close

सोसल मिडिया अकाउन्ट ह्याक भयो ? फिर्ता ल्याउन यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १७:८

सोसल मिडिया अकाउन्ट ह्याक भयो ? फिर्ता ल्याउन यसो गर्नुहोस्

काठमाडाैं । ह्याकर वा अनधिकृत व्यक्तिकाे पहुँचमा पुगिसकेकाे सामाजिक सञ्जाल अकाउन्ट पुनः फिर्ता ल्याउने विभिन्न तरिका छन् । कहिलेकाहीँ यो प्रक्रिया अलि लामाे हुनसक्छ भने कहिलेकाँही छिटै अकाउन्ट फिर्ता आउनसक्छ ।

ध्यान दिनुपर्ने कुरा भनेको ह्याकरले अकाउन्टमा धेरै कुराहरु जस्तै; युजरनेम, पासवर्ड, सम्पर्क विवरण आदि परिवर्तन गरेकाे छ भने रिकभर गर्न वा पूर्व अवस्थामा ल्याउन झन्झट हुन्छ ।

अकाउन्ट ह्याक भएकाे थाहा पाउने उपाय:

-तपाईंले कहिल्यै नखिचेका फाेटाे तथा भिडिओहरु तपाईंकाे अकाउन्टबाट अपलाेड हुनु ।

-अकाउन्टमा जाेडिएका साथीहरुले अनावश्यक मेसेज प्राप्त गर्नु ।

-तपाईंले प्रयाेग गरिरहने डिभाइसबाट लगइन नहुनु ।

यदि यस्ता वा यस्तै प्रकृतिका समस्या भाेगिरहनु भएकाे छ भने सामाजिक सञ्जाल कम्पनीले तपाईंलाई तत्काल पासवर्ड परिवर्तन गर्न सुझाव दिन्छन् । यस्तो सुझावसँग जोडिएको नोटिफिकेसनलाई ध्यान दिनु जरुरी हुन्छ ।

अब तपाईंले नयाँ पासवर्ड राख्दा पुराना पासवर्डहरु दाेहाेर्‍याउनु हुँदैन ।

याेसँगै बलियाे पासवर्ड राख्नुपर्छ । यदि पासवर्ड परिवर्तन गर्न खाेज्दा पनि भएन भने जतिसक्दाे चाँडाे कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

अकाउन्ट ह्याक हुँदा रिकभर गर्ने तरिका:  

एप्पल

तपाईंकाे एप्पल आईडीमा अनलाइन सब्सक्रिप्सन, विभिन्न सेवामा खर्च गरेकाे विवरण साथै व्यक्तिगत जानकारी हुन्छ । यदि आईक्लाउड प्रयाेग गर्नुहुन्छ भने ह्याकरले तपाईंकाे सम्पर्क विवरण, फाेटाे/भिडिओ, नाेट, जीपीएस लाेकेसन आदिमा पहुँच प्राप्त गर्न सक्नेछन् । 

-एप्पलमा पासवर्ड परिवर्तनका लागि सुरुमा एप्पल आईडी साइन इन पेजमा जानुहाेस् । 

-त्यसपछि साइन इनमा क्लिक गर्नुहाेस् । यदि तपाईंकाे एप्पल आईडी लगइन भएन भने एप्पलकाे अरु डिभाइस जस्तै; म्याक, आईफाेन अथवा आईप्याडबाट काेसिस गर्नुहाेस् । 

-म्याकमा एप्पल आईडीमा जानका लागि सुरुमा एप्पल मेनुमा क्लिक गर्नुहाेस् । 

-त्यसपछि ‘सिस्टम प्रिफरेन्सेस’ मा क्लिक गर्नुहाेस् । अब तपाईंले एप्पल आईडीकाे पेज फेला पार्न सक्नुहुन्छ । त्यस्तै आईफाेन र आईप्याडमा एप्पल आईडीका लागि सेटिङमा गएर आफ्नाे नाममा क्लिक गर्नुहाेस् ।

-अब ‘पासवर्ड एन्ड सेक्युरिटी’मा क्लिक गर्नुहाेस् । यसपछि तपाईंले पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

