close

दिमागमा राख्ने चिप परीक्षण गर्दा १५ सय बढी जनावरको मृत्यु !

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १६:४८

दिमागमा राख्ने चिप परीक्षण गर्दा १५ सय बढी जनावरको मृत्यु !

काठमाडौं । एलन मस्कको कम्पनी न्यूरालिङ्कले अनुसन्धान तथा परीक्षणका क्रममा जनावरको अधिकार हनन् गरेको हुनसक्ने विषयमा संयुक्त राज्य कृषि विभाग (यूएसडीए) का महानिरीक्षकले अनुसन्धान थालेको छ ।

रोयटर्सका अनुसार आन्तरिक कागजातहरूबाट कर्मचारी सदस्यहरूले कम्पनीले हतारमा जनावरमाथि परीक्षण गरेको र त्यसबाट अनावश्यक रूपमा उनीहरूलाई पीडा दिएर मृत्युको मुखमा धकेलेको विषयमा चासो राखेको देखिन्छ । कम्पनीले सन् २०१८ यता २८० भन्दा बढी भेडा, सुँगुर र बाँदर सहित कूल १५०० जनावर मारेको आरोप छ ।

यो आँकडाले स्वतः रूपमा न्यूरालिङ्कले कानून उलङ्घन गरेको अर्थ लाग्दैन र कम्पनीले आफ्ना सबै सुविधाका लागि यूएसडीएका सबै निरीक्षण पास गरेको छ । पुराना र वर्तमान कर्मचारीहरूले न्यूरालिङ्कका संस्थापक एलन मस्कले विकासको गति बढाउन दिएको दबावका कारण त्रुटिपूर्ण परीक्षण हुन पुगेको र त्यसबाट मृत्युदर आवश्यकता भन्दा बढी हुन पुगेको कुरा रोयटर्सलाई बताएको उल्लेख छ । 

सन् २०१६ मा कम्पनी स्थापना भएपछि मस्कले छिटो परिणाममा पुग्न आफ्ना कर्मचारीहरूलाई  उनीहरूको टाउकोमा बम राखिएको कल्पना गर्दै तीव्र गतिमा काम गर्न भनेका थिए ।

यति मात्र नभएर उनले आफ्ना कर्मचारीहरूलाई प्रगति हात नलागेसम्म आफूलाई बजारमा असफल हुने कुराले घोचिरहने बताइरहन्थे, जसलाई केही कर्मचारीहरूले कम्पनी बन्द हुने चेतावनीको रूपमा समेत व्याख्या गर्दथे । 

यसै अङ्ग्रेजी वर्षको सुरुतिर मस्कले कर्मचारीहरूलाई एउटा ईमेल पठाएका थिए, जसमा स्विस अनुसन्धानकर्ताहरूले एक 'इम्प्लान्ट' (प्रत्यारोपणका लागि बनाइएको सामग्री) बनाएको  र त्यसबाट पक्षघात भएका व्यक्ति पुनः हिँडडुल गर्न सक्ने भएको समाचार थियो ।

रोयटर्सले उद्धृत गरेको छ, "सामान्य भाषामा भन्नुपर्दा हामी पर्याप्त ढङ्गले छिटो अगाडि बढ्न सकिरहेका छैनौँ । यो कुराले मलाई हैरान बनाइरहेको छ ।" मस्कले एकपछि अर्को रूपमा कर्मचारीहरूलाई फलोअप ईमेल पठाइरहन्थे ।

रोयटर्सले आन्तरिक कागजातहरू हेर्दा चार ओटा परीक्षणमा सहभागी गराइएका ८६ ओटा सुँगुर र दुई बाँदरमा आएको नतिजामा मानवीय त्रुटी रहेको बताएकाे छ । न्यूरालिङ्कले ती परीक्षणलाई पुनः दोहोर्‍याएको थियो र जसबाट थप जनावरको मृत्यु हुन पुग्यो । एक जना कर्मचारीले न्यून तयारी र अत्यधिक तनावले गर्दा हतारमा जनावरहरूको सर्जरी गरिएको बताएका थिए ।

रोयटर्सले कागजात अध्ययनका क्रममा फेला परेका दुई ओटा विस्तृत उदाहरण समेत उल्लेख गरेको छ । जसमा दुई ओटा भिन्न सुँगुरको गलत 'भर्टेब्रा' (करङको हड्डी) मा न्यूरालिङ्कका कर्मचारीले कसरी ब्रेन मसिन इन्टरफेस डिभाइस जडान गरेका थिए भन्ने कराको विस्तृत विवरण छ । यो सन्दर्भमा जनावरको करङ गणना गरेर सहजै त्रुटी हुनबाट रोक्न सकिन्थ्यो । तर यही गल्तिले गर्दा कर्मचारीलाई सुँगरले सहनु परेको पीडा अन्त्य गर्न उनीहरूलाई मार्नुपर्‍यो । 

यस वर्षको सुरुतिर 'जिम्मेवार मेडिसिनका लागि फिजिसियन कमिटी' नामक एक पशु अधिकारकर्मीहरूको एक समूहले लापरबाहीपूर्ण सर्जरी गरेर बाँदरहरू मारेको आरोप कम्पनीमाथि लगाएको थियो । युनिभर्सिटी अफ क्यालिफोर्नियाँसँग संयुक्त रूपमा गरिएको उक्त अध्ययनका क्रममा न्यूरालिङ्कले छ ओटा बाँदरहरू मारेको पाइएको थियो ।

यद्यपि उनीहरूले त्यसबाट कुनै पनि कानून उलङ्घन नभएको भन्दै त्यसको प्रतिरक्षा गरेका थिए । न्यूरालिङ्कले हालै आगामी छ महिनाभित्र मानिसको दिमागमा चिपको परीक्षण थाल्ने घोषणा गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका संस्थापक एलन मस्कले फिजिसियन कमिटीको उक्त आरोपको जवाफ सोझो रूपमा नै दिएका थिए ।

"जनावरमा डिभाइस राख्नु अघि हामी अनुसन्धानको टेबलमा सम्भव भएसम्मका सबै खाले कठोर परीक्षणहरू गर्छौँ । जनावरमा यी उपकरण राख्ने सन्दर्भमा हामीले त्यस्तो लापरबाही गरेका छैनौँ । यो डिभाइस भेडा, सुँगुर वा बाँदर जेसुकैमा प्रत्यारोपण गर्दा पनि हामी एकदमै सावधान छौँ । यसलाई हामीले अन्वेषण नभएर पुष्टि गर्ने प्रयासको रूपमा लिइरहेका छौँ ।"

यद्यपि न्यूरालिङ्कले 'अन्वेषणात्मक सर्जरी' गरेका कयौँ दृष्टान्त आफूले फेला पारेको रोयटर्सले जनाएको छ । त्यसो त न्यूरालिङ्कको पशु हेरचाह कार्यक्रमका निर्देशक अटुमन सोरेल्सले अक्टोबरमा कर्मचारीहरूलाई आफ्नो अध्ययनको शीर्षकबाट 'अन्वेषण' (एक्सप्लोरेसन) हटाउन र आगामी दिनमा प्रयोग समेत नगर्न निर्देशन दिएका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:२२