close

घरका लागि कुन गिजर किन्ने ?

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १५:३१

घरका लागि कुन गिजर किन्ने ?

काठमाडौं । जाडोयाम सुरु भइसकेको छ । यो मौसममा तपाईंलाई चिसो पानीमा नुहाउन, लुगा धुन र अन्य काम गर्न अप्ठ्यारो भइरहेको होला । यस्तो अवस्थामा घरमा तातो पानी आउने सुविधा थप्ने योजना बनाउनुभएको छ भने यो लेख उपयोगी बन्नसक्छ ।

आज हामी तातो पानीका लागि प्रयोग हुने गिजरबारे चर्चा गर्दैछौं । गिजर भन्ने बित्तिकै तपाईंको दिमागमा इलेक्ट्रिक र ग्यास गिजरको तस्वीर आउँछ होला । यसमध्ये पनि कुन गिजर उपयोगी होला त ?

अहिले बजारमा विभिन्न ब्राण्डका गिजर उपलब्ध छन् । यसमध्ये ग्यास वा बिजुली, केबाट चल्ने गिजर किन्ने त ?

सबैभन्दा पहिल यी दुवैको मूल्य र विशेषता बुझौं । नेपाली बजारमा अहिले न्यूनतम पाँच हजारदेखि अधिकतम १३ हजार रूपैयाँसम्मका ग्यास गिजर उपलब्ध छन् ।

त्यसैगरी बिजुलीबाट चल्ने गिजर सामान्यतया २५ सयदेखि अधिकतम २५ हजार रूपैयाँसम्मका छन् । गिजर किन्नुअघि कुन कति किफायती छ भनेर दाँज्न नभुल्नुहाेला ।

कतिपयलाइ ग्यास गिजर मनपर्न सक्छ, अनि कतिपयलाइ इलेक्ट्रिक गिजर । अहिले ग्यासजन्य पदार्थको मूल्य बढेकाले दीर्घकालीन उपयोगमा धेरैले इलेक्ट्रिक गिजरमा चासो देखाउन थालेका छन् ।

इलेक्ट्रिक गिजरको सामान्य आयू ५ देखि ७ वर्ष हुन्छ भने ग्यास गिजर बेलाबेलामा बिग्रन सक्छ ।

अब कुरा गरौं, समय कति लाग्छ त ? पानी र समय बचत गर्नका लागि चाहिँ ग्यास गिजर निकै उपयोगी देखिन्छ । किनभने ग्यास गिजरमा आवश्यकता अनुसार तत्काल पानी तताउन सकिन्छ ।

तर इलेक्ट्रिक गिजरमा पानी तात्न सामान्यतया १५ देखि २० मिनेट लाग्छ । यसमा जम्मा भएको पानी बढीमा छ घण्टासम्म तातै रहन्छ । पानी तताएर केहीबेरमा प्रयोग गर्छु भन्दा पनि भयो । जुन सुविधा ग्यास गिजरमा भने छैन ।

अर्को कुरा, कुनै सामान खरिद गर्न लाग्दा त्यसकाे डिजाइनमा पनि ध्यान जान्छ । दुवै किसिमका गिजरमा साइजअनुसार फरक डिजाइन हुन्छन् । यसमा यो नै ठीक, अथवा बेठीक भन्ने अवस्था छैन ।

यद्यपि ग्यास गिजर केही सानो भएता पनि सँगै ग्यास सिलिन्डरलाई कहाँ, कसरी व्यवस्थित गर्ने भन्ने झन्झट भने आउँछ ।

अर्काेतर्फ इलेक्ट्रिक गिजरकाे साइज तुलनात्मक रुपमा केही ठूलो हुन्छ । तर गिजरबाहेक अन्य कुराका लागि ठाउँ व्यवस्थापन कसरी गर्ने भनेर सोचिरहनुपर्दैन ।

यस्ता उपकरण कति समयसम्म राम्ररी चल्न सक्छन भनेर बिक्रेताले ग्यारेन्टी समय दिएका हुन्छन् । ग्यारेन्टी दिएको अवधिभन्दा पहिला बिग्रियो भने यसको झन्झट त तपाईंले उठाइरहन पर्दैन । तर पछि बिग्रिएको खण्डमा मर्मत-सम्भारका लागि लाग्ने समयले तपाईंलाई असुविधा हुनसक्छ ।

यस्तोमा ग्यास गिजर मर्मतको समय इलेक्ट्रिक गिजरको तुलनामा समय र पैसा दुवै हिसाबले कम खर्चिलो हुन्छ । इलेक्ट्रिक गिजरको पार्ट्स केही महङ्गो हुन्छ । बनाउन पनि औषतमा एक/दुई दिनको समय लाग्नसक्छ ।

ग्यास गिजरमा एक किसिमको ब्याट्री प्रयोग गरिएको हुन्छ, जसमा समस्या आउनसक्छ । यद्यपि यसलाई परिवर्तन गर्न भने सकिन्छ ।

त्यस्तै इलेक्ट्रिक गिजरमा पानी जम्मा गरेर राख्न मिल्ने भएकाले यसमा खिया लाग्नसक्ने समस्या आउनसक्छ ।

अर्काेतर्फ, ग्यास गिजरमा सिलिन्डर पनि गिजरको नजिक वा पहुँचमा हुनपर्ने हुँदा केही भद्रगोल लाग्नसक्छ । त्यस्तै ग्यास सिलिन्डरबाट हुने आगलागीका घटना सम्झिने हो भने याे खासै सुरक्षित देखिँदैन ।

उता इलेक्ट्रिक गिजरकाे सन्दर्भमा पनि विद्युत शट हुने वा करेन्ट लाग्ने घटना सिर्जना हुनसक्छन् । तर सावधानी अपनाउँदा जाेखिम नै हुन नदिन वा कम गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको इलेक्ट्रिक गिजरले कुनै प्रदूषण निकाल्दैन । तर ग्यास गिजरले कार्बनमोनोअक्साइड ग्यास सिर्जना गर्छ, जुन हावा नखेल्ने वा बन्द बाथरुममा लामो समयसम्म प्रयोग गर्दा निसास्सिएर मानिसको ज्यानसमेत जानसक्छ ।

यसरी हेर्दा दुवै किसिमका गिजरका गुण र अवगुण छन् । तर विज्ञहरूले सुरक्षा, दीर्घकालीन प्रयाेग, व्यवस्थापन लगायतका हिसाबले इलेक्ट्रिक गिजर नै उपयुक्त छ भनेर सल्लाह दिने गरेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १६:५७