close

नेपालमै बन्न थालिसके बंग्लादेश र श्रीलङ्काका विज्ञापन, कहाँ छ हाम्रो बजार ?

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १८:११

नेपालमै बन्न थालिसके बंग्लादेश र श्रीलङ्काका विज्ञापन, कहाँ छ हाम्रो बजार ?

नेपालमा आधुनिक विज्ञापन बजारको सुरुवात करिब ३५ देखि ४० वर्ष अघिदेखि भएको मानिन्छ । २०४२ सालसम्म खुलेका सञ्चार माध्यम, रेडियो नेपाल, गोरखापत्र लगायतमा विज्ञापन दिनुलाई चन्दा दिनुजस्तो मानिन्थ्यो, अर्थात् विज्ञापन दिनुपर्छ र यसले 'प्रोडक्ट' को प्रचार हुन्छ भन्ने बोध थिएन ।

नेपाल टेलिभिजन आइसकेपछि भने विज्ञापन श्रव्य दृष्य माध्यममा पनि देखाउनुपर्ने भयो । त्यसपछि भने एकाध कम्पनीले आफ्ना उत्पादनका विज्ञापन टेलिभिजनमा बजाउन थाले । त्यसबेला निवा, अमला साबुन, कोको पाउडर, नेपोथिन पाइप, एभरेस्ट टुथपेस्ट लगायत उत्पादनका विज्ञापन छिटफुट देख्न पाइन्थ्यो ।

२०४६ सालमा प्रजातन्त्र घोषणासँगै आएको नयाँ सरकारले निजी क्षेत्रलाई पनि सञ्चार माध्यम सञ्चालन गर्न पाउने अधिकार दियो। कान्तिपुरलगायत केही ठूला सञ्चार गृह खुले ।

सरकारले दिएको अधिकारले विज्ञापन बजार विस्तारलाई मात्रै सहयोग गरेन, यसको गुणस्तर वृद्धि गरी प्रतिस्पर्धालाई समेत उत्तिकै प्रश्रय दियो । टिभीमा बजाउने, देखाउने र अन्य सञ्चार माध्यममा आउने कन्टेन्ट गुणस्तरीय हुन थाले ।

सञ्चार माध्यममा कन्टेन्ट र गुणस्तरको प्रतिस्पर्धा भएपछि पाठक तथा दर्शक पनि विज्ञापनप्रति आकर्षित हुँदै गए । त्यसपछि भने विज्ञापनदाताले सञ्चार माध्यममा विज्ञापन दिएपछि सम्बन्धित उपभोक्तासम्म वस्तु र ब्राण्डको प्रचार हुने रहेछ भन्ने बुझे र विज्ञापनदाताबाट विज्ञापन गर्ने एजेन्सी तथा विज्ञापनकर्मी लगायतको खोजी हुन थाल्यो ।

त्यसपछि यो क्षेत्रमा दक्ष र व्यावसायिक जनशक्ति पनि उत्पादन भयो । २०४६ सालपछिको औद्योगिकरणको युग सुरुवात भएपछि थुप्रै उद्योगधन्दा खुले ।

विदेशी बहुराष्ट्रिय ब्राण्ड पनि नेपाल भित्रिए र उनीहरूले नेपालमा विज्ञापन बढाए । यतिमात्रै होइन, त्यसबेला विज्ञापन गर्ने अन्तर्राष्ट्रिय शैलीसमेत नेपाल भित्रियो । बहुराष्ट्रिय कम्पनीहरूले नै नेपाली बजारमा विज्ञापनको महत्त्व बुझाए ।

 

सञ्चार माध्यमको विकाससँगै नेपालमा विज्ञापन बजार विस्तार हुँदै गयो । थुप्रै सञ्चार माध्यम सञ्चालनमा पनि आए । त्यसको शृङ्खला चल्दै गर्दा आजभन्दा १० वर्षअघि नै नेपालमा आवश्यकताभन्दा बढी सञ्चार माध्यम खुलिसकेका थिए ।

