close

गेमिङका लागि कस्तो मनिटर किन्ने ?

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ ९:५८

गेमिङका लागि कस्तो मनिटर किन्ने ?

काठमाडाैं । यदि तपाईँसँग राम्रो ग्राफिक्स कार्ड छ, राम्रो सीपीयू छ, तर कम क्षमताको मनिटर छ  भने तपाईँले चाहेको जस्तो गेमिङ अनुभव पाउनुहुन्न । यसका लागि क्षमतायुक्त मनिटर नै चाहिन्छ । आज हामी गेमिङ मनिटर किन्दा के-के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराको जानकारी दिदैँ छौँ ।

विशेषगरी मनिटर किन्दा ध्यान राख्नुपर्ने कुरा भनेको रेजाेलुसन, रिफ्रेस रेट, प्यानल र मनिटरको साइज हो ।

रिफ्रेस रेट

गेमिङबाहेक अन्य कामका लागि हो भने मनिटरको रिफ्रेस रेटलाई धेरै महत्त्वपूर्ण मानिदैँन । तर गेमिङको लागि हो भने कति एफपीएस पाउने भन्ने कुरा रिफ्रेस रेटमै भर पर्छ । यदि तपाईँको मनिटर ६० हर्जको छ भने पावरफुल कम्प्युटरमा गेम खेले पनि ६० भन्दा धेरै एफपीएस पाउन सक्नुहुन्न ।

अहिले बजारमा ३० हर्जदेखि ५०० हर्जसम्मको मनिटर उपलब्ध छन् । यसमध्ये आफ्नो कम्प्युटरको क्षमतालाई हेरेर मनिटर खरिद गर्न सक्नुहुन्छ । 

प्यानल 

रिफ्रेस रेटसँगै मनिटर किन्दा ध्यान राख्नुपर्ने अर्को कुरा भनेको प्यानल हो । अहिले बजारमा आईपीएस (इन प्लेन स्विचिङ), टीएन (ट्विस्टेड नेम्याटिक), भीए (भर्टिकल अलाइनमेन्ट) र ओलेड (अर्गानिक लाइट एमिटिङ डायोड्स) प्यानल भएका मनिटर धेरै पाइन्छ । कुन किन्ने त्यो तपाईँको आवश्यकता र बजेटमा निर्भर हुन्छ ।

आईपीएस, भीए र ओलेडको तुलनामा टीएन प्यानल भएका मनिटरहरु केही सस्ता हुन्छन् । ओलेड डिस्प्ले भएका मनिटरहरु तुलनात्मक रुपमा अन्यभन्दा महङ्गा हुन्छन् । यदि तपाईँको आवश्यकता गेमिङसँगै अन्य प्रयोग पनि हो र बजेट छ भने तपाईँले ओलेड डिस्प्ले भएको मनिटर किन्दा उपयुक्त हुन्छ । तर बजेट कम छ र सबै कामका लागि मनिटर हेर्दै हुनुहुन्छ भने उपयुक्त विकल्प आईपीएस प्यानल भएका मनिटर हुन सक्छन् ।

यसको रेस्पोन्स गर्ने समय भीएको भन्दा राम्रो हुन्छ र अन्य कुरा जस्तै; कलर, कन्ट्रास्ट र भ्युइङ एङ्गल पनि राम्रो हुन्छ । यसबाहेक तपाईँको प्राथमिकता रेस्पोन्स गर्ने समय हो भने उपयुक्त विकल्प टीएन प्यानल भएको मनिटर हुन सक्छ । रेस्पोन्स गर्ने समय  गेमिङमा महत्त्वपूर्ण मानिन्छ ।

साइज

मनिटर किन्दा अर्को ध्यान राख्नुपर्ने कुरा भनेको यसको साइज पनि हो । तपाईँलाई कत्रो मनिटर चाहिन्छ, त्यो कुरा तपाईँ कसरी गेम खेल्नुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

कतिपय मानिस ठूलो मनिटर राखेर टाढा बसेर गेम खेल्न रुचाउँछन् भने कतिपय मनिटर नजिकै बसेर गेम खेल्न मन पराउँछन् । नजिक बस्नेको छनोट प्रायः सानो मनिटर नै हुन्छ । 

 

रेजाेलुसन 

तपाईँको गेमको भिजुअल क्वालिटी कस्तो हुन्छ भन्ने कुरा डिस्प्लेको रेजाेलुसनमा निर्भर हुन्छ । यदि तपाईँले एचडी डिस्प्ले भएको मनिटर किन्नु भएको छ भने फोरके रेजाेलुसनमा गेम खेल्न सक्नुहुन्न ।

त्यसैले मनिटर किन्दा आफूसँग कस्तो कम्प्युटर छ, कस्तो खालको गेम खेल्नको लागि किन्दै हुनुहुन्छ, त्यो निश्चित गर्नुहोस् । 

यसबाहेक मनिटरमा फ्रीसिङ्क , जीसिङ्क जस्ता सुविधा पनि हुन्छन्, जुन तपाईँले किन्न लागेको मनिटरले सपोर्ट गर्छ कि गर्दैन निश्चित गर्नुहोस् । यी सुविधा भएका मनिटर किन्नुभयो भने तपाईँको गेमिङ अनुभव अझै माथिल्लो तहको हुन्छ । तर यसका लागि तपाईँको कम्प्युटरमा सपोर्ट गर्ने ग्राफिक्स कार्ड भने हुनुपर्छ ।

योसँगै मनिटरले कुन-कुन पोर्ट सपोर्ट गर्छ, त्यो पनि यकिन गर्नुहोस् । सम्भव भएसम्म एचडीएमआई र डिस्प्ले पोर्ट दुवै भएको मनिटर किन्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १६:१५