यदि यी तरिकाबाट काम भएन भने तपाईं एप्पलकाे कस्टमर सर्भिसमा प्रत्यक्ष कल गर्नपर्ने हुन्छ । यसबाट सहयाेग लिनका लागि कुनै मिति चयन गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

फेसबुक

आफ्नो फेसबुक अकाउन्ट ह्याक भएकाे छ भने सुरुमा यहाँ क्लिक गर्नुहाेस् । 

-अब ‘माई अकाउन्ट इज कम्प्रमाइज्ड’ मा क्लिक गर्नुहाेस् । 

-अर्काे पेजमा तपाईंकाे ईमेल र माेबाइल नम्बर टाइप गर्नुहाेस् । 

-अब पुरानाे पासवर्ड टाइप गरेर लगइन गर्नुहाेस् । यदि ह्याकरले तपाईंकाे अकाउन्टकाे पासवर्ड मात्र परिवर्तन गरेकाे छ भने तपाईंले यहाँबाट अकाउन्ट पुन: आफ्नाे कन्ट्राेलमा लिन सक्नुहुन्छ । यसका लागि लगइन भएपछि नयाँ पासवर्ड राख्नुहाेस् । 

यदि यहाँ अकाउन्ट लगइन भएन भने तपाईंले पेजमा भएकाे ईमेल एड्रेसमा मेल पठाउन सक्नुहुनेछ । यसाे गर्दा प्रतिक्रियाका लागि समय लाग्नसक्छ । यदि यसाे गर्दा समेत भएन भने तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस?’ मा क्लिक गरेर तपाईंले आफ्नाे अकाउन्ट खाेज्‍न सक्नुहुनेछ ।

फेसबुकले यहाँ तपाईंकाे अकाउन्ट कुन ठाउँबाट, कुन डिभाइसबाट लगइन भएकाे देखाउनेछ ।

यदि यी सबै गर्दा पनि भएन भने तपाईंले आफूसँग सम्बन्धित १३ प्रकारका कागजात जस्तै: चालक अनुमतिपत्र, पासपाेर्ट, विवाहकाे प्रमाणपत्र, नागरिकता आदिबाट अकाउन्टमा  पहुँच प्राप्त गर्न सक्नुहुन्छ । जसका लागि १३ प्रकारका कागजपत्रमध्ये कुनै एक तपाईंले समातेकाे फाेटाे फेसबुकलाई पठाउनुपर्ने हुन्छ ।

यी सबै कुरा तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस्’ पेजमा गर्नुपर्ने छ । अब यस पछाडिकाे प्रक्रियाबारे फेसबुकले तपाईंलाई मेल पठाउनेछ ।


गुगल

गुगल अकाउन्टमा पहुँच गुम्याे भने धेरै कुराहरु जस्तै: जिमेल, ड्राइभ, युट्युब लगायत अरु सेवाहरुमा समेत असर पुग्दछ । यदि तपाईंलाई आफ्नाे गुगल अकाउन्टमा ह्याक भएकाे लागेकाे छ भने सुरुमा लगइन गर्ने काेसिस गर्नुहाेस् । 

-यदि लगइन भएन भने गुगल अकाउन्टकाे रिकभरी पेजमा जानुहाेस् । त्यसमा तपाईंले आफ्नाे ईमेल एड्रेस राख्नुहाेस् । 

-अब तपाईंले राखेकाे अन्तिम पासवर्ड टाइप गर्नुहाेस् । 

-यदि यसले पनि काम गर्दैन भने ‘ट्राइ एनाेदर वे’ मा क्लिक गर्नुहाेस् । अब तपाईंले आफ्नाे अकाउन्टमा राखेकाे रिकभरी ईमेल एड्रेसमा गुगलले काेड पठाउने छ । उक्त काेड टाइप गरेपछि तपाईंले नयाँ पासवर्ड राख्‍नु पर्ने हुन्छ । 

यदि तपाईंले अकाउन्टमा रिकभरी ईमेल एड्रेस राख्‍नु भएकाे छैन, अथवा उक्त अकाउन्टमा पहुँच छैन भने पुन: ‘ट्राइ एनाेदर वे’ मा क्लिक गर्नुहाेस् । त्यहाँ तपाईंलाई गुगलले फाेन नम्बर माग्‍नेछ ।

