close

मतदान स्थललाई गुगल म्यापबाट निगरानी

टेकपाना टेकपाना

मंसिर ३, २०७९ ७:५१

मतदान स्थललाई गुगल म्यापबाट निगरानी

कपिलवस्तु​ । आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ । जिल्लाका २३५ ओटै मतदान केन्द्रलाई गुगल म्यापमा राखिएको छ । 

जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित विशेष सुरक्षा योजना बनाउँदै २३५ वटा मतदान स्थल र ४७३ वटै केन्द्रलाई गुगल म्यापमा राखेको हो । नेपाली सेनाका प्राविधिकको सहयोगमा जिल्लामै पहिलो पटक कायम गरिएका मतदान स्थललाई गुगल म्यापमा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनले ढुक्कसँग मतदान अधिकृत र कर्मचारीलाई कार्यस्थलमा खट्न निर्देशन दिइएको बताए । शान्ति सुरक्षाको स्थिति बलियो बनाइएको उनको भनाइ छ ।

उनले भने, “हरेक मतदान केन्द्रमा सूचना पाएको १० मिनेटमै सुरक्षाकर्मीको टोली पुग्ने गरी प्रबन्ध गरिएको छ ।” ​गुगल म्यापका आधारमा सुरक्षाकर्मीलाई खट्न सजिलो हुने उनले बताए ।

म्यादी, प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भइसकेका छन् । जिल्लामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील र बाँकीलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ मिश्रले जानकारी दिए ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ ७:५१