close

अन्टार्कटिकाको विकट क्षेत्रमा पनि स्टारलिङ्कको इन्टरनेटले काम गर्छ: एलन मस्क

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १०:३०

अन्टार्कटिकाको विकट क्षेत्रमा पनि स्टारलिङ्कको इन्टरनेटले काम गर्छ: एलन मस्क

काठमाडौं । ‍ट्वीटर तथा स्टारलि‌ंङ्कका मालिक एलन मस्कले स्टारलिङ्कको इन्टरनेट अन्टार्कटिका महादेशको विकट ठाउँमा पनि चल्ने दाबी गरेका छन् । सोमबार एक प्रख्यात युट्युबर (मिस्टर बिस्ट) को ट्वीटमा रिप्लाई दिँदै मस्कले स्टारलिङ्कको इन्टरनेट अन्टार्कटिका विभिन्न क्षेत्रमा उपलब्ध भइरहेको जानकारी दिएका हुन् ।

युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका कन्टेन्ट क्रियटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्टले) सोमबार एक ट्वीट गर्दै आफूले पछिल्लो हप्ता अन्टार्कटिका क्षेत्रमा इन्टरनेट बिना बिताएको उल्लेख गरेका थिए । उक्त ट्वीटको रिप्लाई दिँदै मस्कले भने, "स्टारलिङ्कले अन्टार्कटिकाको सबैभन्दा दुर्गम क्षेत्रहरूमा पनि काम गर्छ ।"

यसो त स्टारलिङ्कको सेवा गत सेप्टेम्बर १४ बाटै अन्टार्कटिका क्षेत्रमा उपलब्ध हुँदै आएको छ । एलन मस्क र नेसनल साइन्स फाउन्डेसन (एनएसएफ) काे सहकार्यमा पृथ्वीको सबैभन्दा चिसो भाग (अन्टार्कटिका) मा इन्टरनेट उपलब्ध गराइएको हो । अन्टार्कटिकामा भएको म्याकमर्डो स्टेसनमा करिब हजार जना बसोबास तथा काम गर्ने गर्छन् ।

उनीहरूलाई विभिन्न कम्पनीको स्याटलाइट इन्टरनेट उपलब्ध गराएको भएपनि उक्त इन्टरनेट उनीहरूका लागि उपयुक्त थिएन । युनाइटेड स्टेट अन्टार्कटिका प्रोग्रामका अनुसार त्यहाँ हरेकसँग १७ एमबीपीएस इन्टरनेट उपलब्ध हुँदै आएको थियो । स्टारलिङ्क उपलब्ध भएसँगै उनीहरूले पहिलेको इन्टरनेटभन्दा उत्कृष्ट भएकाे उल्लेख गरिएको छ । स्टारलिङ्कले ५० देखि २०० एमबीपीएसम्म इन्टरनेट स्पीड उपलब्ध गराउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १०:३१