तपाईंले फाेन नम्बर राखेपछि गुगलले त्याे नम्बरमा काेड पठाउने छ वा कल गर्नेछ । काेड प्राप्त गरेपछि अकाउन्टकाे पासवर्ड परिवर्तन गर्नुहाेस् ।

यसाे गर्दा पनि भएन भने ‘आई डन्ट ह्याभ माइ फाेन’ मा क्लिक गर्नुहाेस् । अब गुगलसँग तपाईंकाे बारेमा कति जानकारी छ, त्यसका आधारमा तपाईं नै हाे भनेर निश्चित गर्नका लागि गुगलले प्रश्न साेध्नेछ । तर याे विधि भने तपाईंकाे 'भाग्य'मा भर पर्ने कुरा हाे ।

हालसम्म गुगलले यस समस्या समाधानका लागि कुनै पनि प्रतिनिधि राखेकाे छैन । यदि तपाईंले गुगलकाे नम्बर ६५०-२५३-००० मा कल गर्नुहुन्छ भने 'भाेइस बट'ले तपाईंलाई माथिकै प्रक्रिया बताउने छ ।

इन्स्टाग्राम

-तपाईंकाे युजर नेम र पासवर्डबाट लगइन भएन भने ‘लग इन विथ फेसबुक’ मा क्लिक गर्नुहाेस् । तर यसका लागि तपाईंले फेसबुक र इन्स्टाग्राम अकाउन्ट लिङ्क गरेकाे हुनुपर्छ ।

-यसाे गर्दा पनि हुँदैन भने ‘फर्गट पासवर्ड’  मा क्लिक गर्नुहाेस् । अब फाेन नम्बर अथवा ईमेल एड्रेस टाइप गर्नुहाेस, जसमा इन्स्टाग्रामले तपाईंलाई काेड पठाउने छ । उक्त काेड हालेपछि तपाईंले नयाँ पासवर्ड राख्‍नुपर्ने हुन्छ । 

-यदि याे तरिकाले काम गरेन भने लगइन गर्नका लागि प्रयाेग गरेकाे पछिल्लाे विवरण टाइप गरेर ‘कान्ट रिसेट याेर पासवर्ड?’ मा क्लिक गर्नुहाेस् । 

-अब ‘इन्स्टाग्राम: हेल्प पेज’ मा जानु हुनेछ । त्यहाँ ‘आई थिङ्क माई इन्स्टाग्राम अकाउन्ट ह्याज बिन ह्याक्ड’ मा क्लिक गर्नुहाेस् । 

-यसकाे पेज स्क्राेल गर्दै जाँदा ‘रिक्वेस्ट अ सेक्युरिटी काेड अर सपाे‍र्ट फर्म इन्स्टाग्राम’ देखिन्छ । त्यहाँ क्लिक गर्नुहाेस् । 

-अब तपाईंलाई एन्ड्राेइड अथवा आईओएसमा सहयाेगका लागि कसरी रिक्वेस्ट पठाउने भन्ने थप जानकारी उपलब्ध हुनेछ । 

 

स्न्यापच्याट

-सबैभन्दा सुरुमा लगइन पेजमा गएर आफ्नाे युजर नेम र पासवर्ड टाइप गर्नुहाेस् । यदि लगइन हुँदैन भने ‘फर्गट पासवर्ड’ मा क्लिक गरेर ईमेल अथवा फाेन नम्बर टाइप गर्नुहाेस् । 

-अब काेड प्राप्त गर्नुहुनेछ । उक्त काेड हालेपछि तपाईंकाे पासवर्ड रिसेट हुने छ ।

ह्याकरले तपाईंकाे बारेमा अरु विवरणहरु परिवर्तन गरेपनि यस विधिले काम गर्नेछ । स्न्यापच्याटले तपाईंकाे पुरानाे ईमेलमा ‘भर्खरै पासवर्ड परिवर्तन भयाे । यदि पासवर्ड परिवर्तन गर्ने तपाईं हाेइन भने यहाँ क्लिक गर्नुहाेस्’ भन्ने मेल पठाउनेछ । यसबाट सजिलै तपाईंले आफ्नाे हातमा अकाउन्ट लिन सक्नुहुनेछ ।

