close

भीपीएन कनेक्ट गर्दा प्रयोग गर्न नहुने ५ सर्भर लोकेसन, हुन सक्छ यस्तो जोखिम

टेकपाना टेकपाना

मंसिर ९, २०७९ ९:११

भीपीएन कनेक्ट गर्दा प्रयोग गर्न नहुने ५ सर्भर लोकेसन, हुन सक्छ यस्तो जोखिम

काठमाडौं । लामो समयदेखि निःशुल्क र खुला इन्टरनेट आधारभूत अधिकार हुनुपर्ने आवाज उठ्दै आएको छ । तर विश्वभर अहिलेसम्म यो कुरा सत्य सावित हुन नसक्नु दुर्भाग्यकै नै भन्नुपर्छ । विश्वभरका सरकारहरू सेन्सरशिप (निश्चित सामग्रीमाथि रोक लगाउने), थ्रोटलिङ (निश्चित सेवाको भित्रिने र बाहिरिने अन्तर्राष्ट्रिय ब्यान्डविथको गतिलाई नेटवर्क नोड अथवा नेटवर्क डिभाइसमा सीमित तुल्याउने कार्य), निगरानी गर्ने लगायतका इन्टरनेट स्वतन्त्रताको अवमूल्यन गर्ने गतिविधिमा संलग्न छन् । 

भीपीएनले यस्ता अवरोधहरूलाई बाइपास (छल्ने कार्य) गर्न सक्छ ।  तर भीपीएनका सबै सर्भर लोकेसनले समान किसिमको इन्टरनेट स्वतन्त्रता भने प्रदान गर्दैनन् । त्यस्तै केही देशमा उत्कृष्ट स्तरको इन्टरनेट पूर्वाधार हुन्छ र  डेटा संरक्षणमा समेत प्रतिष्ठित हुन्छन्, जब कि अन्य देशहरू प्रयोगकर्ताको गोपनीयताको मामिलामा असफल रहेका हुन्छन् । त्यसैले आज हामी तपाईँलाई भीपीएन प्रयोग गर्दा गोपनीयताका लागि अतिरिक्त स्तरको सावधानी अपनाउनु पर्ने देशहरूको बारेमा बताउँदै छौँ । 

भीपीएन कनेक्सनका लागि खराब ५ सर्भर लोकेसनः 

चाहे तपाईँ टोरेन्टिङ, गेमिङ, स्ट्रिमिङ, अथवा सामान्य ब्राउजिङका लागि नै किन नहोस्, तपाईँ कनेक्ट भएको देशले अनलाइन अनुभवमा उल्लेखनीय रूपमा असर पार्न सक्छ । खराब सर्भर लोकेसनमा कनेक्ट हुँदा तपाईँको गोपनीयतामा नजर अन्दाज हुन सक्छ, तपाईँको इन्टरनेट स्पिड थ्रोटल हुन सक्छ अथवा केही देशको त तपाईँलाई जेल सजायसम्म पनि हुन सक्छ ।  

१. उत्तर कोरिया

उत्तर कोरियाले त्यहाँको इन्टरनेट गतिविधि र भीपीएनको प्रयोगलाई कसरी नियमन गर्छ भन्ने कुरा एकदमै थोरै कुरा मात्र स्पष्ट छ । सरकारी अधिकारीहरू, अनुसन्धानकर्ताहरू र धनीमानी पढ्ने विश्वविद्यालयका विद्यार्थी सहितको केही सीमित जनसङ्ख्याले मात्रै विश्व इन्टरनेटमा पहुँच पाउन सक्छ । बाँकी नागरिकले केवल 'क्वाङ्गम्योङ्ग' नामक नियन्त्रित इन्टरनेट सेवा मात्रै प्रयोग गर्न सक्छन् । कोङ्गम्योङ्ग देशभीत्र मात्र सीमित प्रकारको इन्टरनेट सेवा भएकाले त्यसमा भीपीएनले काम गर्न सक्दैन । यतिसम्म कि यदि तपाईँले उत्तर कोरियाली सर्भरमा भीपीएन फेला पारिहाल्नु भयो भने पनि त्यसमा कनेक्ट भएर तपाईँलाई कुनै फाइदा लिन सक्नु हुन्न । अधिकांश सामाजिक सञ्जाल वेबसाइट र न्युज साइटहरूमाथि प्रतिबन्ध लगाइएको छ । यसको अर्थ यदि तपाईँले उत्तर कोरियाली आईपी एड्रेस प्रयोग गर्ने निर्णय लिनु भयो भने तपाईँले फेसबुक, युट्युब, ट्वीटर र अन्तर्राष्ट्रिय समाचार साइटहरू हेर्न पाउनु हुन्न । सरकारले संचालन गरेका अधिकांश वेबसाइटहरू एकदमै सुस्त किसिमले लोड हुने गर्दछन् र त्यस मध्ये केही मात्र नियमित रूपमा अपडेट हुन्छन् । त्यहाँका समाचार साइटहरूमा उत्तर कोरियाको निरंकुश साशन सत्ता र सर्वोच्च नेताको महिमागान गाउने किसिमका हुन्छन् । केही विशेष अधिकार प्राप्त व्यक्तिहरूलाई मात्र इन्टरनेट प्रयोग गर्ने अनुमति भएकाले व्यवहारिक रूपमा त्यहाँको इन्टरनेटको गुणस्तरको विषयमा जानकारी पाउनु असम्भव जस्तै छ । कम्प्यारिटेकका अनुसार अकामाईले जुन २०१६ मा विश्वव्यापी इन्टरनेट स्पिडको तुलना (जसमा उत्तर कोरिया समेत सामेल छ) गरेको थियो । जसमा औसत दुई एमबीपीएस स्पिडका साथ उत्तर कोरिया इन्टरनेट स्पिडमा १७० देश मध्ये १३४ औँ स्थानमा रहेको थियो । त्यसैले उत्तर कोरियाको डिजिटल पूर्वाधार स्मुथ भीपीएन कनेक्सनका लागि सुहाउँदो छैन । 

