close

विश्वकप फुटबल चलिरहँदा टेलिभिजनको स्क्रिनमा छिनछिनमा किन आउँछन् अनेक नम्बर ?

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १९:१५

विश्वकप फुटबल चलिरहँदा टेलिभिजनको स्क्रिनमा छिनछिनमा किन आउँछन् अनेक नम्बर ?

काठमाडौं । अहिले फिफा विश्वकप फुटबल चलिरहेको छ । विश्वकप फुटबलका खेलहरू टेलिभिजनमा हेरिरहँदा बेलाबेलामा स्क्रिनमा विभिन्न नम्बर र अक्षर आइरहेको तपाईँले पक्कै पनि ख्याल गर्नु भएकै होला । 

झट्ट हेर्दा कुनै कोड जस्तो देखिने ती नम्बर हरेक समयमा फरक फरक स्वरूपमा स्क्रिनको फरक भागमा आइरहेका हुन्छन् । आखिर किन त्यसरी टेलिभिजन स्क्रिनको कुनै पनि भागमा एक्कासी त्यस्तो नम्बरहरू आउँछन् होला ? 

वास्तवमा यसरी देखिने नम्बर ट्र्याकिङ गर्न सजिलो होस् भनेर राख्ने गरिन्छ । हरेक सेटटप बक्सका लागि यस्ता फरक फरक नम्बर छुट्याइएको हुन्छ । त्यसै अनुसार एउटै समयमा हरेक टिभी स्क्रिनमा फरक फरक नम्बर देखिन्छन् । तपाईँले हेरिरहेको टिभी स्क्रिनमा देखिएको नम्बर तपाईँका लागि मात्र तयार पारिएको हुन्छ ।

हुन त इन्टरनेटभन्दा धेरै पहिलेदेखि हामीले टेलिभिजन हेर्दै आएका छौँ । तर, जब इन्टरनेट आयो, त्यसपछि मानिसहरूले पाइरेसी अर्थात भिडिओ सामग्री चोरी गर्न थाले । सामान्यतया टेलिभिजनमा देखाइने सबै च्यानल तथा कार्यक्रमका लागि प्रयोगकर्ताले पैसा तिर्ने गरेका हुन्छन् ।

त्यो पैसा केबल सेवाप्रदायक मार्फत टेलिभिजन च्यानल अर्थात प्रसारक मार्फत फिल्म, सिरियल वा खेलकुदका सामग्री उत्पादक समक्ष पुगिरहेको हुन्छ । यसको अर्थ टेलिभिजन कन्टेन्ट त्यसको मूल्यसँग जोडिएको हुन्छ ।

तर, इन्टरनेटमा भने त्यसो हुँदैन । तपाईं हामीले इन्टरनेट सेवाका लागि तिर्ने शुल्कमा इन्टरनेट कन्टेन्टको मूल्य समावेश हुँदैन । यदि पैसा तिरेर हेर्नुपर्ने सामग्री छ भने त्यस्ता सेवाप्रदायकलाई हामीले छुट्टै शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटीलाई त्यसको उदाहरणको रुपमा लिन सकिन्छ । तर तपाईँ हामीले फेसबुक, युट्युब जस्ता माध्यम प्रयोग गरे बापत भने ती कम्पनीलाई पैसा तिर्नुपर्दैन । ती माध्यमको आम्दानीको मुख्य स्रोत तपाईँ हामीलाई देखाइने विज्ञापन सामग्री हुन्छ ।

यस्तोमा टेलिभिजन कन्टेन्ट पाइरेसी गरेर इन्टरनेटमा राख्ने प्रवृत्ति बढ्यो । आफ्नो वेबसाइटमा टेलिभिजन कन्टेन्ट प्रसारण गरेर आम्दानी गर्न खोज्नेहरू धेरै हुन्छन् । जुन टेलिभिजन कन्टेन्ट उत्पादन तथा बिक्री गर्नेलाई घाटाको विषय हो ।

यसरी इन्टरनेटमा हुने पाइरेसीलाई रोक्न टेलिभिजन च्यानलको स्क्रिनमा छिन छिनमा नम्बर देखाउन थालियो । यस्तोमा जब कुनै टेलिभिजन सामग्रीलाई कसैले इन्टरनेटमा लाइभ स्ट्रिमिङ गर्छ भने त्यसबेला उसलाई सो नम्बर कतिबेला स्क्रिनमा देखिन्छ भन्ने कुराको जानकारी हुँदैन ।

टेलिभिजन प्रसारक वा सामग्री उत्पादकले त्यही नम्बरको आधारमा कुन प्रयोगकर्ताले कुन कम्पनीको केबल वा डिश लगाएको छ र कहाँबाट त्यसरी पाइरेसी गरिरहेको छ भन्ने कुरा तत्काल पत्ता लगाउन सक्छन् ।

यस्तोमा पाइरेसीमा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकिने भयो । यसले लाइभ स्ट्रिमिङको समयमा हुने पाइरेसी घटाएको छ र कानूनी तवरबाट मात्र त्यस्ता सामग्री हेर्ने प्रचलन बढाएको छ । 

टेलिभिजन प्रसारकले उक्त नम्बरबाट तपाईँलाई कसरी ट्रयाक गर्छन् होला?

तपाईँले हेरिरहेको टिभीमा प्रयोग भएको सेटटप बक्स टेलिभिजन वितरक कहाँ दर्ता भएको हुन्छ । यसको अर्थ टेलिभिजन वितरकले सेटटप बक्स वितरण गर्दा सेवाग्राहीको नाम, ठेगाना, उनीहरू रहेको स्थान जस्ता विवरण राखेका हुन्छन् ।

टिभीमा कुनै पनि सामग्री प्रसारण हुँदा हरेक सेटअप बक्सका लागि फरक फरक नम्बर उपलब्ध गराइएको हुन्छ । यस्तो अवस्थामा तपाईँले टिभीमा देखिएको कार्यक्रम इन्टरनेट लाइभ गर्दा स्क्रिनमा भएको नम्बर उक्त लाइभ भिडिओमा प्रस्ट देखिन्छ ।

टेलिभिजन वितरकले सो नम्बर कुन सेटटप बक्सका लागि उपलब्ध गराइएको थियो भन्ने कुरा तत्कालै परीक्षण गर्छन् । र, सो सेटअप बक्स जसको नाममा दर्ता छ उसले पाइरेसी गरेको ठहर हुन्छ । त्यसपछि सोही आधारमा लाइभ गर्ने व्यक्ति विरुद्ध मुद्दा हाल्छन् ।   

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १९:१७