close

मोबाइल एप बनाउने निःशुल्क तालिम सञ्चालन गर्दै टेकपाना, कसरी हुने सहभागी ?

टेकपाना टेकपाना

मंसिर ९, २०७९ २२:४६

मोबाइल एप बनाउने निःशुल्क तालिम सञ्चालन गर्दै टेकपाना, कसरी हुने सहभागी ?

काठमाडौं ।  टेकपाना मिडियाले मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क तालिम आयोजना गर्ने भएको छ । सफ्टवेयर तथा मोबाइल एप डेभलपमेन्ट कम्पनी क्लिफबाइटसँगको सहकार्यका टेकपानाले युट्युबमार्फत मोबाइल एप बनाउने आधारभूत तालिम दिने भएको हो । 

भोलि शनिबारदेखि सुरु हुने यो तालिम ११ ओटा एपिसोडमा आउनेछ । तालिम कार्यक्रम लगातार दश सातासम्म सञ्चालन हुनेछ । बिहीबार र शनिबार बिहान ११ बजे  टेकपानाको युट्युब च्यानलमा अपलोड हुने यो तालिम कार्यक्रममा निःशुल्क रूपमा सहभागी हुन सकिनेछ ।

यदि तपाईँ पनि यो तालिममा भाग लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी टेकपानाको युट्युब च्यानल सब्सक्राइब गरी नोटिफिकेसन बटन अन गर्नु होस् । तालिमका क्रममा मोबाइल एप डेभलपमेन्टको परिचय, मोबाइल एप डेभलपमेन्टको इतिहास, त्यसमा प्रयोग हुने डार्ट र फ्लटर अवधारणाबारे जानकारी दिइनेछ ।

यसैगरी डार्ट ल्याङ्ग्वेजका बारेमा जानकारी, डार्टलाई अनलाइन तथा अफलाइनमा प्रयोग गर्ने तरिका, डार्टको आधारभूत, डार्ट इन्स्टल गर्ने तरिका बारेमा पनि सहभागीले ज्ञान पाउने छन् । 

यति मात्र नभएर फ्लटर फ्रेमवर्कबारेको जानकारी, फ्लटर एप चलाउने तरिका, विजेट्सको बारेमा जानकारी, मल्टिपल स्क्रिन बनाउने तरिका, एपमा विभिन्न फोटो, फन्ट तथा अन्य सामग्री राख्ने तरिका, विभिन्न क्षेत्रका लागि आवश्यक एप बनाउने तरिका  जस्ता विषय समेत तालिम कार्यक्रममा समेटिनेछन् । 

यो तालिममा क्लिफबाइट टेक्नोलोजीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) सरोज दाहाल प्रशिक्षकको रुपमा रहने छन् । प्रोग्रामिङबारे आधारभूत ज्ञान भएका मानिसहरूले यो तालिम लिएर एप बनाउन सक्ने दाहालको विश्वास छ । उनी भन्छन्, "आफूले जानेका कुरा अरूलाई सिकाउन पाउँदा रमाइलो लाग्छ । यसअघि हामीले वेबसाइट निर्माण गर्ने रियाक्ट र नोड जेएस कोर्षको एक-एक महिने निःशुल्क तालिम आयोजना गरेका‍ थियौँ ।” 

यो तालिम कार्यक्रमपछि विभिन्न आईटी क्षेत्रमा इन्टर्नशिप गर्न सकिने दाहालले बताए । आगामी दिनमा पनि सफ्टवेयर तथा एपसँग सम्बन्धित विभिन्न विषयमा तालिम आयोजना गर्ने उनको योजना छ । 

तालिममा एपको परिचय, एप विकास गर्ने तरिका र त्यसलाई विभिन्न प्लेटफर्ममा अपलोड गर्ने सम्पूर्ण प्रक्रियाबारे जानकारी दिइने छ । त्यसैले प्रभावकारी तालिमका लागि हरेक एपिसोड श्रृङ्खलाबद्ध तरिकाले हेरेर अभ्यास गर्न दाहालले सुझाव दिए ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ २२:५५