तिमा लेखिएको छ ।

उम्मेदवार वा राजनीतिक दलले अनलाइन माध्यमबाट प्रचार प्रसार गर्दा निम्न बुँदामा केन्द्रित भएर प्रचार गर्नुपर्नेछ । त्यस विपरीत गएर प्रचार गरेको पाइए आचारसंहिता उल्लङ्घन गरेको ठहर हुने जनाइएको छ । 

 -राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसार सम्बन्धी बढीमा एक मिनेटसम्मको भिडिओ सामग्री अनलाइन सञ्चार माध्यमबाट प्रसारण गराउन सक्ने,

-राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चार माध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन गर्न पाउने

-अनलाइन सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनु पर्ने,

-अनलाइन सञ्चार माध्यमबाट गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको मानिने

-अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा विदेशी अनलाइन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न नहुने

-राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानून बमोजिम पेश गर्नु पर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी गर्नु पर्ने ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १७:५०