close

मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि एससीटीले ल्यायो ओम्नी च्यानलमा आधारित 'फास्ट बैंकिङ' सेवा

टेकपाना टेकपाना

मंसिर १, २०७९ १७:१२

मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि एससीटीले ल्यायो ओम्नी च्यानलमा आधारित 'फास्ट बैंकिङ' सेवा

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)ले ओम्नी च्यानल सोलुसनका रुपमा फास्ट बैकिङ ल्याएको छ । मोबाइल तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्यालाई समाधान गर्ने उद्देश्यसहित कम्पनीले बुधबार यो सेवा सार्वजनिक गरेको हो ।

फास्ट बैंकिङ सेवाले प्रयोगकर्ताको डिजिटल बैंकिङ अनुभवलाई नयाँ रुप दिने कम्पनीको विश्वास छ । नेपाल राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तीय संस्था, फिनटेक तथा डिजिटल भुक्तानी क्षेत्रका प्रतिनधिहिरुको उपस्थितिमा नेपाल बैंकर्स एसोसिएसका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एप अनावरण गरी यो सेवाको सुरूवात गरे ।

स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङ अनुभवलाई थप सुदृढ गर्दै नयाँ आयाम दिनसक्ने भनाइ राखे ।

हाल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ सेवा विशेषगरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझै पनि बैंककै शाखामा धाउनुपर्ने बाध्यता रहेको परिस्थिति औल्याउँदै थप सुविधाका साथ ओपन एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङमै जोड्न सकिने उनले जानकारी दिए ।

फास्ट बैंकिङले बैंकका शाखाहमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च वृहत रुपमा घटाउन सकिने उनको भनाइ छ ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङभन्दा गुण्स्तरीय र सुरक्षित रहेको बताए ।

हाल ग्लोबल आईएमई बैंकमा सञ्चालनमा ल्याइएको यो सेवा अन्य बैंकले पनि प्रयोगमा ल्याउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १७:१२