close

फेसबुकसँग 'ब्रेकअप' गर्न चाहनुहुन्छ ? नबिर्सनु होस् यी कुरा

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १०:५२

फेसबुकसँग 'ब्रेकअप' गर्न चाहनुहुन्छ ? नबिर्सनु होस् यी कुरा

काठमाडौं । हामीमध्ये प्रायः सबै कुनै न कुन मोडमा आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न खोजिरहेका हुन्छौँ । तर, सकिरहेका हुँदैनौं । फेसबुक प्रयोग गर्न हामीलाई त्यसको कुनै न कुनै पक्षले हामीलाई प्रभाव पारिरहेको हुन्छ । साथीभाइ वा आफन्तसँग जोडिनलाई, जन्मदिन सम्झिनलाई, समाचार पढ्नलाई, वा रमाइला कन्टेन्ट हेर्नलाई मात्र किन नहोस् हामी फेसबुकबाट टाढा जान सकिरहेका हुँदैनौँ । त्यती मात्र नभइ उक्त प्लेटफर्मका केही सेवाले गर्दा हामी फेसबुक प्रयोग गर्नबाट रोकिन्नौं । 

फेसबुकका यस्त धेरै विशेषताहरू छन् जसले गर्दा हामी चाहेर पनि टाढा हुन सक्दैनौँ । यदि तपाईँ फेसबुक डिलिट गर्न खोजिरहनु भएको छ । तर, यस प्लेटफर्मबाट टाढिन सक्नु भएको छैन भने यो लेख तपाईँका लागि उपयुक्त हुनसक्छ ।

सबैभन्दा पहिले डेटा डाउनलोड गर्नुहोस:

तपाईँले फेसबुक डिलिट गर्न नसक्नुको प्रमुख कारण तपाईँको अकाउन्टमा स्टोर भएका डेटा पनि हुनसक्छन् । त्यसैले डेटा डाउनलोड गर्नुभयो भने तपाईँ निर्धक्कले अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ । फेसबुकको डेटा डाउनलोड गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

- अनि सेटिङ एण्ड प्राइभेसीको अप्सनमा गएर सबैभन्दा माथि देखिएको सेटिङको अप्सन छान्नुहोस् ।

- त्यसपछि माथि रहेको सर्च बारमा 'डाउनलोड योर प्रोफाइल इन्फरमेसन' (Download profile information) सर्च गर्नुहोस् ।

- त्यहाँ डाउनलोड प्रोफाइल इन्फरमेसनको अप्सन देखिन्छ । त्यसैमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि तपाईँले फेसबुकमा राखेका के कस्ता फाइल डाउनलोड गर्न चाहनु भएको हुन्छ भन्ने कुरा छुट्याइएको हुन्छ । आफूलाई आवश्यक नभएको डेटाको छेउमा रहेको टिकको अप्सनमा ट्याप गरेर डिसेलक्ट गर्नुहोस् ।

- र, अन्तिममा रहेको क्रियट फाइल अप्सनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि तपाईँका सबै फाइल तयार हुन केही समय लाग्छ । केही समयपछि डाउनलोडको अप्सन देखिन्छ । डाउनलोडमा ट्याप गरेर तपाईँ आफ्नो डेटा डाउनलोड गर्न सक्नुहुन्छ ।

फेसबुकको मेमोरिज व्यवस्थापन गर्नुहोस्

तपाईँले विगतमा के के पोस्ट गर्नुभयो भन्ने कुरा फेसबुकले मेमोरिज मार्फत हरेक वर्ष रिमाइन्ड गराउने गर्छ । यही फिचरको कारण तपाईँ फेसबुकबाट टाढिन नसक्नुभएको हुन सक्छ । तर तपाईँको सबै डेटाहरू डाउनलोड हुँदा यस्ता पुराना तस्बिर तथा भिडिओ पनि डाउनलोड हुन्छ । यसले गर्दा तपाईँलाई आफ्नो मेमोरीमा आउने सामग्रीको पनि खासै चिन्ता गर्न पर्दैन । यदि तपाईँले आफ्नो फाइल डाउनलोड गर्नुभएको छ भने फेसबुकले तपाईँले अपलोड गरेका फोटो तथा भिडिओ सोही फाइलमा व्यवस्थापन गरिदिएको हुन्छ । जसले गर्दा तपाईँले फेसबुक डिलिट गरिसकेपछि पनि आफूले डाउनलोड गरेको आफ्नो फेसबुक डेटामार्फत ती सबै फाइल प्राप्त गर्न सक्नुहुन्छ ।

