close

सिंहदरबार वरिपरिका अव्यवस्थित तार हटाइदै

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १४:३६

सिंहदरबार वरिपरिका अव्यवस्थित तार हटाइदै

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सुरु गरेको सहरका अव्यवस्थित तार व्यवस्थापन कार्यक्रम अन्तर्गत आजबाट सिंहदरबार वरिपरिका स्थानहरूमा पनि तार व्यवस्थापन कार्य सुरु भएको छ । अव्यवस्थित तारहरूलाई चरणबद्ध रुपमा हटाउने कामको पहिलो चरणको गतिविधि पुतलीसडकदेखि रामशाह पथ हुँदै अगाडि बढिरहेको संघले जनाएको छ । 

यस कार्यका दौरान इन्टरनेट सेवा अवरुद्ध नहुने गरी प्रयोगमा नआएका तारहरू हटाउन काम भइरहेको संघले जानकारी दिएको छ । अव्यवस्थित तारहरू हटाउने काम आईस्पानसँगै नेपाल दूरसञ्चार प्राधिकरण, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय (काठमाडौं उपत्यका), नेपाल विद्युत प्राधिकरणको सहकार्यमा शनिबारबाट सञ्चालन भइरहेको छ । 

तार व्यवस्थापनको लागि आइस्पानले अल्पकालीन समाधानको काम गरिरहे पनि दीर्घकालिन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी नै सञ्चालन गरेर अगाडि बढ्नुपर्ने सुझाव संघले दिँदै आएको छ ।    

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १४:४९