त्यसमध्ये हालसम्म एकाध सञ्चार माध्यम विज्ञापनबिनै पनि टिकिरहेका देखिन्छन् । यो आश्चर्यको कुरा हो । थुप्रै सञ्चार माध्यम व्यापारिक प्रयोजन र विज्ञापन आश्रित भएर खुलेका होइनन् । यद्यपि केही सञ्चार माध्यम व्यावसायिक रूपमा अघि बढिरहेका छन् ।

सञ्चार माध्यमको बढ्दो विस्तार र विज्ञापन लोकप्रियताका कारण नेपालको विज्ञापन बजार कोरोनाअघि अर्थात सन् २०२० सम्ममा १५ अर्ब रुपैयाँ बराबर पुगिसकेको थियो । करिब १५ वर्षअघि मात्रै एक अर्ब हाराहारीको विज्ञापन बजार छोटो समयमै १५ अर्ब हाराहारी पुग्नु सानो कुरा थिएन ।

यसमा डिजिटल क्षेत्रको भूमिका बढी भए पनि टेलिभिजन, रेडियो, पत्रपत्रिका लगायतको भूमिका पनि उत्तिकै छ । यो विज्ञापनकर्मीका लागि ठूलो उपलब्धि पनि हो ।

विज्ञापन क्षेत्रमा जन्मिएका दक्ष जनशक्तिका कारण विदेशी विज्ञापन डबिङ गरेर बजाउने युगबाट अन्तर्राष्ट्रिय बजारमा बजाउने जमानामा नेपाली विज्ञापन क्षेत्र आइपुगेको छ । अर्थात, हाल नेपाली सञ्चार माध्यममा बज्ने र देखिने हरेक विज्ञापन नेपाली विज्ञापनकर्मीले बनाएका हुन् ।

यतिमात्रै होइन, हाम्रा विज्ञापन अन्तर्राष्ट्रिय विज्ञापनसँग प्रतिस्पर्धा गर्न लायकका भइसकेका छन् । एकताका नेपाली विज्ञापनकर्मी माथि भारतीय विज्ञापन चोर्छन, डबिङ गरेको विज्ञापनमात्रै बजाउँछन् भन्ने जस्ता लाञ्छना लाग्ने गरेका थिए ।

अब भने नेपाली विज्ञापनकर्मीले उत्पादन गरेका विज्ञापन बंगलादेशमा डबिङ गरेर चल्न थालेका छन् । भारतमा पनि हाम्रा विज्ञापन जाँदैछन् । हामी अहिले पनि बंगलादेश र श्रीलंकाका लागि विज्ञापन बनाइरहेका छौँ । यसलाई छोटो समयमै नेपाली विज्ञापन बजारले पाएको सफलता मान्नुपर्छ ।

 

नेपालमा विज्ञापन क्षेत्रलाई हेर्ने सरकारको नजर केही हदसम्म राम्रो पनि छ । यसैका कारण विज्ञापन बोर्ड स्थापना भयो । नेपाली सञ्चार माध्यमका लागि 'क्लिन फिड' लागू भयो । यस्ता व्यवस्थाले नेपाली विज्ञापनको गुणस्तर अझ बढ्ने विश्वास हामी गर्न सक्छौँ ।

 

चुनौती

डिजिटल प्रविधि विकास हुँदै गर्दा सामाजिक सञ्जालको प्रयोग उच्चतम रूपमा बढेको छ । सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनको दायरा पनि झन् फराकिलो हुँदै गएको छ । सामाजिक सञ्जालमा हरेक प्रकारका तथ्याङ्क छन् ।

कस्तो विज्ञापन कुन लक्षित वर्गसम्म पुर्‍याउनुपर्ने हो, त्यो सबैको 'सेटअप' त्यसमा हुन्छ । तर, नेपालमा सञ्चालित सञ्चार माध्यममा भने त्यस्तो 'डेटा' कसैले संकलन गर्न सकिरहेको अवस्था छैन ।

