close

पब्जी विश्वकपमा आज समूह चरणको अन्तिम खेल खेल्दै नेपाली टिम 'स्काइलाइट गेमिङ'

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १३:२१

पब्जी विश्वकपमा आज समूह चरणको अन्तिम खेल खेल्दै नेपाली टिम 'स्काइलाइट गेमिङ'

काठमाडाैं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा आज ‘ग्रुप ग्रीन’ को अन्तिम दिनको खेल हुँदैछ । शनिबार भएको तेस्रो दिनको खेल सकिँदा नेपाली टोली स्काइलाइट गेमिङ अङ्क तालिकाको १०औँ स्थानमा रहेको छ । ​स्काइलाइट गेमिङले १८ खेलबाट ५७ एलिमिनेसन पोइन्टसहित कुल १२४ पोइन्ट बटुलेको छ । 

यो समूहको खेल सकिँदा शीर्ष तीनभित्र पर्न सफल हुने टिमले सिधै अन्तिम चरणका लागि छनोट हुनेछन् । चौंथोदेखि ११औं स्थानमा रहने टिमले अन्तिम चरणमा स्थान बनाउनको लागि डीआरएस गेमिङ सहितका अन्य टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अन्य बाँकी पाँच टिम भने प्रतियोगिताबाट नै बाहिरिनेछन् । 

आजको खेलपछि कुन टिमले अन्तिम चरणमा स्थान बनाउने, कसले सर्भाइबल स्टेजमा खेल्ने र कुन-कुन टिम प्रतियोगिताबाट बाहिरिने भन्ने कुराको टुङ्गो लाग्नेछ । यदि स्काइलाइट गेमिङको अन्तिम चरणमा स्थान बनाउने लक्ष्य हो भने आजको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम तीनमा स्थान बनाउनुपर्ने देखिन्छ ।

यसको लागि टिमले केही एलिमिनेशन पोइन्ट निकाल्दै चिकेन डिनर गर्नुपर्ने हुन्छ । अङ्क तालिकाको शीर्ष तीनभित्र पर्न नसकेको खण्डमा भने स्काइलाइट गेमिङको लक्ष्य अन्तिम चरणमा पुग्नको लागि पुन: अर्को अवसर सिर्जना गर्ने हुनुपर्छ । जसका लागि स्काइलाइट गेमिङले अङ्क तालिकाको अन्तिम ११ मा पर्ने सक्नुपर्छ ।  यो सबै कुराको लागि स्काइलाइट गेमिङले आज निकै राम्रो प्रदर्शन गर्नुपर्नेछ । 

नेपालबाट यो प्रतियोगितामा तीन टोली सहभागी छन् । यसमध्ये डीआरएस गेमिङको समूह चरणको खेल सम्पन्न भइसकेको छ । 'रेड ग्रुप'मा रहेको डीआरएस गेमिङले अङ्क तालिकाको छैटौँ स्थानमा रहँदै समूह चरणको खेलको अन्त्य गरेको हो । 

'यल्लाे टिम' मा रहेकाे अर्को नेपाली टिम ट्रेन टु किलकाे खेल नाेभेम्बर २४ देखि सुरू हुँदैछ । यसको लागि टोली शनिबार मलेसिया प्रस्थान गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १५:०