close

एप्पल मुख्यालय पुगेर एलन मस्कले भने- एपस्टोरबाट ट्वीटर हट्ने कुरा हल्ला मात्रै

टेकपाना टेकपाना

मंसिर १५, २०७९ २०:७

एप्पल मुख्यालय पुगेर एलन मस्कले भने- एपस्टोरबाट ट्वीटर हट्ने कुरा हल्ला मात्रै

काठमाडौं । केही दिनदेखि चर्किएको एलन मस्क र एप्पलबीचको 'विवाद' साम्य भएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई मस्कले ट्वीटरमार्फत बढावा दिइरहेको अवस्थामा एप्पलले एपस्टोरबाट उक्त एप हटाउने धम्की दिएको हल्ला बाहिरिएकाे थियो ।

यही विषयलाई लिएर मस्कले ट्वीटरमा एप्पलको विरोध गर्न सुरू गरेका थिए । यसो त पछिल्लो समय एप्पलले आफ्नो प्लेटफर्मबाट एप हटाए आफैंले नयाँ फोन सार्वजनिक गर्ने मस्कले घोषणा गरेका थिए । तर, अहिले भने ट्वीटरलाई एपस्टोरबाट हटाउने एप्पलको कुनै आशय नरहेको आफूले पाएको मस्कले उल्लेख गरेका छन् ।

उनले बुधबार क्यालिफोर्नियास्थित एप्पलको मुख्यालयमै गएर कम्पनीका सीईओ टिम कुकसँग भेटवार्ता गरेका थिए । ट्वीटरलाई एपस्टोरबाट हटाउने हल्ला फैलिएपछि मस्क एप्पल मुख्यालय पुगेका हुन् ।

बिहीबार एक ट्वीट गर्दै मस्कले दुई कम्पनीबीच देखिएकाे असमझदारी समाधान भएको उल्लेख गरे ।

एकाएक एप्पलले एपस्टोरबाट ट्वीटर हटाउने कुरा मस्कले कसरी थाहा पाए भन्ने विषय अहिलेसम्म स्पष्ट छैन । मस्क आफैंले पनि एप्पलले एपस्टाेरबाट ट्वीटर किन हटाउन लागेको भन्ने कुरामा अनविज्ञ रहेको बताउँदै आएका थिए ।

"एप्पलले ट्वीटरमा प्रायः विज्ञापन बन्द गरेको छ । के उनीहरू अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई घृणा गर्छन ?" उनले २८ नोभेम्बरमा ट्वीट गर्दै लेखेका थिए । उक्त ट्वीटमा एप्पलका सीईओ टिम कुकलाई मेन्सन गर्दै उनले के भइरहेको छ भन्दै जिज्ञासा राखेका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ २०:७