२. चीनः 

चीन इन्टरनेट सामग्रीहरूमाथि विशेष सेन्सरशिप लगाउने विश्वकै सबैभन्दा ठूलो सरकार हो । ग्रेट फायरवालको रुपमा चिनिने यो सेन्सशिप सिस्टम सन् १९९० को दशकको अन्तिमतिरदेखि अस्तित्वमा छ । जसले त्यहाँको सरकारले असहमत रहेका कुनै पनि सामग्रीलाई इन्टरनेटमा ब्लक गर्दछ । सन् २०१८ मा त्यहाँको सरकारले अनुमतिपत्र नलिएका भीपीएनमाथि प्रतिबन्ध लगाउँदै आफ्नो सेन्सरशिपलाई थप मजबुत बनाएको थियो । यसको अर्थ चीनमा केबल त्यस्ता भीपीएन सेवाहरू मात्र सञ्चालन हुन सक्छन्, जसले त्यहाँको सरकारबाट  लाइसेन्स लिएका छन् । यो प्रावधानले भीपीएन प्रयोगकर्ताको वेब गतिविधिहरू लुकेर नियाल्न सरकारलाई पछाडिको ढोका उपलब्ध गरायो, जसले वास्तवमा भीपीएनको प्रयोजनलाई नै पराजित गरिदियो । भीपीएन प्रतिबन्ध गर्नु बाहेक भीपीएन प्रयोग गरेकै कारण कुनै पर्यटकहरूलाई जरिवाना गरेको वा जेल सजायमा राखेको कुनै उदाहरण भने छैन । त्यसैले चीनमा भीपीएन पाउन जति कठिन छ, यदि त्यहाँ पुग्नु अघि नै तपाईँले भीपीएन डाउनलोड गर्नु भएको छ भने कतिपय प्रतिबन्धबाट बच्न सक्नु हुन्छ । तर दिमागमा के कुरा राख्नुहोस् भने, तपाईँले फेसबुक र युट्युब जस्ता अधिकांश सामाजिक सञ्जाल, न्युयोर्क टाइम्स जस्ता न्युज वेबसाइटमा पहुँच बनाउन भने सक्नुहुन्न । 

३. रुसः 

जब जब साइबर सुरक्षाको कुरा आउँछ, सुरु जहिले पनि समाचारमा छाइरहेको हुन्छ र त्यसमा प्राय गलत कारण नै हुन्छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनाव ह्याक गरेको सन्देहास्पद विषय, सन् २०२१ को कुख्यात कोलोनियल पाइपलाइन आक्रमण र पछिल्ला थुप्रै साइबर आक्रमणका घटनाहरूमा रुस अथवा रुस समर्थित समूहहरूको नाम जोडिने गरेको छ । आफ्नो सीमानाभित्र हुने इन्टरनेट प्रयोग माथि रुस सरकारको कडा निगरानी हुने गरेको कुरा नौलो होइन । यति मात्र होइन, त्यसको असर भयानक समेत हुन सक्छ । सन् २०१७ देखि त्यहाँको सरकारले अनुमति नलिएका भीपीएनमाथि प्रतिबन्ध लगाएको छ । रुसमा सञ्चालन हुने भीपीएन सेवाप्रदायकले केही निश्चित सर्तहरूमा सहमत हुनु पर्छ । जसमा सम्बन्धित कम्पनीले प्रयोगकर्ताको लग डेटा समेत राख्नु पर्ने विषय समेत छ । त्यसैले प्रयोगकर्ताको गोपनीयता संरक्षण गर्न एक्सप्रेस भीपीएन, नोर्ड भीपीएन र आईपीभ्यानिस जस्ता अधिकांश विश्वसनीय भीपीएनको सर्भर रुसमा छैन । यसका साथै रुस सरकारको एउटा इन्टरनेट 'ब्ल्याक लिस्ट' समेत छ, जुन निश्चित वेबसाइट ब्लक गर्न प्रयोग गरिन्छ ।

