close

विश्वकपमा खेलाडी अफसाइड हुँदा एआई प्रविधिले कसरी पाउँछ थाहा ?

टेकपाना टेकपाना

मंसिर १९, २०७९

विश्वकपमा खेलाडी अफसाइड हुँदा एआई प्रविधिले कसरी पाउँछ थाहा ?

काठमाडौं । जारी फुटबल विश्वकपमा रेफ्रीलाई अफसाइड भएको जानकारी दिन फिफाले आर्टिफिसिएल इन्टेलिजेन्स प्रयोग गरिरहेको छ । यसअघि प्रयाेग भएका प्रविधिको तुलनामा नयाँ एआई प्रविधिले चाँडो अफसाइड पत्ता लगाउँछ ।

औसतमा अफसाइड भएको एक मिनेटमै पत्ता लाग्ने गरेको फिफाले उल्लेख गरेकाे छ । 

यसले कसरी गर्छ काम ?

यो प्रणालीलाई सेमी-अटोमेटेड अफसाइड टेक्नोलोजी भनिएको छ । यसमा स्टेडियमको छतमा राखिने १२ ओटा क्यामेराले बल र हरेक खेलाडीको गतिविधि ट्रयाक गर्छ । सेमी-अटोमेटेड अफसाइड प्रविधि (SAOT) ले आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर खेलाडीलाई पहिचान गरेको हुन्छ ।

यसले बल तथा खेलाडीलाई ट्रयाक गरेर ५० गुणा प्रति सेकेन्ड पोजिसन क्याल्कुलेट गर्छ । फिफा विश्वकप २०२२ मा प्रयोग भएको आधिकारिक एएल रिह्ला (AL Rihla) बलमा सेन्सर प्रयोग भएको छ । यस बललाई खेलाडीले छोएपछि बलले हरेक समय आफ्नो स्थानको डेटा पठाउँछ ।

अफसाइड हुँदा तत्कालै रेफ्रीलाई उक्त बल अफसाइड भएको भन्न निकै सकस पर्छ । कतिपय अवस्थामा बल अफसाइड भएको रेफ्रीलाई थाहा भएन भने त्यसले सम्पूर्ण खेललाई नै विवादास्पद बनाइदिन्छ । यो सबै समस्यालाई सेमी-अटोमेटेड अफसाइड प्रविधिले सघाएको हुन्छ ।

जब सेमी-अटोमेटेड अफसाइड प्रविधिले अफसाइड भएको पहिचान गर्छ, त्यसपछि उक्त प्रविधिले त्यसको अलर्ट भिडिओ रूममा बसेका प्राविधिकलाई पठाउँछ । उनीहरूले सो जानकारी रेफ्रीलाई दिन्छन् । यो प्रक्रिया यति छिटो हुन्छ कि, अफसाइड भएको क्षणभरमै रेफ्रीलाई जानकारी आइपुग्छ । त्यसैले यो प्रविधिलाई सेमी-अटोमेटेड भनिएको छ ।

अफसाइड पहिचानका लागि उन्नत प्रविधि

सामान्य फुटबल खेलमा भिडिओ सहायक रेफ्री (भीएआर) प्रणाली प्रयोग गरिन्छ । उनीहरूले कुनै पनि अफसाइड पहिचान गर्नका लागि ७० सेकेन्डको समय लिन्छन् । जुन सेमी-अटोमेटेड अफसाइड प्रणालीभन्दा धेरै हो ।

भीएआर प्रविधि प्रयोग गर्दा आधिकारिक व्यक्तिले बललाई खेलाडीले छोएको अवस्था पहिचान गर्छन् । र, अफसाइड लाइन बनाउँछन् । उक्त कार्य सही भएको पुस्टि गर्नका लागि मात्र सेमी-अटोमेटेड अफसाइड प्रविधिको प्रयोग गर्ने गरिन्छ । यो नयाँ प्रविधिले अफसाइड भएको निर्णय सही तरिकाले गर्न सघाउँछ ।

यदि अफसाइड भएको सबै दर्शकलाई देखाउनुपर्‍यो भने उक्त प्रणालीले थ्रीडी एनिमेसन बनाएर अफसाइड भएको देखाउँछ । फिफाका अनुसार यो प्रविधि तीन वर्षसम्म परीक्षण गरेर अन्त्यमा विश्वकपमा प्रयोग गरिएको हो ।

कम्प्युटरले विश्वकप हेर्न स्टेडियम र अन्य वस्तु कसरी पहिचान गर्छ ?

डेटा साइन्टिस्टले मानिसहरू पहिचान गर्नका लागि विभिन्न नयाँ टेक्निक विकास गरका छन् । त्यसमध्ये एक हो, कन्भेलुस्नल न्युरल नेटवर्क  (सीएनएन) । यो प्रविधिले कसरी काम गर्न सक्छ भन्ने कुरा यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

सीएनएसले हरेक वस्तुको तह-तह पहिचान गरेको हुन्छ । यसले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि एउटा उदाहरण लिऔँ । जसरी अँध्यारो कोठामा कुनै वस्तु पहिचान गर्न परे हामी जस्तो प्रक्रिया अपनाउछौँ, एआईले पनि स्टेडियममा रहेका वस्तु र मानिसहरू पहिचान गर्न यस्तै प्रक्रिया अपनाउँछ ।

हामी अँध्यारो कोठामा भएका वस्तु पहिचान गर्न हातले स्पर्श गर्छौँ । त्यसपछि उक्त वस्तु सारो वा कमलो छ भन्ने कुरा पहिचान गर्छौँ । अनि त्यसबारे आवश्यक अन्य प्रश्नका उत्तर खोज्छौँ । र, अन्यमा उक्त वस्तु के हो भन्ने कुरा पहिचान गर्छौँ । 

स्टेडियममा पनि यस्तै प्रक्रिया लागू हुन्छ । त्यसमा कम्प्युटरले पनि हरेक तहबाट पहिचाका काम सुरु गर्छ । त्यसरी कम्प्यटरले पनि क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्छ । र, हरेक तहबाट विभिन्न जानकारी लिन्छ । यसरी एकपटक अनुमान गर्न पर्याप्त जानकारी जम्मा गरेपछि कम्प्युटरले उक्त वस्तु के हुन सक्छ भन्ने कुरा अनुमान गर्छ ।  

सेमी-अटोमेटेड अफसाइड प्रविधि जस्तो आर्टिफिसिएल इन्टेलिजेन्सलाई मानिसहरू पहिचान गर्नका लागि हजारौँ वस्तु र मानिसहरू भएको भिडिओबाट वस्तु र मानिस पहिचान गर्न तालिम दिइएको हुन्छ । यसरी आर्टिफिसिएल इन्टिजेन्सले कुनै पनि खेलाडी कस्तो देखिन्छ भन्ने कुरा सिकेको हुन्छ ।

विभिन्न तालिमपछि उक्त आर्टिफिसिएल इन्टेलिजेन्सले विभिन्न क्यामेरा तथा भिडिओको माध्यमबाट स्डेटिममा भएका वस्तु पहिचान गर्छ । यसरी तालिम पाएको एआई खेलाडीलाई ट्रयाक गर्न वा पहिचान गर्न सक्छ ।