close

सबै विद्युतीय उपकरणमा यूएसबी-सी पोर्ट उपलब्ध हुनपर्ने नीति लागू गर्दै भारत

टेकपाना टेकपाना

मंसिर ४, २०७९ ९:४३

सबै विद्युतीय उपकरणमा यूएसबी-सी पोर्ट उपलब्ध हुनपर्ने नीति लागू गर्दै भारत

काठमाडौं । छिमेकी राष्ट्र भारतले पनि सिंगल चार्ज नीति अर्थात् देशमा आउने सबै प्रकारका विद्युतीय उपकरणहरूमा एकै प्रकारको चार्जिङ प्रणाली हुनुपर्ने नीति ल्याउने तयारी गरिरहेको छ । भारतको स्थानीय सञ्चार माध्यमहरूमा अनुसार भारतले छिट्टै नै यो नीति लागू गर्ने तयारी गरिरहेको छ ।

यही जुन महिनामा युरोपेली संघ (ईयु) ले युरोपेली देशहरूमा बेचिने सबैप्रकार विद्युतीय उपकरणहरूमा युएसबी-सी पोर्ट उपलब्ध गराउनुपर्ने नीति ल्याएको थियो । यही कुरालाई पछ्याउँदै भारत सरकारले पनि देशभरि एकै प्रकारको चार्जर प्रयोगमा ल्याउने विकल्पहरू खोज्न सुरु गरेको छ । भारतीय सरकारले यस विषयमा नयाँ नीति ल्याउने सुरुवात नै गरिसकेको छ । 

यदि यसो भएमा भारतमा उत्पादन तथा आयात हुने सम्पूर्ण विद्युतीय उपकरणहरूमा एकैप्रकारको चार्जिङ पोर्ट उपलब्ध हुनुपर्नेछ । यसले ग्राहकलाई सहज हुने र वातावरणलाई पनि संरक्षण गर्ने भारतीय सरकारको भनाई छ ।  

संयुक्त राष्ट्रसंघले यो वर्ष चार्जर र चार्जिङ केबलबाट हुने फोहोरलगायत साना विद्युतीय उपकरणहरूबाट विश्वभर २२ करोड टनभन्दा बढी विद्युतीय फोहोर उत्पादन हुने अनुमान गरेको छ। यस्तो फोहोरबाट धेरै हानिकारक रसायनहरू निस्कन्छ, जुन मानव जीवनको लागि जोखिमपूर्ण हुने बताइएको छ । 

यो नीतिले अन्य ब्रान्ड भन्दा पनि एप्पललाई प्रभावित बनाएको छ । एप्पलका उत्पादनहरूमा लाइटेनिङ पोर्ट उपलब्ध छ जुन अन्य डिभाइसहरूका लागि उपयोगी हुँदैन । अन्तर्राष्ट्रिय बजारमा एप्पललाई यूएसबी-सी पोर्ट नै प्रयोग गर्नको लागि दबाब रहँदै आएको छ। 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ ९:४३