close

नेपाली टिम ‘ट्रेन टु किल’ लाई सहजै पब्जी विश्वकप फाइनलमा पुग्ने मौका

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १६:३८

नेपाली टिम ‘ट्रेन टु किल’ लाई सहजै पब्जी विश्वकप फाइनलमा पुग्ने मौका

काठमाडाैं । मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा नेपाली टिम ‘ट्रेन टु किल’ले आज समूह चरणको अन्तिम छ ओटा खेल खेल्दैछ ।  बिहीबारदेखि सुरु भएको समूह चरणको खेलमा ‘ट्रेन टु किल’ अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ ।

सुरुवात राम्रो भए पनि ‘ट्रेन टु किल’ले आफ्नो लय जोगाउन नसक्दा आठौँ स्थानमा सीमित हुन पुगेको हो । यो समूहको शीर्ष स्थानमा मलेसियाको पब्जी टिम ‘गिक फाम’ रहेको  छ । यो टिमले १८ खेलबाट १०६  एलिमिनेसन र दुई चिकेन डिनरसहित कूल २०५ पोइन्ट बटुलेको छ ।

त्यस्तै ९२ एलिमिनेसन र तीन चिकेन डिनरसहित दोस्रो स्थानमा चीनको पब्जी टिम ‘फो एङ्ग्री म्यान’ रहेको छ । तेस्रो स्थानमा रहेको जापानिज पब्जी टिम ‘रिजेक्ट’ को नेपाली टिम  ‘ट्रेन टु किल’ को भन्दा १६ पोइन्ट बढी छ ।

‘ट्रेन टु किल’ ले १८ खेलबाट ६९ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनर सहित कूल १५० पोइन्ट बटुलेको छ । आजको खेलमा राम्रो प्रदर्शन गरेको खण्डमा १६ पोइन्ट खासै ठूलो अन्तर होइन ।

त्यसैले आज ‘ट्रेन टु किल’ लाई १६ पोइन्टको अन्तरलाई उछिन्दै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको अन्तिम चरण अर्थात सोझै फाइनलमा पुग्ने अवसर छ । त्यसो हुन नसकेमा वा ‘ट्रेन टु किल’ शीर्ष तीन भित्र पर्न नसकेको खण्डमा सर्भाइबल चरणमा अन्य नेपाली टिम डीआरएस गेमिङ र स्काइलाइट गेमिङ लगायतका २१ टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

स​र्भाइबल चरणमा खेल्नका लागि पनि ‘ट्रेन टु किल’ले अङ्क तालिकामा शीर्ष ११ भित्र स्थान बनाउनु पर्ने हुन्छ । त्यसैले आजको गेम नेपाली टिम ‘ट्रेन टु किल’ लाई चुनौती सँगै अवसर पनि हुनेछ ।​

सर्भाइबल स्टेजको खेल ३० नोभेम्बरदेखि दुई डिसेम्बरसम्म चल्नेछ । साथै प्रतियोगिताको फाइनल २०२३ को जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जाकार्तामा हुनेछ । 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १९:१५