close

पब्जी विश्वकपमा नेपाली टिम ‘ट्रेन टु किल’ को उत्कृष्ट सुरुवात

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १६:२६

पब्जी विश्वकपमा नेपाली टिम ‘ट्रेन टु किल’ को उत्कृष्ट सुरुवात

काठमाडाैं । मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा नेपाली टिम ‘ट्रेन टु किल’ले उत्कृष्ट सुरुवात गरेको छ । बिहीबार भएको खेलमा ‘ग्रुप यल्लो’मा रहेको ‘ट्रेन टु किल’ ले अङ्क तालिकाको तेस्रो स्थानमा रहँदै राम्रो सुरुवात गरेको हो ।

‘ट्रेन टु किल’ ले छ खेलबाट २३ एलिमिनेसन पोइन्टसहित कुल ६५ पोइन्ट बटुलेको छ । यो समूहको अङ्क तालिकाको शीर्ष स्थानमा मलेसियाको पब्जी टिम ‘गिक फाम’ रहेको  छ । यो टिमले छ खेलबाट ५१ एलिमिनेसन र १ चिकेन डिनरसहित कुल ९२ पोइन्ट बटुलेको छ ।

त्यस्तै २९ एलिमिनेसन र २ चिकेन डिनरसहित दोस्रो स्थानमा यूएईको पब्जी टिम ‘गिकि ई-स्पोर्ट्स’ रहेको छ । यो समूहको बाँकी १८ खेल सकिँदा शीर्ष तीनभित्र पर्न सफल हुने टिमले सिधै अन्तिम चरणका लागि छनोट हुनेछन् ।

चौंथोदेखि ११औं स्थानमा रहने टिमले अन्तिम चरणमा स्थान बनाउनको लागि पुनः अर्को अवसर पाउनेछन् । जसलाई सर्भाइबल स्टेज नाम दिइएको छ । यसमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । सर्भाइबल स्टेजको खेल ३० नोभेम्बरदेखि दुई डिसेम्बरसम्म चल्नेछ । जसमा समूह चरणमा राम्रो प्रदर्शन गर्न नसकेका नेपाली टिम डीआरएस गेमिङ र स्काइलाइट गेमिङसँगै अन्य १४ टोलीको टुङ्गो लागिसकेको छ ।

बाँकी आठ टोलीको टुङ्गो भने ‘यल्लो ग्रुप’ को खेल सम्पन्न भएपछि लाग्नेछ । समूह चरणको खेल सकिँदा अङ्क तालिकाको पुछारमा रहेका पाँच टिम भने प्रतियोगिताबाट नै बाहिरिने छन् । सर्भाइबल स्टेजको अङ्क तालिकामा १६ औँ स्थान सम्म रहने टिमले अर्को स्टेजमा खेल्न पाउने छन्, जसलाई लास्ट चान्स नाम दिइएको छ ।

लास्ट चान्समा १६ टिमले खेल्नेछन् । जसमध्ये यो स्टेजको खेल सकिँदा शीर्ष चारभित्र रहने टिमले अन्तिम चरण अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान पक्का गर्नेछन् । लास्ट चान्सको खेल डिसेम्बर तीन र चारमा हुनेछ । जसमा कुल १२ गेम खेलाइने छ । यो प्रतियोगिताको फाइनल भने २०२३ को जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जकार्तामा हुनेछ । 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १६:२६