close

आनन्द महर्जन, जसले डिजाइन गर्छन् हाम्रो पात्रोका चर्चित ई-कार्ड

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १९:२९

आनन्द महर्जन, जसले डिजाइन गर्छन् हाम्रो पात्रोका चर्चित ई-कार्ड

काठमाडौं । विभिन्न चाडपर्वमा तपाईँ हामीमध्ये धेरैले 'हाम्रो पात्रो'मा भएका पोस्टरहरू प्रयोग गरिरहेका हुन्छौँ । आकर्षक फन्ट तथा डिजाइनमा सजिएका ती पोस्टर आखिर कसले बनाउँछ होला ? तपाईँका लागि यो जिज्ञासाको विषय हुनसक्छ ।

नेपालकै सर्वाधिक डाउनलाेड भएकाे एपमा पर्ने हाम्राे पात्राेका मुख्य डिजाइनरकाे नाम हाे, आनन्द कुमार महर्जन । उनी विगत १५ वर्षदेखि ग्राफिक्स डिजाइनिङकाे क्षेत्रमा सक्रिय छन् ।

नेपालमा चर्चित मानिएका आनन्द अक्षर, आनन्द किनारा, आनन्द नमस्ते, आनन्द कल्पना जस्ता फन्ट उनले नै डिजाइन गरेका हुन् । "हाम्रो पात्रो लगायत हाम्रो पात्रोसँग सम्बन्धित विभिन्न सेवाका लागि आवश्यक डिजाइन कन्सेप्ट, यूआईएक्स र फाइनल आउटपुटसम्म मैले हेरिरहेको छु," टेकपानासँगकाे कुराकानीमा उनी भन्छन् ।

त्यसबाहेक पनि हाम्रो पात्रोको बजारीकरणका लागि आवश्यक विभिन्न डिजाइन बनाउने काम उनकै टिमले गर्छ । डिजाइन टिममा उनलाई अन्य चारजना सहकर्मीले साथ दिन्छन् ।  "हाम्रो पात्रोका ई-कार्ड्स, सामाजिक सञ्जाल पोस्टमा आएका फोटो, विभिन्न कार्यक्रमका लागि आवश्यक पोस्टर तथा डिजाइन हाम्रै डिजाइन टिमबाट हुन्छ," उनले भने ।

उनले हाम्रो पात्रोमा काम सुरू गरेकाे छ वर्ष पूरा भएकाे छ । त्यतिबेला उनी सिनियर ग्राफिक्स डिजाइनरका रूपमा हाम्रो पात्रोमा जाेडिएका थिए भने अहिले ग्राफिक्स डिजाइनिङको क्रियटिभ हेड भूमिकामा काम गरिरहेका छन् ।

डिजाइनरका रूपमा हाम्रो पात्रोमा जोडिनका लागि फिग्मा, एडोबीका सफ्टवेयर लगायतमा अब्बल हुनुपर्ने उनी बताउँछन् । सफ्टवेयरभन्दा पनि क्रियटिभ डिजाइनमा अब्बल हुने व्यक्ति हाम्रो पात्रोमा सजिलै जोडिनसक्ने उनले सुनाए ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १९:१४