close

कानमा ५ वर्षसम्म एयरबड अड्केपछि...

टेकपाना टेकपाना

मंसिर १, २०७९ १३:२

कानमा ५ वर्षसम्म एयरबड अड्केपछि...

काठमाडौं । बेलायतका ६६ वर्षीय पूर्वइन्जिनियर वालेन्स ली विगत पाँच वर्षदेखि कान कम सुन्थे । आफूले २४ वर्षसम्म हेलिकोप्टर गर्जनको सामना गरेकाले त्यसो भएको हुनसक्ने उनको अड्कल थियो । उनको श्रवणशक्तिमा समस्या हुँदा उनले धेरै कुराको सामना गर्नुपर्‍यो ।

कान बुजिएको हुँदा उनको शरीरको असन्तुलित हुन पुग्यो, जसले गर्दा उनलाई गल्फ खेल्न पनि समस्या हुन थाल्यो । आफ्नो समस्याबाट मुक्ति पाउन लीले डाक्टरबाट जाँच गराउनेदेखि हरसम्मका प्रयास गरेका थिए । तर, उनको समस्या कसै गरे पनि समाधान हुन सकेको थिएन ।

कान कम सुन्दा समस्या भएपछि उनले कान सुन्न सघाउने ब्लुटुथ जडित इन्डोस्कोप खरिद गरे । त्यसलाई प्रयोग गर्दा उनलाई बायाँ कानमा केही चिज अड्केको जस्तो महसुस भयो । तर, त्यो के अड्केको होला भन्ने उनले अनुमान गर्न सकेनन् ।

लीका डाक्टरले उनको कानमा केही अड्केको महसुस गरे । तर, वास्तवमा त्यो चिज निकाल्न लीका डाक्टरको सामर्थ्यले सकेन । त्यसैले उनी डोर्सेटको वेमाउथमा रहेको उनको घर नजिकैको कान, नाक र घाँटी डाक्टरकहाँ गए । सबैभन्दा पहिले डाक्टरले सक्सन प्रयोग गरेर उनको कानमा अड्किएको चिज निकाल्ने प्रयास गरे ।

तर, उक्त वस्तु गहिरो तरिकाले अड्किएपछि उनीहरूले अन्य तरिका अपनाउनेबारे सोचे । त्यसपछि डाक्टरले मिनियचर क्रोक्रोडाइल चिम्टी प्रयोग गरेर उक्त सामान निकाल्ने योजना बनाए । त्यसपछि डाक्टरहरू उनको कानमा रहेको वस्तु निकाल्न सफल भए । डाक्टरले उनको कानबाट निकालेको वस्तु प्लास्टिकले बनेको केही सामान थियो, जसलाई कानेगुजीले ढाकेको थियो ।

उक्त सामान निकालेपछि ली वर्षौँदेखि कान बुजिएको समस्याबाट मुक्त भए । वास्तवमा भएको के रहेछ भने सन् २०१७ मा उनी अष्ट्रेलियाका लागि उडेका रहेछन् । त्यसबेला निदाउन सहज होस् भनेर एयरबड लगाएका थिए । त्यही समयमा दुर्घटनावस उक्त एयरबड उनको कानभित्र पसेको रहेछ ।

उनले बाँकी बचेको अर्को एयरबड पनि वर्षौँसम्म प्रयोग नगरेकोले उनलाई केही वास्ता नै भएन । आफूलाई उक्त एयरबड कानमै होला भन्ने केही अनुमान नै नभएको ली सुनाउँछन् ।

सुनाईमा भएको समस्या समाधान भएपछि उनले नयाँ जीवन पाएको अनुभव गरेका छन् । कान बुजिएर शरीर सन्तुलन गर्न असहज भएपछि उनलाई गल्फ खेल्न समस्या भएको थियो ।

उनी एक किसिमको अपाङ्गजस्तै भएका थिए । उनकी श्रीमतीले बुढेसकाल लागेर त्यस्तो भएको हुनसक्ने भनेपछि ली विश्वस्त भएका थिए । जसले गर्दा पाँच वर्षसम्म उनले केही ठूला प्रयास नगरी त्यसैमा चित्त बुझाएर बसेका थिए ।

-न्यू याेर्क पाेस्टबाट ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १३:१६