फेसबुक कहाँ कहाँ लगइन भएको छ, जाँच गर्नुहोस्

हामीले फेसबुक अकाउन्ट प्रयोग गरेर थुप्रै एपमा लगइन गरेका हुन्छौँ । त्यसमध्ये केही विशेष एप (फोटोशप, ई-कमर्श साइट, भिडिओ एडिटिङ साइट, पब्जी वा फ्रिफायर जस्ता गेम) मा हाम्रा महत्त्वपूर्ण फाइलहरू भण्डारण भएका हुनसक्छन् । त्यसलै आफूले लगइन गरेका साइट कत्तिको महत्त्वपूर्ण छन् भनेर हेर्नुहोस् । फेसबुकको सेटिङमा गइ 'एप एण्ड वेबसाइट'को अप्सन छानेर कुन कुन साइटमा अकाउन्ट लगइन भएको छ, हेर्न सकिन्छ । यदि अनावश्यक साइटहरू छन् भने सबैमा आफ्नो अकाउन्ट लगआउट गर्नुहोस् ।  

आफ्नो परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहनुहोस

आफन्त वा साथीभाइसँग तपाईँ जति सामाजिक सञ्जालबाट जोडिन सक्नुहुन्छ, अन्य माध्यमबाट पनि त्यति सजिलै जोडिन सक्नुहुन्छ । किनभने सामाजिक सञ्जालले तपाईँलाई तपाईँका आफन्त वा साथीभाइसँग कुनै न कुनै रूपमा अन्तर्क्रिया गराइरहेको हुन्छ । तर, अब फेसबुक अकाउन्ट डिलिट गर्नु भयो भने तपाईँलाई सम्पर्कमा हुन भेटघाट गर्ने, फोन सम्पर्क गर्ने विकल्प हुन्छ । सम्भव भए भौतिक रूपमा भेट्नुहोस् यदि भएन भने फोन कल गरेर सम्पर्कमा रहिरहनुहोस् ।

पुरानो समयमा फर्किनुहोस्

सामाजिक सञ्जालको सुरुवात हुनु अघि हामी भौतिक दुनियाँमा बढी रमाउँथ्यौँ । अहिले सामाजिक सञ्जालले हाम्रा भौतिक कामहरू घटाएर त्यसलाई भर्चुअल बनाइदिएको छ । फेसबुकबाट टाढा भएपछि तपाईँ पुरानै समयमा फर्किनुपर्ने हुन्छ । आफ्ना महत्त्वपूर्ण कामहरू डायरीमा टिप्नुहोस् । भौतिक क्यालेन्डरको बढि प्रयोग गर्नुहोस् । आफ्ना साथीभाइ वा नजिकका मान्छेको जन्मदिन नोट गरेर राख्नुहोस् । जन्मदिनको समयमा भेटेर वा कल गरेर शुभकामना दिनुहोस् ।

अकाउन्ट डिएक्टिभेट होइन, डिलिट गर्नुहोस्

फेसबुकबाट टाढा हुने योजना बनाइसकेपछि डिएक्टिभेट गर्न हुँदैन । किनभने अकाउन्ट डिएक्टिभेट गरेको खण्डमा पुनः उक्त प्लेटफर्ममा फर्किन मनलाग्छ । त्यसैले सोझै डिलिट गर्नुहोस् । त्यसपछि एक महिना गायब हुनुहोस् । एक महिनासम्म 'अकाउन्ट डिलिट' क्यान्सिल नगरेमा तपाईँको आइडी सधैँका लागि डिलिट हुन्छ । अकाउन्ट डिलिट गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेका तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि सेटिङ एण्ड प्राइभेसीको अप्सनमा जानुहोस् ।

- यति गरेपछि 'प्राइभेसी शर्टकट'मा जानुहोस् ।

- स्क्रोल गर्दै तल गएपछि 'डिलिट योर अकाउन्ट एण्ड इन्फरमेसन भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि डिलिट अकाउन्टको अप्सन छान्नुहोस् ।

- अनि, कन्टिन्यु टु अकाउन्ट डिलेसन बटनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि पुनः कन्टिन्यु टु अकाउन्ट डिलेसन बटनमा ट्याप गर्नुहोस् ।

(तपाईँले आफ्नो फेसबुकमा भएको सबै विवरण पनि यहि रहेको डाउनलोड योर इन्फरमेसन अप्सनमा गइ डाउनलोड गर्न सक्नुहुन्छ । यदि आफ्नो विवरण डाउनलोड गरिसक्नु भएको छ भने तलको प्रक्रिया अपनाउनुहोस् ।)

- र, डिलिट अकाउन्टको बटनमा ट्याप गर्नुहोस् । तपाईँलाई आफ्नो पासवर्ड राख्न भनिएको बक्समा पासवर्ड टाइप गर्नुहोस् ।

- त्यसपछि अन्त्यमा कन्टिन्यु बटनमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईँको अकाउन्ट डिलिट हुन्छ ।  

 

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ ११:२०