close

नयाँ स्वरुपमा गुगल मेसेज, तपाईँलाई कस्तो लाग्यो ?

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १७:२

नयाँ स्वरुपमा गुगल मेसेज, तपाईँलाई कस्तो लाग्यो ?

काठमाडौं । पछिल्लो केही महिनायता गुगलले मेसेज एप ‘गुगल मेसेज’ मा धेरै परिवर्तन गरेको छ । पिक्सेल फोनमा प्रि-लोडेड अर्थात् मोबाइल खरिद गर्दा नै यो एप मेसेज प्लेटफर्मका रुपमा उपलब्ध हुन्छ ।

यसका साथै अन्य एन्ड्रोइड प्रयोगकर्ताले समेत यो एप डिफल्ट मेसेजिङ एपका रुपमा प्रयोग गर्दै आएका छन् । गुगलले केही समय अघिमात्रै एपको आइकन परिवर्तन गरेको छ ।

साथै मेसेज पठाउँदा अथवा प्राप्त गर्दा बज्ने आवाजमा समेत परिवर्तन भएको छ । हुन त प्रयोगकर्ताले म्योसेज आउँदा बज्ने आवाज आफैंले आवश्यकता अनुसार परिवर्तन गर्न सक्छन् । तर, पनि गुगलले भने आफ्नो आइकनिक टोन प्रयोगकर्तालाई उपलब्ध गराएको छ ।

यो टोन केही हप्तासम्म सीमित प्रयोगकर्ताबीच गरिएको परीक्षणपछि मात्रै सबै प्रयोगकर्तालाई उपलब्ध गराइएको हो । यो टोन यसअघि गुगलको डिफल्ट टोनको तुलनामा छोटो, कम आवाज आउने साथै सान्दर्भिक र वैज्ञानिक रहेको दाबी गरिएकाे छ ।

नयाँ साउन्डमा प्रयोगकर्ता घुलमिल नहुँदासम्म यसको विषयमा नकारात्मक टिप्पणी आएको भएपनि विस्तारै यो टोन प्रभावकारी हुने देखिन्छ । यसका साथै गुगलले मेसेज डेलिभर भएको तथा प्राप्त गर्ने व्यक्तिले मेसेज पढेको जानकारी दिने सिग्नलमा समेत केही परिवर्तन गरेको छ ।

साथै मेसेजमा रियाक्सन गर्न सकिने फिचर समेत गुगलले उपलब्ध गराएको छ । यी फिचरका साथै कम्पनीले गुगल मेसेजमा थप परिवर्तनको तयारी गरिरहेको उल्लेख गरिएको छ । गुगल मेसेजमा आएको यो परिवर्तनले कम्पनीले मेसेजिङ एपमा केन्द्रित भइरहेको समेत देखाउँछ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १७:२