close

कम्पनीलाई गोल्डेन चेकमार्क दिने मस्कको घोषणा, कसले कस्तो टिक पाउँछन् ?

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १८:१७

कम्पनीलाई गोल्डेन चेकमार्क दिने मस्कको घोषणा, कसले कस्तो टिक पाउँछन् ?

काठमाडौं । ट्वीटरमा आधिकारिक अकाउन्टले फरक-फरक रङ्गको टिक मार्क पाउने भएका छन् । हाल सबै आधिकारिक ट्वीटर प्रयोगकरर्ताका लागि निलो टिकमार्क उपलब्ध गराएको कम्पनीले आगामी हप्ताबाट फरक खालका टिकमार्क उपलब्ध गराउने भएको हाे ।

ट्वीटरले ब्लु टिक भेरिफिकेसनलाई समय समयमा परिवर्तन गरेर परीक्षण गरिरहेको छ । सशुल्क खरिद गर्न सकिने ब्लु टिक सब्स्क्रिप्सन मोडेलले अनपेक्षित क्षति गरेपछि कम्पनीले उक्त सेवा तत्कालै बन्द गरेको थियो ।

ट्वीटरले आधिकारिक कम्पनीको अकाउन्टलाई अफिसियल ट्यागसहित खैरो टिकमार्क दिएको भएपनि उक्त योजना त्यति सफल नभएको मस्कको पछिल्ला कदमले पुष्टि गर्छ । उक्त समस्यालाई समाधान गर्न मस्कले विभिन्न कम्पनी र व्यक्तिलाई फरक-फरक रङका टिक उपलब्ध गराउने बताएका छन् ।

मस्कका अनुसार कम्पनीले गोल्ड टिकमार्क मार्क पाउनेछन्, सरकारी कार्यालयले ग्रे (खैरो) र व्यक्तिले ब्लु चेकमार्क पाउनेछन् । उनले पहिले पनि विभिन्न कम्पनीले फरक रङ्गको टिकमार्क पाउने बताए पनि कस्तो रङ्गको पाउँछन् भन्ने कुरा खुलाएका थिएनन् ।

यस्तो टिकमार्क ८ डलर तिरेर ट्वीटर ब्लु खरिद गरेकाले पनि पाउँछन् वा पाउँदैनन् भन्ने कुरा प्रष्ट छैन । मस्कले यसअघि सार्वजनिक गरेको ट्वीटर ब्लु दुरुपयोग भएपछि ४८ घण्टामा नै सेवा बन्द गर्नुपरेको थियो ।

मस्कले परिमार्जित ट्वीटर भेरिफिकेसन सेवा २९ नोभेम्बरमा सार्वजनिक गर्ने बताएका थिए । तर, उनले पछिल्लो समय गरेको ट्वीटले नयाँ भेरिफिकेसन सेवा डिसेम्बर २ मा सार्वजनिक हुने देखाएको छ ।

त्यस्तै यसअघि ट्वीटरले सबै ब्लु टिक भएका प्रयोगकर्ताबाट 'ब्लु टिकमार्क' को रङ्ग परिवर्तन गरी सेतो राखेको थियो । सेतो टिक ल्याएको केही दिनमा नै ब्लु टिक पुनः फिर्ता आएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १८:१७