close

वैदेशिक रोजगारीमा गएका नेपालीले मेरो शेयर एपबाट आईपीओ भर्न सक्ने

टेकपाना टेकपाना

मंसिर १२, २०७९ ८:२९

वैदेशिक रोजगारीमा गएका नेपालीले मेरो शेयर एपबाट आईपीओ भर्न सक्ने

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले मेरो शेयर एप मार्फत आईपीओ भर्न पाउने भएका छन् । वैदेशिक रोजगारीका लागि नेपाल सरकारसँग श्रम स्वीकृती लिएर विभिन्न देशमा काम गरिरहेका नेपालीहरूका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण दिने निर्णय लागू गर्दै सीडीएस एन्ड क्लेयरिङ लिमिटेडले सम्बन्धित व्यक्तिहरूलाई सिआरएन नम्बर लिन आग्रह गरेको हो । 

एक सूचना जारी गर्दै सीडीएससीले धितोपत्र बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली सि-आश्वा रजिष्ट्रेशन नम्बर लिन सक्ने बताएको छ । यसका लागि सम्पूर्ण सि-आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सि-आश्वा प्रणालीमा आफ्ना ग्राहकको रेमिट्यान्स बचत खाता तथा सो को लागि प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरि सकेको सिडिएससीले जनाएको छ ।

सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याईएको शेयरको खरिद आवेदन दिनका लागि रेमिट्यान्स बचत खाता उल्लेख गरि दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले यथाशीघ्र आफ्नो खाता रहेको बैंकमा सम्पर्क राखी सिआरएन नम्बर लिन सिडिएससीले आग्रह गरेको छ ।

​पहिले नै रेमिट्यान्स बचत खाता भएकोले आफ्नो सीआरएन नम्बर निकाल्न सक्नेछन् भने खाता नभएकाले अहिले खाता खोल्न सक्नेछन् । यो सबै प्रक्रिया बैंकहरूले अनलाइन मार्फत नै गरिरहेको छ । सम्बन्धित बैंकको वेबसाइटमा गएर अनलाइन मार्फत नै आफ्नो रेमिट्यान्स बचत खाता खोल्न सकिनेछ । सीआरएन नम्बर प्राप्त गरिसकेको आवेदकले मेरो शेयर एप मार्फत आईपीओ खरिद गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ ९:२२