close

पब्जी विश्वकप फाइनल प्रवेशका लागि ‘सर्भाइबल स्टेज’मा भिड्दै दुई नेपाली टिम

टेकपाना टेकपाना

मंसिर १४, २०७९ १८:५७

पब्जी विश्वकप फाइनल प्रवेशका लागि ‘सर्भाइबल स्टेज’मा भिड्दै दुई नेपाली टिम

काठमाडौं । पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा फाइनल प्रवेशका बुधबारदेखि ‘सर्भाइबल स्टेज’का खेल सुरु भएका छन् । यसअन्तर्गत नेपाली टिम स्काइलाइट गेमिङ र डीआरएस गेमिङसहित कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

तीन समूहमा विभाजित कूल ४८ टिमले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । प्रत्येक समूहको अङ्क तालिकामा चौथोदेखि ११औँ  स्थानमा पर्न सफल टिमले यो स्टेजमा मौका पाउँछन् ।

डीआरएस गेमिङले ‘रेड ग्रुप’ को छैटौँ स्थानमा र स्काइलाइट गेमिङले ‘ग्रीन ग्रुप’को अङ्क तालिकामा नवौँ स्थानमा रहँदै सर्भाइबल स्टेजमा स्थान बनाएका हुन् । दुवै टिमलाई अर्को चरण प्रवेशका लागि सर्भाइबल स्टेजका खेलहरू निकै महत्त्वपूर्ण रहेका छन् ।​

सर्भाइबल स्टेजको अङ्क तालिकामा  शीर्ष १६ भित्र पर्ने टिममात्र अर्को चरण अर्थात् ‘लास्ट चान्स’मा पुग्नेछन् । ‘लास्ट चान्स’ चरणका खेलमा अङ्क तालिकाको शीर्ष पाँचभित्र पर्ने टिम फाइनल प्रवेश गर्नेछन् ।

पीएमजीसीको फाइनल खेलका लागि कूल पुरस्कार राशि कूल १५ लाख अमेरिकी डलर (करिब २० कराेड रूपैयाँ) रहेको छ । ‘यलो ग्रुप’को अङ्क तालिकामा शीर्ष तीनभित्र पर्न सफल अर्को नेपाली टिम ‘ट्रेन टु किल’ यसअघि नै फाइनल चरणमा पुगिसकेको छ ।

सर्भाइबल चरणका खेल आज दिउँसाे ४ः३० देखि सुरू भइसकेका छन् । यो खेलको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्सको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ १९:२४