close

नेटटिभीमा विश्वकप फुटबलका दुई खेल एकै पटक हेर्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १७:५२

नेटटिभीमा विश्वकप फुटबलका दुई खेल एकै पटक हेर्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । जारी फिफा विश्वकप २०२२ मा अहिले समूह चरणका अन्तिम खेलहरू भइरहेका छन् ।  आज राति पनि चार खेल हुँदैछन् । क्रोएसिया र बेल्जियम तथा मोरोक्को र क्यानेडाबीचको खेल राति ८:४५ मा हुँदैछ । त्यस्तै राति १२:४५ मा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका बीच खेल हुँदैछ । यसको अर्थ यी चार खेल दुई फरक समयमा हुँदैछन् ।

यसैबीच दुई फरक खेल एउटै समयमा कसरी हेर्ने होला भन्ने धेरैको जिज्ञासा हुन सक्छ । आज हामी नेटटिभीमा दुई फरक खेल एउटै समयमा कसरी हेर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । नेपालमा फिफा विश्वकपको प्रसारण 'हिमालय प्रिमियम' च्यानलबाट भइरहेको छ ।

एउटै समयमा दुई ओटा खेल पर्दा नेपालका लागि फुटबल खेल प्रसारणको अधिकार पाएको मिडिया हबले एउटा खेल हिमालय एचडी च्यानल र अर्को खेल हिमालय प्रिमियम च्यानलबाट लाइभ गरिरहेको छ । तपाईँको टिभीमा दुई ओटा खेल एकै पटक हेर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले आफूले सँगसँगै हेर्नुपर्ने च्यानल छुट्याउनुहोस् ।

-त्यसपछि पहिले हेर्नुपर्ने च्यानलमा गएर प्ले गर्नुहोस् ।

-यति गरेपछि टिभीको रिमोटमा रहेको मेन्यु बटन दबाउनुहोस् ।

-अनि सोही स्क्रिनमा हेर्नुपर्ने अर्को च्यानल छानेर प्ले गर्नुहोस् ।

-यति गरेपछि रिमोटमा भएको जीरोको बटन केहीबेर दबाउनुहोस् । यसपछि ठूलो स्क्रिनमा एउटा च्यानल र तलपट्टि अर्को च्यानल प्ले भइरहेको देखिन्छ ।

रिमोटमा भएको जिरो बटन दबाउँदा च्यानल स्वीच हुन्छ । अर्थात् ठूलो स्क्रिनमा देखिएको च्यानल सानोमा र सानो स्क्रिनमा देखिएको च्यानल ठूलो स्क्रिनमा देखिन्छ ।

याद गर्नुहाेस्, जुन च्यानल ठूलो स्क्रिनमा प्ले भइरहेको छ, आवाज त्यही च्यानलको मात्र सुनिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १७:५२