close

एक वर्षमा झण्डै दोब्बरले बढ्यो मोबाइल बैंकिङबाट हुने भुक्तानी

टेकपाना टेकपाना

मंसिर २, २०७९ १४:४६

एक वर्षमा झण्डै दोब्बरले बढ्यो मोबाइल बैंकिङबाट हुने भुक्तानी

काठमाडौं । पछिल्लो एक वर्षमा मोबाइल बैंकिङको कारोबार करिब ८५ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीपछि ह्वात्तै बढेको मोबाइल बैंकिङ कारोबार त्यसपछि पनि उल्लेख्य रूपमा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत असोज महिनामा मात्र मोबाइल बैंकिङमार्फत एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आर्थिक वर्ष २०७८/०७९ को यही अवधिमा मोबाइल बैंकिङमार्फत ८७ अर्ब ७३ करोड २० लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

यसैगरी याे वर्ष डिजिटल वालेटबाट हुने कारोबार समेत बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को असोज‍मा १५ अर्ब १८ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा यस वर्ष सोही महिनामा १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ, जुन नौ प्रतिशतको वृद्धि हो ।

यस वर्ष क्यूआरमार्फत हुने भुक्तानी पनि आकर्षक रूपले बढेको देखिन्छ । गत वर्षको असोज महिनामा क्यूआर कोडमार्फत छ अर्ब नौ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । जब कि यस वर्षको असोज महिनामा १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर कोडमार्फत हुने कारोबार बढेको भएपनि इन्टरनेट बैंकिङको प्रयोग भने घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ को असोजमा इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ३४ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो ।

तर, आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा यस्तो कारोबार घटेर ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । यो कारोबार रकम गत वर्षको तुलनामा ११.५८ प्रतिशतले थोरै हो ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १४:४६