अर्थात, कुनै विज्ञापन निश्चित टेलिभिजनमा बजेपछि त्यो विज्ञापन कस्ता मान्छेसम्म पुग्छ, कति जनासम्म पुग्छ, त्यसले कत्तिको प्रभाव पार्छ लगायत तथ्याङ्क हुँदैनन् । जसका कारण विज्ञापनदाता प्रायः विज्ञापन गर्न सञ्चार माध्यमभन्दा डिजिटल प्लेटफर्म बढी रोजिरहेका छन् ।

यसले एकातिर विज्ञापनदातालाई प्रभाव त पक्कै पारेको छ, तर नेपालभित्र हुने खर्च विस्तारै नेपाल बाहिर जाने त्रास पनि बढाइदिएको छ । यस्ता प्लेटफर्ममा विज्ञापन हुन थालेपछि हाल अर्बौँ रुपैयाँ बाहिरिँदैछ । यसमार्फत राज्यले फेसबुक, ट्वीटर, युट्युबलगायत अन्य डिजिटल प्लेटफर्ममा गरिएको विज्ञापनको राजस्व प्राप्त गर्दैन ।

 

नेपालमा डिजिटल प्लेटफर्म को बढ्दो प्रयोगसँगै नियमन कमीका कारण राज्यले राजस्वमा अर्बौँ घाटा बेहोर्दै आएको छ । नेपालमा डिजिटल प्लेटफर्मका कुनै आधिकारिक कार्यालय छैनन् । जसका कारण यी माध्यमबाट बाहिरिने रकमको यकिन तथ्याङ्कसमेत सरकारसँग छैन ।

 

डिजिटल प्लेटफर्ममा गरिने विज्ञापनमार्फत विदेशमा भएका नेपालीको पैसा उतै बस्छ । जसका कारण यसको असर रेमिट्यान्स आप्रवाहमा पनि देखिन्छ । सरकारले यसको नियमन र नियन्त्रणमा सक्दो चाँडो ध्यान नपुर्‍याउने हो भने झन् धेरै भयावह अवस्था पैदा हुन सक्छ । यसै कारण नेपाली विज्ञापन बजार खुम्चिएको अवस्थामा छ ।

 

२०७२ सालको भूकम्प र २०७६ सालको कोभिडले पनि नेपाली विज्ञापन बजारलाई ठूलो धक्का पुग्यो । विज्ञापन क्षेत्रले पहिले भूकम्पको मार खेप्यो । त्यसबाट माथि उठ्दै गर्दा पुनः कोरोनाको चपेटामा पर्‍यो ।

कोरोनामा धेरैजसो विज्ञापन डिजिटल प्लेटफर्ममा स्थानान्तरित भए र यो क्षेत्रमा भयावह असर पर्‍यो । त्यतिमात्रै होइन, डिजिटल प्लेटफर्ममा विज्ञापनदाताले सञ्चार माध्यमको तुलनामा सस्तोमै विज्ञापन गर्न पाउने भएपछि पनि यसको असर विज्ञापन बजारमा परेको देखिन्छ ।

नेपालको अस्थिर राजनीतिक अवस्थाका कारण घट्दो वैदेशिक लगानीको प्रभाव पनि विज्ञापन बजारमा देख्न सकिन्छ । नेपालमा विदेशी लगानीका नयाँ उद्योग नखुल्नु, भएका उद्योग पनि पूर्ण क्षमतामा नचल्नु आदिले विज्ञापन क्षेत्रमा विशेष असर पारेको छ ।

यस्तो हुँदा विज्ञापनदाताले विज्ञापनमा गर्ने खर्च कुनै न कुनै तरिकाले रोकेका छन् । यसरी हरेक क्षेत्रबाट विज्ञापन बजार मारमा पर्दा कोरोना अघिसम्म १५ अर्बसम्म पुगिसकेको विज्ञापन बजार खुम्चिएर हाल ८ देखि ९ अर्ब हाराहारीमा झरेको छ ।

