close

मोजिला फायरफक्सको लोगोमा राखिएको जनावर कुन हो ? यस्ता छन् ब्राउजरका ७ तथ्य

टेकपाना टेकपाना

मंसिर २०, २०७९ ११:२२

मोजिला फायरफक्सको लोगोमा राखिएको जनावर कुन हो ? यस्ता छन् ब्राउजरका ७ तथ्य

काठमाडौं । कुनै पनि कम्पनी स्थापना गर्नुअघि विभिन्न कुराको ख्याल गरिन्छ । विशेषगरी कम्पनीको नाम, कम्पनीका लागि उपयुक्त लोगो पहिलो रोजाइमा पर्छन् । हामीमध्ये कतिपयले विगतमा फायरफक्स वेब ब्राउजर प्रयाेग गरेका थियाैं । अहिले पनि केही प्रयाेगकर्ताले याे ब्राउजर प्रयाेग गरिरहेका छन् । आज हामी फायरफक्स वेब ब्राउजरसँग सम्बन्धित रोचक तथ्यको बारेमा जानकारी दिन्छौं ।

फायरफक्सको लोगो: 

फायरफक्स, फायर र फक्स दुई शब्द मिलेर बनेको छ । फक्सलाई नेपालीमा स्याल भनिन्छ । फायरफक्सको लोगो झट्ट हेर्दा त्यहाँ भएको चित्र स्यालको नै हो भन्ने लाग्छ । ब्राउजरको नाममा पनि फक्स भएको कारण यो स्यालकै चित्र हो कि भन्ने अनुमान पनि छ। तर वास्तवमा फायरफक्स वेब ब्राउजरको लोगोमा भएको जनावर रेड पाण्डा हो । 

सबै डिभाइसका लागि फायरफक्स

अधिकांशले विन्डोजका लागि फायरफक्स प्रयोग गरिरहेको भए पनि यो वेब ब्राउजर अन्य विभिन्न अपरेटिङ सिस्टममा पनि सपोर्ट गर्छ । विशेषगरी म्याक, लिनक्समा आधारित डेक्सटप, एन्ड्रोइड डिभाइसमा फायरफक्स प्रयोग गर्न सकिन्छ । गुगल प्लेस्टोरबाट मात्र फायरफक्स आठ करोड पटक भन्दा बढि डाउनलोड भएको छ ।

मोजिला एडन्स

एड ब्लक गर्नका लागि ब्रेभ ब्राउजर निकै प्रख्यात छ । क्रोममा विभिन्न एक्सटेन्सन प्रयोग गर्न सकिने भएकाले प्रख्यात छ । सबैभन्दा पहिले एडब्लक र एक्सटेन्सन भने मोजिला फायरफक्सले नै उपलब्ध गराएको थियो ।

मोजिलाको अपरेटिङ सिस्टम

मोजिलाले सन् २०१३ मा आफ्नो अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । जुन एउटा ब्राउजरमा आधारित अपरेटिङ सिस्टम थियो । त्यस अपरेटिङ सिस्टमलाई कम्पनीले फायरफक्स अपरेटिङ सिस्टम नाम दिएको थियो ।

यही अपरेटिङ सिस्टमलाई लिएर मोजिला एप्पल र गुगलको प्रतिद्वन्द्वी बन्न चाहन्थ्यो । तर, प्रायः प्रयोगकर्ता आईओएस र एन्ड्रोइडमा अभ्यस्त भइसकेकाले मोजिलाको उक्त परियोजना असफल भयो ।

मोजिला फायरफक्स ओपन सोर्स

मोजिला फायरफक्स ओपन सोर्स वेब ब्राउजर हो । यसको अर्थ फायरफक्स वेब ब्राउजरको सोर्स कोड इन्टरनेटमा निःशुल्क पाइन्छ । त्यसैले यसलाई डेभलपरको वेब ब्राउजर पनि भन्ने गरिन्छ ।

प्रयोगकर्ताबाट नभई सर्च इन्जिनबाट आम्दानी गर्छ फायरफक्स

फायरफक्सले प्रयोगकर्ताबाट नभई सर्च इन्जिनबाट आम्दानी गर्ने गर्छ । डिफल्ट रूपमा मोजिला फायरफक्समा उपलब्ध सर्च इन्जिन नै फायरफक्सको आम्दानीको स्रोत हो ।

मोजिला फायरफक्स केबल एक परीक्षण थियो

सबैभन्दा पहिले ब्राउजरका रूपमा तयार पारिएको  थियो । तर त्यो केबल एक परीक्षण मात्र थियो । पछि उपयोगी हुने देखिएपछि यसको नाम फिनिक्स (Phoenix) राखियो  । तर यो नाम पहिले अरू कसैले दर्ता गरिसकेकाले यस ब्राउजरको नाम मोजिला फायरफक्स राखियो ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:८