close

पब्जी विश्वकपमा नेपाली टिम ‘स्काइलाइट गेमिङ’ र ‘डीआरएस गेमिङ’ आमनेसामने हुँदै

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १६:११

पब्जी विश्वकपमा नेपाली टिम ‘स्काइलाइट गेमिङ’ र ‘डीआरएस गेमिङ’ आमनेसामने हुँदै

काठमाडौं । पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा दुई नेपाली टिम ‘स्काइलाइट गेमिङ’ र ‘डीआरएस गेमिङ’ भिड्ने पक्का भएको छ । आइतबार सम्पन्न भए‍को ‘ग्रुप ग्रीन’ को खेलमा स्काइलाइट गेमिङ अङ्क तालिकाको नवौँ स्थानमा रहेपछि स्काइलाइट र डीआरएस गेमिङ एक-अर्का विरुद्ध खेल्ने निश्चित भएको हो ।

स्काइलाइट गेमिङले २४ खेलमा ८१ एलिमिनेसन पोइन्टसहित कुल १७६ पोइन्ट ल्याएको छ । ग्रीन ग्रुपको अङ्क तालिकाको शीर्ष स्थानमा मङ्गोलियन पब्जी टिम ‘गडलाइक स्टलवार्ट’ रहेको छ । जुन टिम पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२२ को विजेता पनि हो । यो टिमले कुल २४ खेलमा तीन चिकेन डिनर र १०९ एलिमिनेशन पोइन्ट निकालेको छ ।

त्यस्तै दोस्रो स्थानमा ‘नोभा ई-स्पोर्ट्स’ र तेस्रो स्थानमा ‘फायर फ्लक्स  ई-स्पोर्ट्स’ रहेका छन् । यसपहिले ‘रेड ग्रुप’ मा रहेको नेपाली टिम डीआरएस गेमिङले पनि छैटौँ स्थानमा रहँदै समूह चरणको खेलको अन्त्य गरेको थियो ।

त्यसैले डीआरएस गेमिङ र स्काइलाइट गेमिङसहितका दुवै समूहका चौंथोदेखि ११औं स्थानमा रहने सबै टिमले अन्तिम चरणमा स्थान बनाउन पुनः एक-अर्कासँग भिड्नेछन्, जसलाई 'सर्भाइबल स्टेज' नाम दिइएको छ । यसमा अर्को नेपाली टिम ट्रेन टु किल रहेको ‘यल्लो ग्रुप’ बाट पनि आठ टिम आउनेछन् । सर्भाइबल स्टेजमा कुल २४ टिमले एकअर्का विरुद्ध खेल्नेछन् ।

सर्भाइबल स्टेजको खेल सकिँदा शीर्ष १६ भित्र रहने टिमले ‘लास्ट चान्स’ अन्तर्गत पुन एक-अर्कासँग खेल्ने छन्, जसबाट शीर्ष चार टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । यल्लो ग्रुपको खेल नोभेम्बर २४ देखि सुरु हुँदैछ । यसका लागि ट्रेन टु किल शनिबार नै मलेसिया प्रस्थान गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १६:११