 

अझै पनि सरकार, निजी क्षेत्रले विज्ञापन बजार नहेर्ने र विभिन्न प्लेटफर्मबाट विदेश गइरहेको पैसा नरोक्ने हो भने विज्ञापन बजार धराशायी हुने निश्चित छ । यस क्षेत्रमार्फत रोजगारी (प्रत्यक्ष-अप्रत्यक्ष) पाएका करिब २० हजार जनशक्तिको रोजीरोटी गुम्ने अवस्था आउने छ । अहिले पनि यसको मार सरकार, विज्ञापनदाता, विज्ञापनकर्मी, श्रमिक लगायतमा देखिँदै आएको पनि छ ।

 

विज्ञापन बजारका लागि अर्को चुनौती भनेको जनशक्ति अभाव हो । हामीले दक्ष जनशक्ति जन्माउन सकेका छैनौँ । विज्ञापन क्षेत्रतर्फ जनशक्ति आकर्षित गर्न सकेका छैनौँ, जसका कारण हामीलाई आवश्यक जनशक्ति अभाव छ ।

 

सरकारले विज्ञापनमा दक्ष जनशक्ति ल्याउन न कुनै विश्वविद्यालयमा कोर्स बनाएको छ, न यसका लागि कुनै तालिम दिने क्रियाकलाप अघि बढाएको छ । यस्ता विषय विश्वका विकसित राष्ट्रले कोर्स नै बनाएर पढाउने गरेका छन् ।

 

विज्ञान तथा प्रविधिको युगमा आइरहेको नयाँ परिवर्तनसँगै विज्ञापन बजार सोहीअनुसार अपडेट गराउँदै सरकारले राजस्व आम्दानीको स्रोत बनाउन सक्छ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै विज्ञापन बजार परिवर्तन गर्दै लैजानुपर्ने चुनौती हामीमाझ छ । विज्ञापनको भविष्य पनि यसैमा छ ।

 

के गर्छ विज्ञापनले ?

 

विज्ञापनले नेपालका केही ब्राण्ड र कम्पनीलाई बहुराष्ट्रिय कम्पनीको हैसियतमा पुर्‍याउने काम गरेको छ । नेपालमा उत्पादन हुने वाईवाई चाउचाउ, गोल्डस्टार जुत्तालगायत ब्रान्ड यसका प्रमुख उदाहरण हुन् । विज्ञापनकै कारण यस्ता वस्तुको प्रयोग मात्र नभएर विदेशमा विस्तार समेत हुँदै गएको छ ।

 

पछिल्लो समय स्टिल, सिमेन्टलगायतका ब्रान्ड पनि विज्ञापनकै कारण आफैँमा ठूला ब्रान्ड बन्न सफल भएका हुन् । कुनै बेला भारतबाट सिमेन्ट आयात गरेर काम चलाउनुपर्ने अवस्था थियो । तर अहिले विज्ञापनकै कारण हामी विदेशमा निर्यात गर्ने अवस्थामा पुगेको छौँ ।

 

यस्ता धेरैजसो उदाहरण छन्, जो विज्ञापनकै कारण स्वदेशी बजारमा मात्रै होइन, विदेशी बजारमा पनि उत्तिकै ख्याति प्राप्त छन् । विज्ञापनकै कारण विदेशी बहुराष्ट्रिय कम्पनी नेपालमा लगानी गरेर स्थापित कम्पनी बनेका छन् ।

 

बजार बढाउने, वस्तुको बजार विस्तार गर्ने, लगानी आकर्षित गर्ने लगायत काममा विज्ञापनको ठूलो भूमिका देख्न सकिन्छ । तर, सरकारले नै लगानी आकर्षित गर्ने रणनीति अपनाउन नसक्दा लगानीसँगै विस्तार हुनुपर्ने विज्ञापन बजारसमेत हाल ठप्प छ ।

