close

विज्ञान प्रविधि सम्बन्धी अनुसन्धान गर्नेलाई १२ लाखसम्मको सहयोग दिँदै नास्ट

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १२:२३

विज्ञान प्रविधि सम्बन्धी अनुसन्धान गर्नेलाई १२ लाखसम्मको सहयोग दिँदै नास्ट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न १२ लाख रुपैयाँसम्मको सहयोग दिने भएको छ । एक सूचना जारी गर्दै नास्टले इच्छुक अनुसन्धानकर्ताबाट आवेदन प्रस्ताव माग गरेको हो । 

नास्टले चालू आर्थिक वर्ष २०७९/८० देखि सञ्चालित ‘युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम’ अन्तर्गत यो अनुसन्धान प्रस्ताव माग गरिएको जनाएको छ ।

विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक वा प्राविधिज्ञहरूले पुष १२ गतेभित्र आफ्नो अनुसन्धान प्रस्ताव र आवेदन दर्ता गराउन सक्नेछन् ।

इच्छुक व्यक्ति अथवा संस्थाहरूले आफ्नो अनुसन्धानको प्रस्ताव तथा आवेदन यहाँ क्लिक गरी अथवा इन्फो एट नास्ट डट ओआरजी डट एनपीमा ईमेल पठाउन सक्नेछन् । यो कार्यक्रममा ४० वर्ष पूरा नभएका व्यक्ति वा व्यक्तिहरूको समूहले मात्र सहभागी हुन पाउनेछन् ।

साथै नास्टको सात प्रदेशका विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्देश्यसँग मेल खाने  प्रस्तावित अनुसन्धानको विषय प्राथमिकतामा पर्ने उल्लेख छ । 

प्रस्ताव पेश गर्दा बजेटको अधिकतम सीमा व्यक्ति/समूहगत अनुसन्धानको लागि बढीमा पाँच लाख रुपैयाँ, संस्थागत अनुसन्धानको लागि १० लाख रुपैयाँ र बहु विधागत अनुसन्धानका लागि १२ लाख रुपैयाँ तय गरिएको छ ।

त्यस्तै माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन कार्यक्रम सञ्चालनका लागि बढीमा ५० हजार रुपैयाँ र क्याम्पस स्तर (स्नातक) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानात्मक एवं नवप्रवर्तन सम्बन्धी कार्यक्रमका लागि बढीमा एक लाख रुपैयाँ प्रदान गरिनेछ । 

त्यसैगरी वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न बढीमा एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइने छ । प्रस्तावको ढाँचा र नियम हेर्न यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:३५