close

चार महिनामा नेपाल भित्रिए साढे तीन अर्ब बढी मूल्यका विद्युतीय सवारी

टेकपाना टेकपाना

मंसिर ७, २०७९ २१:८

चार महिनामा नेपाल भित्रिए साढे तीन अर्ब बढी मूल्यका विद्युतीय सवारी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिना साढे तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारी आयात भएका छन् । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालू आर्थिक वर्षको पहिलो चार महिनामा तीन अर्ब ६५ करोड ६४ लाख ३७ हजार रुपैयाँको सवारी साधन भित्र्याएको हो । 

यो अवधिमा विभिन्न देशबाट नौ हजार चार सय ४४ थान दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय सवारी भित्रिएका छन् । यो अवधिमा विद्युतीय सवारी आयातबाट एक अर्ब आठ करोड ११ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा भने दुई अर्ब २९ करोड ६५ लाख ५६ हजार रुपैँयाका तीन हजार ५९६ थान विद्युतीय सवारी साधन आयात भएका थिए । गत वर्षको तुलनामा यस वर्ष आयात हुने सवारी साधनको संख्या बढी देखिए पनि रकम भने त्यति धेरै छैन । यो वर्ष सरकारले महँगा विद्युतीय सवारीमा कर बढाएका कारण पनि रकममा त्यति धेरै अन्तर नदेखिएको हुनसक्ने ठानिएको छ । 

विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चार महिनामा ४० करोड ४२ लाख ७० हजार रुपैयाँ मूल्यका विद्युतीय मोटरसाइकल तथा स्कुटर भित्रिएका छन् । त्यसै गरी आठ करोड ७८ लाख ३७ हजार रुपैयाँका विद्युतीय साइकल र २९ करोड ८६ लाख ६५ हजार रुपैयाँका तीन पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका छन् । 

यस अवधिमा दुई अर्ब ८६ करोड ५६ लाख ६५ हजार रुपैयाँका चार पाङ्ग्रे सवारी साधन भित्रिएका छन् । जसमा ३०० किलो वाट भन्दा कम मूल्यका कार, जिप र भ्यान रहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ २१:८