close

तार हटाउँदा इन्टरनेट अवरुद्ध हुने चिन्ता, दीर्घकालीन समाधानमा नियामकको जोड

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १९:५

तार हटाउँदा इन्टरनेट अवरुद्ध हुने चिन्ता, दीर्घकालीन समाधानमा नियामकको जोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए)ले आफ्नो पोल प्रयोग गरी अनावश्यक अप्टिकल फाइबर केबल/कोएक्सियल केबल तथा पोलमा जथाभाबी झुन्ड्याइएको उपकरणहरूको व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई दबाब दिँदै आएको छ । प्राधिकरणले गत कात्तिक १५ गते एक सार्वजनिक सूचना जारी गर्दै ४५ दिन भित्रमा तार व्यवस्थापन गर्न ताकेता दिएको थियो ।

यसपछि इन्टरनेट सेवाप्रदायकहरूले केही ठाउँका अव्यवस्थित तारहरू हटाउने काम पनि सुरु गरे, तर प्रभावकारी रुपमा व्यवस्थापन कार्य हुन सकिरहेको छैन । तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू प्रचलित कानून बमोजिम प्राधिकरण आफैंले हटाउने चेतावनी समेत एनईएले दिएको छ ।

यसबाट हुनसक्ने नोक्सानीका लागि इन्टरनेट केबल टिभी र दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवारी हुनेसमेत प्राधिकरणले जानकारी दिएको छ । यसपछि एनईए आफैंले तार हटाउन थाले इन्टरनेट तथा केबल टिभी सेवा अवरुद्ध हुनसक्ने चिन्ता बढेकाे छ । यसअघि देखि नै पाेल भाडाकाे विषयमा विद्युत प्राधिकरण र सेवा प्रदायकहरूबीच विवाद चलिरहेकाे छ ।

याेसँगै विद्युत प्राधिकरणले एकतर्फी रूपमा तार हटाउने चेतावनी दिएपछि दूरसञ्चार क्षेत्रकाे नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणलाई पत्र पठाउँदै  तार व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा जाेड दिएकाे छ । एनटीएले तार व्यवस्थापनको एक मात्र विकल्प दूरसञ्चार पूर्वाधार कम्पनी भएको स्पष्ट पारेकाे छ । 

‘तारको वैकल्पिक व्यवस्थापनका लागि पूर्वाधार सेवाको नियमावलीको मस्यौदा मन्त्रिपरिषदमा पेश भएकोले सोको स्वीकृति पश्चात छुट्टै पूर्वाधार सेवा प्रदायक नियुक्त भई पूर्वाधार सञ्चालन गर्ने हुँदा हाल देखिएको समस्या दीर्घकालीन रुपमा समाधान हुने व्यहोरा जानकारी गराइन्छ,’ पत्रमा भनिएकाे छ ।

यसका साथै पत्रमा प्राधिकरणले भूमिगत गरिएको डक्टको प्रयोगमा सहज पहुँच भएपछि सहरी क्षेत्रहरुमा स्वतः तार व्यवस्थापन हुने समेत जनाएको छ ।

‘इन्टरनेट सेवा प्रदायक संघका प्रतिनिधिहरुसँग छलफल हुँदा निजहरुको अगुवाइमा पर्यटकीय क्षेत्र ठमेल, टोखा नगरपालिका लगायतका क्षेत्रहरुमा तार व्यवस्थापन भएको र साथै अन्य रुटहरुमा क्रमिक रुपमा व्यवस्थापन गर्दै लैजाने योजना रहेको पाइयो,’ उक्त पत्रमा भनिएको छ, ‘विद्युत पोलको प्रयोग सुरक्षा निकाय, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकबाट भइराखेकोमा सो को केबल एक्लाएक्लै व्यवस्थापन गर्दा अन्य केबलहरुलाई असर पारी सेवा अवरुद्ध समेत हुनसक्ने हुँदा रुट अनुसार कार्यतालिका बनाई तार व्यवस्थापना गर्न उपयुक्त हुने देखिन्छ ।’

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:३०