close

खर्बौँ रकम दान गर्दै अमेजनका संस्थापक जेफ बेजोस

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १०:४९

खर्बौँ रकम दान गर्दै अमेजनका संस्थापक जेफ बेजोस

काठमाडौं । चर्चित ई-कमर्स साइट अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो खर्बौँको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै बेजोसले एक सय २४ अर्ब डलर (करिब एक सय ६० खर्ब ६६ अर्ब ७७ करोड रुपैयाँ) दान दिने योजना बनाएको बताएका हुन् । जलवायु परिवर्तन र मानवबीचको असमानतासँग लड्नका लागि उक्त रकम दान गर्न लागेको बेजोसको भनाइ छ ।

बेजोसले यति मोटो रकम दान गर्ने घोषणा गरेको यो पहिलो पटक हो । धनाड्यको सूचीमा पर्ने अधिकांश मानिसहरूले विभिन्न परोपकारी कामका लागि दान गरिरहेका हुन्छन् । तर बेजोस भने यो सूचीमा खासै पर्दैनन् । बेजोसले गिभिङ प्लेज्ड नामक परोपकारी संस्थालाई सहयोग नगरेका कारण पनि उनी आलोचित भएका थिए । विशेषगरी लगानीकर्ता वारेन बफेट, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले आफ्नो सम्पत्ति दान गरिसकेका छन् । 

बेजोसले म्युजिक स्टार डली पार्टनलाई परोपकारी कामका लागि सय मिलियन डलर दान गरेपछि आफ्नो अधिकांश सम्पत्ति दान गर्ने योजना सार्वजनिक गरेका हुन् ।

गत शनिबार अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले जेफ बेजोसकै घरमा गएर गरेको अन्तर्वार्तामा उनले उक्त रकम दान दिने योजना सार्वजनिक गरेका हुन् । उनले उक्त रकम कहाँ र कसलाई दान गर्ने भन्ने विवरण भने खुलाइसकेका छैनन् । 

 

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १०:४९