यदि कसैगरी लगइन गर्न सक्नुभएन भने सपाेर्ट पेजमा गएर अकाउन्ट रिकभरका लागि फाराम भर्न सक्नुहुन्छ ।

स्पाेटिफाई

-सुरुमा स्पाेटिफाईकाे पासवर्ड रिसेट पेजमा जानुहाेस । 

-त्यहाँ आफ्नाे युजर नेम र ईमेल एड्रेस टाइप गरेपछि तपाईंले पासवर्ड रिसेट गर्ने लिङ्क भएकाे मेल प्राप्त गर्नुहुन्छ । 

-यदि यसाे गर्दा पनि भएन भने स्पाेटिफाइकाे सपाेर्ट पेजमा जानुहाेस् ।

टिकटक

ह्याकरले तपाईंकाे टिकटक अकाउन्टकाे युजरनेम र पासवर्ड परिवर्तन गरेपनि विभिन्न सामाजिक सञ्जालबाट लगइन गर्न सक्नुहुन्छ । तर त्यसका लागि फेसबुक, गुगल, ट्वीटर, एप्पल आदिसँग टिकटक अकाउन्ट लिङ्क भने गरिएकाे हुनुपर्छ ।

-पासवर्ड परिवर्तनका लागि आफ्नाे प्राेफाइलमा क्लिक गर्नुहाेस् ।

-अब तीन ओटा लाइन भएकाे ह्यामबर्गर आईकनमा क्लिक गर्नुहाेस् ।

-‘सेटिङ र प्राइभेसी’मा क्लिक गर्नुहाेस् । 

-अब ‘मेनेज अकाउन्ट’ मा क्लिक गर्नुहाेस् । 

-त्यसपछि ‘पासवर्ड’ चयन गर्नुहाेस् । 

-अब तपाईंकाे ईमेल अथवा फाेनमा टिकटकले ६ अङ्ककाे काेड पठाउने छ । उक्त काेड हालेपछि नयाँ पासवर्ड राख्न पाउनुहुन्छ ।

यदि ह्याकरले तपाईंकाे ईमेल अथवा फाेन नम्बर परिवर्तन गरेकाे छ भने सहयाेगका लागि अनुराेध पठाउन सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् । अथवा [email protected] मा मेल पठाउनुहाेस् ।

ट्वीटर

-पासवर्ड रिस‍ेट पेजमा गएर ईमेल, फाेन नम्बर अथवा युजरनेम टाइप गर्नुहाेस् । 

-अब ईमेल एड्रेस वा फाेनमा काेड प्राप्त गर्नुहुनेछ । उक्त काेड राखेपछि आफ्नाे अकाउन्टमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ । 

यदि ट्वीटरले लगइन लिन मानेन भने हेल्प सेन्टरमा जानुहाेस् ।

 

अब अकाउन्टकाे सरक्षा बढाउनुहाेस्

ह्याक भएकाे अकाउन्ट फिर्ता लिएपछि सुरुमा गर्ने काम भनेकाे त बलियाे पासवर्ड राख्ने हाे । यसका लागि तपाईंले पासवर्ड मेनेजरकाे प्रयाेग गर्न सक्नुहुन्छ । यसपछि ‘टु फ्याक्टर' अथवा 'मल्टिफ्याक्टर अटेन्थिफिकेसन’काे प्रयाेग गर्ने विकल्प तपाईँसामु छ, जसले तपाईंकाे अकाउन्टलाई थप सुरक्षित राख्‍नेछ ।

यसबाहेक सार्वजनिक स्थलमा रहेका फ्रि वाई-फाई सकेसम्म कम प्रयाेग गर्नुहाेस् । असुरक्षित वेबसाइटहरुमा आफ्नाे सामाजिक सञ्जालहरु प्रयाेग नगर्नुहाेस् । यस्ता सामान्य काम गरेर हामी आफ्नाे अकाउन्टकाे सुरक्षा बढाउन सक्छाैँ ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १७:४७