close

अमेरिकी दुतावासले हटाउने भयो हिम चितुवाको भाइरल 'फेक' फोटोको पोस्ट

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १४:७

अमेरिकी दुतावासले हटाउने भयो हिम चितुवाको भाइरल 'फेक' फोटोको पोस्ट

काठमाडौं । केही समयअघि आफूलाई फोटोग्राफर दाबी गर्ने कितिया पावलोभ्सकी नाम गरेकी युवतीले खिचेको भनिएको हिम चितुवाको फोटो सम्बन्धी पोस्ट अमेरिकी दुतावासले आफ्नो फेसबुक पेजबाट हटाउने भएको छ । नेपालस्थित अमेरिकी दुतावासले सामाजिक सञ्जाल फेसबुकमा उक्त फोटोसहितको पोस्ट राखेपछि राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चित बनेको थियो ।

शनिबार फ्रान्सको अल्पाइन इन्टरनेसनल म्यागजिनले कितियाले सगरमाथामा खिचेको भनेर दाबी गरेको तस्वीर फोटोशप गरिएको पुष्टी गरेको गरेको थियो । उक्त म्यागेजिनले यसका लागि विभिन्न क्षेत्रका विज्ञहरूको समेत सहयोग लिएको थियो । हिमाल र आरोहीहरूको बारेमा समाचार सामग्री प्रकाशित गर्ने उक्त म्यागेजिनले ‘कितिया वास्तविक फोटोग्राफर नभएको, तर उनको फोटोशप गर्ने सीप भने उत्कृष्ट रहेको’ उल्लेख गरेको थियो । त्यसपछि उक्त फोटोले नेपालमा पुनः चर्चा पाएको छ ।

अल्पाइन इन्टरनेसनलले समाचार प्रकाशित गरेपछि पावलोभ्सकी सामाजिक सञ्जालबाट गायब छिन् । उनको वेबसाइटमा भने उनले राखेका पोस्ट यथावत् छन् ।  

सामाजिक सञ्जालमा पावलोभ्सकीको फोटो भाइरल बनेपछि नेपालस्थित अमेरिकी दुतावास पनि चर्चामा आएको छ । वास्तवमा पावलोभ्सकीले उक्त तस्वीर सगरमाथा क्षेत्रमा खिचेको भन्दै दुतावासले सामाजिक सञ्जालमा राखेपछि नै त्यसलाई धेरैले आधार मानेका थिए ।

तर उक्त तस्वीर फेक भएको समाचारहरू प्रकाशित हुन थालेछि अमेरिकी दुतावासले आइतबार सामाजिक सञ्जालमा नयाँ पोस्ट राखेको छ । "हाम्रो जानकारी अनुसार कथित नेसनल जिओग्राफिक्स तथा एनिमल प्लानेटमा आवद्ध भएको भनिएकी फोटोग्राफरले यसबारे हालसम्म कुनै विज्ञप्ति दिएकी छैनन्," उक्त पोस्टमा लेखिएको छ, "फ्याक्ट चेकको समाचार प्रकाशित भएपछि उनले आफ्नो सामाजिक सञ्जालका अकाउन्ट डिलिट गरेपनि वेबसाइट भने लाइभ नै छ । जहाँ उनले पाएका भनिएका पुरस्कार र आवद्ध संस्था उल्लेख गरिएको छ ।"

त्यस्तै उक्त फोटोबारे स्टोरी कभर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त स्टोरी फिर्ता नलिएको वा अपडेट नगरेको दुतावासले जनाएको छ । यसअघि दुतावासको आधिकारिक फेसबुक पेजबाट शेयर भएका फोटो हटाउने भन्दै दुतावासले ती कलाकारसँग आफ्नो कुनै साझेदारी नरहेको स्पष्टीकरण दिएको छ । 

अहिले सामाजिक सञ्जालमा उक्त फोटो र पावलोभ्सकीलाई लिएर अनेक ट्रोल बनिरहेका छन् ।

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १४:७