 

नेपालको ब्राण्डिङमा विज्ञापनको भूमिका

 

सन् २०२० मा गरिएको एक अध्ययन अनुसार सन् २०२५ सम्म विश्वका पर्यटकमध्ये ६८ प्रतिशत २५ देखि ३० वर्ष उमेर समूहका युवा (न्यु मिलेनियर्स) हुनेछन् । दिने युवाले अबको विश्व घुम्ने आँकलन गरिएको छ ।

अध्ययनको नतिजा यस्तो आउँदै गर्दा युवा समूहको आकर्षण के हो, त्यो बुझ्न जरुरी देखिन्छ । उनीहरू हामीकहाँ भएका प्राकृतिक सम्पदा होइन, अनुभव लिन आउनेछन् । भन्नुको अर्थ उत्पादनका लागि होइन, अनुभव लिन आउनेछन् ।

यस्ता रणनीति हामीले अहिलेदेखि अघि सरेर विज्ञापन गरेनौँ भने हामी पर्यटन क्षेत्रमा समेत पछि पर्ने छौँ । त्यसैले अब सगरमाथा, लुम्बिनी, जानकी लगायत सम्पदाको प्रचारभन्दा पनि यहाँको अनुभवको ब्राण्डिङ गर्न जरुरी छ । 

हामीले नेपालमा सम्पदाका लागि भन्दै पूर्वाधार मात्रै बनाएर हुँदैन, सम्पदाको ब्रान्डिङ पनि उत्तिकै जरुरी हुन्छ । जसको पछिल्लो उदाहरण, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो ।

 

आजभन्दा पाँच छ वर्ष अघिदेखि नै सरकारले लुम्बिनीबारे विभिन्न बौद्ध धर्मावलम्बी बसोवास गर्ने राष्ट्रमा प्रचार गर्नुपर्ने थियो । त्यो नभइ विमानस्थल मात्रै बनाउँदा लुम्बिनीको महत्त्व बुझाएर पर्यटक ल्याउन अझै केही समय लाग्ने छ ।

हामीसँग सामान छ, सामानसम्म पुग्ने पूर्वाधार पनि निर्माण भयो । तर उपभोक्तालाई यहाँ सामान छ भन्ने कुराको जानकारी भएन भने वस्तु र वस्तुसम्म पुग्ने पूर्वाधारको औचित्य हुँदैन ।

उपभोक्तालाई त्यो सामान किन आवश्यक छ भन्ने बोध हुन पनि उत्तिकै जरुरी हुन्छ । यस्तो बोध गराउने र उपभोक्तालाई वा पर्यटकलाई महत्त्व बुझाउने काम विज्ञापनमार्फत मात्रै सम्भव छ ।

अबको विज्ञापन कुनै वस्तु मुखी नभइ नेपाल मुखी हुनुपर्छ । तब मात्रै नेपालको प्रचार भए पनि पर्यटन क्षेत्रमा सम्बृद्धि हासिल गर्न सकिएला । यसले नेपालमा उत्पादित वस्तुहरूको ब्राण्डिङ पनि त्यत्तिकै मात्रामा हुनेछ ।

त्यसैले अब आउने नयाँ सरकारले विज्ञापनको महत्त्व बुझेर नेपालको अन्तर्राष्ट्रिय बजारमा छुट्टै र आकर्षक पहिचान बनाउन ब्राण्डिङ गर्नु अत्यन्तै आवश्यक छ । पर्यटक आकर्षित गर्न मात्र नभइ लगानी आकर्षित गर्न पनि नेपालको उचित ब्राण्डिङ गर्नु अपरिहार्य छ ।

सेजन स्मारिका २०७९ मा प्रकाशित आचार्यको विचारको सम्पादित अंश ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १८:४९