close

स्कुटरका लागि होटल/रेस्टुरेन्टमा फास्ट चार्जर राख्दै सेगवे

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १९:५५

स्कुटरका लागि होटल/रेस्टुरेन्टमा फास्ट चार्जर राख्दै सेगवे

काठमाडौं । सेगवे-नाइनबटले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रर्वद्धन गर्न काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा १० ओटा ईभी चार्जिङ स्टेसन जडान गर्ने घोषणा गरेको छ । सेगवे ब्रान्डका लागि नेपालकाे आधिकारिक वितरक आईहब प्रालिले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य ठाउँमा यस्ताे चार्जिङ स्टेसन जडान गर्न लागिएकाे जानकारी दिएकाे हाे ।

यी चार्जिङ स्टेसनमा फास्ट चार्जर उपलब्ध हुने बताइएकाे छ, जहाँ सेगवेका स्कुटरहरू चार्ज गर्न सकिनेछ । विशेषगरी मानिसहरूको बढी आगमन हुने ठाउँहरू जस्तै; होटेल, रेस्टुरेन्टमा कम्पनीले चार्जर उपलब्ध गराउनेछ ।

त्यसपछि साेही होटेल रेस्टुरेन्टले नै चार्जिङ स्टेसन सञ्चालन गर्नेछन् । आईहबका सञ्चालक लोकेश ओलीले हालसम्म प्रति युनिट कति शुल्क लिने भन्ने कुरा निर्धारण नभइसकेको जनाए ।

“उपभोक्ताको मागलाई सम्बोधन गर्दै हामीले उपत्यकाका तीन जिल्लामा १० ओटा चार्जिङ स्टेसन बनाउने निर्णय गरेका छौँ,” टेकपानासँग उनले भने, “आवश्यक भएको खण्डमा विस्तार गर्दै जानेछौँ ।”

नेपालमा सेगवेले हाल तीन मोडेलका विद्युतीय स्कुटर ल्याएको छ । न्यूनतम ६० देखि १२० किलोमिटर रेन्ज भएका सेगवेका विद्युतीय स्कुटरको मूल्य दुई लाख ९१ हजार रुपैयाँदेखि तीन लाख ९१ हजार रूपैयाँसम्म रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ हेड धिरेन्द्र कुशवाहाले जानकारी दिए ।

नेपाली बजारमा हाल सेगवे नाइनबट ई१००, ई११० एल र ई१२३ मोडेलका विदयुतीय स्कुटर उपलब्ध छन् ।

“हामीले ३०० युनिटभन्दा बढी ई-स्कुटर बिक्री गरिसकेका छौ,” कुशवाहाले भने, “याेसँगै चार्जिङ स्टेसन स्थापना गर्ने योजना ल्याएका हौँ ।”

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:३१