close

ईपासपोर्ट सुरु भएको १ वर्ष पूरा, तपाईँले पाउनु भयो ?

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १७:५७

ईपासपोर्ट सुरु भएको १ वर्ष पूरा, तपाईँले पाउनु भयो ?

काठमाडौं । सरकारले विद्युतीय राहदानी अनिवार्य गरेको एक वर्ष पूरा भएको छ । नयाँ प्रणाली सुरु गरेको एक वर्ष पुग्दै गर्दा देश-विदेशमा रहेका नौ लाख भन्दा बढी नेपालीहरूले विद्युतीय राहदानी प्राप्त गरेका छन् ।

गत वर्षको मंसिर १ गतेबाट विद्युतीय राहदानीको औपचारिक रुपमा उत्पादन तथा वितरण सुरु भएको थियो । ​यसबीच राहदानी विभागले विद्युतीय राहदानी वितरणको दायरा देशका सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूमा विस्तार गरिसकेको जनाएको छ ।

यो एक वर्षमा राहदानी विभागबाट तीन लाख ३४ हजार पाँच सय र ८३ ओटा जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट चार लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ थान गरी जम्मा नौ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी जारी भएका छन् । 

सेवालाई सहज बनाउन विभागले अनलाइनबाट राजस्व तिर्न सकिने व्यवस्था मिलाएको छ भने अन्य विविध सेवाको लागि नेपाल ई-पासपोर्ट (Nepal ePassport) नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । 

यसबीच विभागले राहदानी छिटो बनाइदिने, अपोइन्टमेन्ट मिति अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई नेपाल प्रहरी र सेवाग्राही समेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाउन थालेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १७:५७