close

आईफोनको तुलनामा एन्ड्रोइड प्रयोगकर्ता बढी इमान्दार हुन्छन्- अध्ययन

टेकपाना टेकपाना

कात्तिक २८, २०७९ १८:५४

आईफोनको तुलनामा एन्ड्रोइड प्रयोगकर्ता बढी इमान्दार हुन्छन्- अध्ययन

काठमाडौं । कतिपय अवस्थामा हामीले रोजेको फोनले हाम्रो व्यक्तित्व झल्काइरहेको हुन्छ । एक अध्ययनले एन्ड्रोइड फोन खरिद गर्ने प्रयोगकर्ता आईफोन खरिद गर्नेहरूको तुलनामा बढी इमान्दार र नम्र हुने देखाएको छ ।

एप्पल प्रयोगकर्ताले फोनका कारण आफ्नो देखावटी अवस्था प्रदर्शन गर्ने गरेको साे अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ लिंकन र ल्यान्कास्टर युनिभर्सिटीका खोजकर्ताले सयौँ मानिसहरू र उनीहरूको फोनसँगको सम्बन्धबारे गरेकाे अध्ययनपछि याे निष्कर्ष निकालेका हुन् ।

अध्ययनमा उनीहरूले एन्ड्रोइड प्रयोगकर्ता परिपक्क हुने, बढी इमान्दार हुने, नम्र स्वभावका हुने, आफ्नो फाइदाका लागि नियम नताेड्ने, धन र सम्पत्तिमा कम चासो राख्ने लगायतका प्रतिक्रिया दिएका थिए । एन्ड्रोइड डिभाइस प्रयोग गर्ने अधिकांश प्रयोगकर्ता पुरुष भएको उक्त अध्ययनले देखाएको थियो ।

यस विपरीत अध्ययनले आईफोन प्रयोगकर्ताहरू परिपक्क नदेखिने, कम इमान्दार हुने गरेको देखायो । मानिसहरूको व्यक्तित्व र उनहरूको फोनबीचको सम्बन्धबारे गरिएको यो नै पहिलो अध्ययन भएको बताइएकाे छ ।

साइबरसाइकोलोजी, बिहेबियर एन्ड सोसल नेटवर्किङ नामक जर्नलमा याे रिपोर्ट प्रकाशित छ । ५०० जनामा फोनसम्बन्धी उनीहरूको धारणासम्बन्धी प्रश्न सोधिएको थियो । अध्ययनका आधारमा मनोवैज्ञानिकहरूले त्यस्तो कम्प्युटर प्रोग्राम तयार पारेका थिए, जसले मानिसहरूले कस्तो स्मार्टफोन प्रयोग गर्छ भन्ने कुराको भविष्यवाणी गर्न सक्थ्यो ।

"एन्ड्रोइड प्रयोगकर्तासँग तुलनामा गर्दा हामीले के पत्ता लगाएका छौं भने आईफोन प्रयोगकर्ता प्रायः महिला हुने, कम परिपक्व हुने र फोनले नै आफ्नो अवस्था झुल्किन्छ भन्ने सोच्ने किसिमका हुन्छन्," रिपोर्टमा लेखिएको छ, "व्यक्तित्वमा खोजिएको मुख्य भिन्नतामा आईफोन प्रयोगकर्ताले निम्न स्तरको इमान्दारिता देखाइएको पाइयो ।"

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०७९ १८:५४