close

नेपाली टिम 'इलुमिनेट क्रु' लाई पब्जी प्रतियोगिताको उपाधि, पायो साढे १० लाख नगद

टेकपाना टेकपाना

मंसिर ७, २०७९ १७:१२

नेपाली टिम 'इलुमिनेट क्रु' लाई पब्जी प्रतियोगिताको उपाधि,  पायो साढे १० लाख नगद

काठमाडौं । पब्जी मोबाइल क्लब ओपन (पीएमसीओ) एसिया फल २०२२ को उपाधि नेपाली टिम  ‘इलुमिनेट क्रु’ले जितेको छ । यो भर्चुअल प्रतियोगितामा नेपालसँगै पाकिस्तान र बङ्गलादेशी टिमकाे सहभागिता रहेकाे थियो ।

यसमध्ये प्रतियोगिताको फाइनल चरणमा नेपालबाट इलुमिनेट क्रुसँगै ओमगन ई-स्पोर्ट्स, ग्रिम गेमिङ ई-स्पोर्टस, गोर्खाली वरियर्स, नेपाली लायन ई-स्पोर्टस, क्योडाइ र फ्याबुलस फोर ई-स्पोर्ट्सले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो दिनको फाइनल खेलमा राम्रो प्रदर्शन गर्न नसकेता पनि दोस्रो दिनमा इलुमिनेट क्रुले उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इलुमिनेट क्रु ले फाइनलका कुल १० खेलमा एक चिकेन डिनर र ५९ एलिमिनेसन पोइन्टसहित कुल १४० पोइन्ट ल्यायो ।

त्यस्तै  १३९ पोइन्ट ल्याएको बङ्गलादेशी टिम सीएमपी आइपीजी दोस्रो स्थानमा रह्यो । यसैगरी तेस्रो स्थानमा अर्को नेपाली टिम क्योडाइ रहेको छ । अन्य नेपाली टिमहरुको कुरा गर्ने हो भने फोर ई-स्पोर्ट्स चौंथो, गोर्खाली वारियर्स, नेपाली लायन ई-स्पोर्ट्स, ग्रिम गेमिङ ई-स्पोर्टस र ओमगन ई-स्पोर्ट्स क्रमशः चौंथाे, आठौँ, ११औँ, १३औँ र १५औँ स्थानमा रहेका थिए ।

यो प्रतियोगिताको कूल पुरस्कार राशि ५० हजार अमेरिकी डलर रहेको थियो । जसमध्ये विजेता टिम 'इलुमिनेट क्रु' ले आठ हजार अमेरिकी डलर (करिब साढे १० लाख रुपैयाँ) हात पारेको छ ।

यसैगरी दोस्रो हुने टिम सीएमपी आइपीजीले चार हजार अमेरिकी डलर (पाँच लाख रुपैयाँभन्दा बढी) र तेस्रो हुने नेपाली टिम क्योडाइले दुई हजार अमेरिकी डलर (साढे दुई लाख रुपैयाँभन्दा बढी) जितेका छन्।

साथै यो प्रतियोगितामा शीर्ष स्थानमा रहन सफल नेपाली टिम इलुमिनेट क्रु, क्योडाइ र फोर ई-स्पोर्ट्सले पब्जी मोबाइल नेसनल च्याम्पियनशिप नेपाल २०२२ का लागि आफ्नो स्थान पक्का गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ १७:२४