close

एन्ड्रोइड र आईओएस फोन अनलक गरी डेटा निकाल्ने सिस्टम राख्दै नेपाल प्रहरी

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १६:१३

एन्ड्रोइड र आईओएस फोन अनलक गरी डेटा निकाल्ने सिस्टम राख्दै नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले आईओएस (आईफोन) र एन्ड्रोइड फोन अनलक गरी त्यसबाट डेटा निकाल्न सकिने सिस्टमका लागि टेन्डर आह्वान गरेको छ । प्रहरीले केही साता अघि एक सूचना प्रकाशित गर्दै यस्तो सिस्टम राख्ने प्रक्रिया अगाडि बढाएको हो । 

 कात्तिक २२ मा प्रकाशित टेन्डर सूचनामा अन्तर्राष्ट्रिय स्तरका योग्य बोलपत्रदाताबाटबाट प्रतिस्पर्धाका लागि प्रस्ताव आह्वान गरिएको छ । सूचना अनुसार प्याकेज एक अन्तर्गत 'एड्भान्स आईओएस एन्ड एन्ड्रोइड अनलकिङ एन्ड एक्स्ट्र्याक्सन टुल एन्ड रिलेटेड हार्डवेयर'का लागि सम्झौता गरिनेछ । 

आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका मोबाइल फोनबाट प्रमाण संकलन गर्ने उद्देश्यका साथ यस्तो सिस्टम राख्न लागिएको हो । नेपाल प्रहरकी डिजिटल फरेन्सिक ल्याब अन्तर्गत यो सिस्टम प्रयोगमा आउनेछ । 

यसका लागि बिड सेक्युरिटी रकम १३ लाख ५५ हजार ९०० रुपैयाँ बुझाउनु पर्नेछ । यसको अर्थ यो परियोजनाका लागि करिब साढे पाँच करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै दोस्रो प्याकेजमा 'ट्रिपल क्वाड्रुपल ग्यास क्रोम्याटोग्राफ मास स्पेक्ट्रोमिटर सिस्टम' (जीसीएमएस-एमएस) रहेको छ । बोलपत्र दाताले ८ पुसभित्र प्रस्ताव पेश गरिसक्नु पर्नेछ । बोलपत्रदाता सम्बन्धित मोबाइल अपरेटिङ सिस्टमबाट अधिकार प्राप्त हुनुपर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १६:१३