close

यस्ता छन् निशुल्क भीपीएन भएका उत्कृष्ट ३ ब्राउजर

टेकपाना टेकपाना

मंसिर १२, २०७९ ११:५७

यस्ता छन् निशुल्क भीपीएन भएका उत्कृष्ट ३ ब्राउजर

काठमाडौं । इन्टरनेट प्रयोग गर्दा कतिपय यस्ता कन्टेन्ट फेला पर्छन् जुन तपाईँ बसेको देशमा ब्लक गरिएका हुन्छन् । सामान्य अवस्थामा त्यस्ता कन्टेन्टको पहुँच पाउनका लागि तपाईँलाई भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नुको विकल्प हुँदैन ।

त्यस्ता कन्टेन्टमा पहुँच पाउनका लागि थर्ड पार्टी भीपीएन नै आवश्यक पर्छ भन्ने चाहिँ हुँदैन । इन्टरनेटमा कतिपय त्यस्ता ब्राउजर छन् जसमा पहिले नै इन्स्टल गरिएको भीपीएन हुन्छन् । थर्ड पार्टी भीपीएन प्रयोग नगरी भीपीएनको फिचर पाउन सकिने ब्राउजरका बारेमा यहाँ चर्चा गर्दैछौँ ।

१) ओपेरा ब्राउजर

सन् १९९४ मा तयार पारिएको यो ब्राउजर त्यसको दुई वर्षपछि ११९९६ मा सार्वजनिक गरेको थियो । यस ब्राउजरमा २०१६ मा मात्र भीपीएन समावेश गरिएको थियो । डिफल्ट रूपमा भने यस ब्राउजरमा भीपीएन अफ गरिएको हुन्छ । यसलाई सेटिङमा गएर अन गर्नुपर्ने हुन्छ । एकपटक पहिले नै इन्स्टल गरिएको भीपीएन एक्टिभेट गरिसकेपछि एड्रेशबारमा भीपीएनको आइकन देखिन्छ ।

निःशुल्क उपलब्ध हुने यो ब्राउजर सुरक्षित रूपमा ब्राउजिङ गर्नका लागि प्रयोग गर्न सकिन्छ । यसमा भएको भीपीएन प्रयोग गर्नका लागि छुट्टै अकाउन्ट बनाउनु पर्छ भन्ने छैन । जसले गर्दा तपाईँको गोपनियता सुरक्षित रहने कुरामा ढुक्क हुन सक्नुहुन्छ । ओपेरा ब्राउजर इनस्टल गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२) एपिक प्राइभेसी ब्राउजर

क्रोमियममा आधारित एपिक प्राइभेसी ब्राउजर क्रोमको विकल्पमा प्रयोग गर्न सकिन्छ । जसलाई क्रोम जस्तै सजिलै प्रयोग गर्न सकिन्छ ।

पहिले एपिक ब्राउजरको एड ब्लकर (विज्ञापन ब्लक गर्ने टुल) र पहिले नै इन्स्टल भएको भीपीएन अन रहेको हुन्थ्यो । तर, पछि ती फिचरहरू एक्सटेन्सनका रूपमा प्रि-इन्स्टल भएर आउन थाले । त्यसपछि मात्र म्यानुअल्ली भीपीएन अन गर्नुपर्ने बनाइयो । यस ब्राउजरमा डिफल्ट सर्च इन्जिनका रूपमा याहू रहेको छ । निःशुल्क प्रयोग गर्न सकिने एपिक प्राइभेसी ब्राउजर यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ ।

३) टोर प्रोजेक्ट

टोर प्रोजेक्ट वेब ब्राउजरलाई अनियन राउटर पनि भन्ने गरिन्छ । यो ब्राउजर गोपनियताको सम्बन्धमा सबैभन्दा बलियो विकल्पमध्ये एक हो । किनभने यसले प्रयोगकर्ताको डेटा सुरक्षित गर्न मल्टिलेयर इन्क्रिप्सन प्रयोग गर्छ । त्यसबाहेक, यसले टोर नेटवर्कभित्र डेटा ट्रयाक गर्न असम्भव बनाएर गोपनीयता सुरक्षित गर्छ । जब तपाईँ टोर ब्राउजर खोल्नुहुन्छ, तपाईँले म्यानुअल रूपमा भीपीएन अन गर्नुपर्ने हुन्छ । निःशुल्क उपलब्ध हुने टोर ब्राउजर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

 

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १२:४