४. इरानः 

उत्तर कोरिया र रुस विपरित इरानको भीपीएन सम्बन्धी कानून निकै खुकुलो थियो । तर माशा आमिनिको मृत्युपछि १६ सेप्टेम्बर २०२२ यता चर्केको विरोध प्रदर्शन पश्चात इरान सरकारले भीपीएनको प्रयोग बन्द गर्ने कदम चालेको छ । यो देशले थुप्रै सामाजिक सञ्जाल एपमाथि प्रतिबन्ध लगाउनुका साथै निश्चित भुभागमा इन्टरनेटको लाइन नै काट्ने सम्मका काम गरेको छ । विरोध प्रदर्शन बढ्दै गएपछि इरानले ह्वाट्सएप र इन्स्टाग्राम जस्ता एपहरूमाथि प्रतिबन्ध लगायो । त्यसपछि प्रयोगकर्ताहरू सरकारी प्रतिबन्धबाट जोगिन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्न थाले । टपटेनभीपीएनको रिपोर्ट अनुसार विरोध प्रदर्शन भएयता इरानमा भीपीएनको माग तीन हजार प्रतिशतले वृद्धि भएको छ । भीपीएनमाथिको पहुँच कठिन बनाएपछि इरानले एप्पल एप र गुगल प्ले स्टोर एपमाथि समेत प्रतिबध्न लगायो । अब उक्त देशले भीपीएनको बिक्री र प्रयोगलाई अपराध करार गर्दै दण्डनीय बनाउने योजना बनाइरहेको छ । विस्तारित सेन्सरशिप र पहुँच योग्य भीपीएन सर्भरको अभावका कारण इरानी आईपी एड्रेस लिनुको कुनै उपादेयता छैन । 

५. सिरियाः 

सिरियाली गृहयुद्ध पश्चात अनलाइन सेवा र वेबसाइटमाथिको पहुँच आक्रमणमा परेको छ । त्यहाँ सरकारको आलोचना गर्ने सामग्री उत्पादन गर्न तथा त्यस्तो सामग्रीमा पहुँच बनाउन कसैलाई पनि अनुमति छैन । ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन मार्फत फोन कल गर्न सकिने भीओआईपी प्रविधिमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । यति मात्र नभएर इन्टरनेट क्याफेहरूलाई प्रयोगकर्ताको ब्राउजिङ व्यवहारलाई अनुगमन गर्न भनिएको छ । सिरियाली अधिकारीहरूले बेलाबेलामा इन्टरनेट सवा बन्द गर्ने कार्य समेत गरिरहेका हुन्छन् । तर निष्पक्ष रुपमा कुरा गर्ने हो भने इन्टरनेट अवरुद्ध हुनुमा इन्टरनेट पूर्वाधारमाथिको भौतिक आक्रमण समेत जिम्मेवार छ । 

कनेक्ट गर्ने स्वतन्त्रता स्वतन्त्र र खुला इन्टरनेट बिनाको विश्वमा कोही पनि बस्न चाहँदैन । अझै पनि यी पाँच देशमा इन्टरनेटको पहुँचमाथि कडा रुपमा नियन्त्रण तथा निगरानी गर्ने गरिन्छ । जब कि भीपीएनले तपाईँ हाम्रो अनलाइन स्वतन्त्रतालाई संरक्षण गर्ने काम गर्छ । तर यी देशका निरंकुश सरकारहरूले भीपीएनमाथि प्रतिबन्ध लगाउन वा भीपीएन प्रयोग गरी हुने गतिविधि निगरानी गर्ने कानूनहरू बनाएका छन् । यदि तपाईँ आफ्नो गोपनीयताको विषयलाई लिएर चिन्तित हुनुहुन्छ र स्पिडमा कुनै सम्झौता नगरी वेबसाइटमाथि पहुँच बनउन चाहनुहुन्छ भने तपाईँले भीपीएन कनेक्सनका लागि उत्कृष्ट देशहरूको बारेमा थाहा पाउन जरुरी छ । 

 

 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ ९:११